शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता

शुक्रबार, २२ जेठ २०८३, १६ : ४८
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकता भएको ७ महिनासम्म पनि केन्द्रीय कार्य समितिलाई पूर्णता दिन सकेको छैन ।
  • चुनावमा भाग लिन १३८ जना केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा बुझाइएको थियो, तर अन्तरिम विधान अनुसार ६०१ सदस्यीय केन्द्रीय कार्य समिति अझै पूर्ण भएको छैन ।
  • विधानले तोकेको १० प्रतिशत सदस्य मनोनित गर्नुपर्ने सुझाव र युवा सहभागिताको विषयले केन्द्रीय कार्य समिति पूर्णता पाउन बाँकी रहेको छ ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले पार्टी एकता भएको ७ महिनासम्म पनि केन्द्रीय कार्य समितिलाई पूर्णता दिन सकेको छैन । कात्तिक १९ गते साबिक नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) लगायत १० घटक मिलेर नेकपा गठन भएको थियो । 

नेकपाले चुनावमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा १३८ जना केन्द्रीय सदस्यको सूची बुझाएको थियो । अन्तरिम विधानको धारा ३८ मा संयोजक र सहसंयोजक सहित ६०१ सदस्यीय केन्द्रीय कार्य समिति रहने व्यवस्था छ । 

कार्य समिति एकता घटकबिच आपसी सहमतिका आधारमा हुने भनिएको छ । फागुन २१ को निर्वाचन अगाडि २५ सय केन्द्रीय समिति घोषणा गरे पनि विवाद हुन सक्ने भएकाले कार्य समिति विस्तार भएको थिएन । 

निर्वाचनमा पार्टीले ठुलो धक्का खाएपछि चैत १९ गते संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय संयोजन समिति बैठक बोलाएका थिए । त्यस बैठकले नेताहरूको कार्यविभाजन, जिम्मेवारी र वरियता निर्धारण गर्‍यो  । तर बैठकले केन्द्रीय कार्य समितिमा रहने सदस्यहरू मोटामोटी टुङ्ग्याएर सबै प्रदेशमा प्रस्ताव गरिएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । विधानले तोकेको केन्द्रीय कार्य समितिको १० प्रतिशत मनोनीत गर्नुपर्ने सुझाव पनि आएकाले पूर्णता पाउन बाँकी नै रहेको ज्वालाले जानकारी दिए ।

‘प्रस्तावका लागि सबै प्रदेशमा पठाइएको छ । केन्द्रीय कार्य समितिको १० प्रतिशत मनोनीत गर्नुपर्ने सुझाव पनि आएका छन् । पूर्णता पाइसकेको छैन’, उनले भने ।

यदि १० प्रतिशत सदस्य थप भएमा नेकपाको केन्द्रीय कार्य समिति ६६१ सदस्यीय हुनेछ । हरेक प्रदेशका इन्चार्ज, सह इन्चार्ज संयोजक, सहसंयोजक बसेर अन्तिमरुप दिएपछि मात्र समितिले पूर्णता पाउने ज्वालाले बताए । 

केन्द्रीय संयोजन समितिले अगामी मङ्सिरको दोस्रो हप्ता एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । सबै समितिमा कम्तीमा ५० प्रतिशत युवालाई समेट्ने निर्णय गरेको थियो । 

जेनजी आन्दोलनपछि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १७ सिट सहित चौथो स्थानमा खुम्चिएको नेकपामा नेतृत्वले मार्ग प्रशस्त गरेर युवाहरूलाई अवसर दिनुपर्ने अभियान चलेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप