आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फ्रेन्च ओपन

१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै

शनिबार, २३ जेठ २०८३, २२ : ४८
शनिबार, २३ जेठ २०८३

सारांश

  • १९ वर्षीया रुसी खेलाडी मिरा एन्ड्रीभाले फ्रेन्च ओपनको महिला एकल उपाधि जितेकी छिन् ।
  • एन्ड्रीभाले पोल्यान्डकी क्वालिफायर माजा च्वालिन्स्कालाई ६-३, ६-२ को सोझो सेटमा पराजित गरिन् ।
  • यस जितसँगै एन्ड्रीभा रोलाण्ड ग्यारोस जित्ने मोनिका सेलेसपछि सबैभन्दा कान्छी खेलाडी बनेकी छिन् ।

काठमाडौँ । रुसी युवा खेलाडी मिरा एन्ड्रीभाले पोल्यान्डकी क्वालिफायर माजा च्वालिन्स्कालाई पराजित गर्दै फ्रेन्च ओपनको महिला एकलतर्फको उपाधि जितेकी छिन् । यससँगै १९ वर्षीया एन्ड्रीभाले आफ्नो करियरको पहिलो ग्रान्ड स्लाम उपाधि चुम्दै लामो समयदेखि देखाइएको सम्भावनालाई वास्तविकतामा बदलेकी छिन् ।

शनिबार भएको फाइनल खेलमा प्रतियोगिताको आठौँ वरीयता प्राप्त एन्ड्रीभाले च्वालिन्स्कालाई ६–३, ६–२ को सोझो सेटमा सहजै पाखा लगाइन् । उपाधि जित्ने क्रममा एन्ड्रीभाले १ घण्टा २२ मिनेट समय खर्चिन् । जितपछि उत्साहित एन्ड्रीभा कोर्टमा लडेर खुसी मनाउँदै प्यारापिटमा रहेकी आफ्नी प्रशिक्षक कोन्चिटा मार्टिनेजलाई अङ्कमाल गर्न पुगेकी थिइन् । मार्टिनेज आफैँ पनि सन् १९९४ को विम्बल्डन विजेता हुन् ।

उपाधि जितेपछि खुसी व्यक्त गर्दै एन्ड्रीभाले भनिन्, ‘मैले धेरै सानै उमेरदेखि रोलाण्ड ग्यारोस ९फ्रेन्च ओपन० हेर्दै आएकी थिएँ र यो ट्रफी जित्ने मेरो सधैँको सपना थियो ।’

एन्ड्रीभा सन् १९९२ मा मोनिका सेलेसपछि फ्रेन्च ओपन जित्ने सबैभन्दा कान्छी महिला खेलाडी बनेकी छिन् । साथै, सन् २०२० मा इगा स्वाटेकपछि यो उपाधि जित्ने उनी पहिलो किशोर (टिनएजर) खेलाडी हुन् ।

खेलको सुरुवात केही तनावपूर्ण रहेको थियो । तीव्र हावा र नर्भसका कारण सुरुवाती चार वटा गेममा दुवै खेलाडीले एक अर्काको सर्भिस ‘ब्रेक’ गरेका थिए । १५ हजार दर्शक क्षमताको कोर्टमा विश्व वरीयताको ११४ औँ स्थानमा रहेकी च्वालिन्स्कालाई ठुलो समर्थन प्राप्त थियो । प्रतियोगिता सुरु हुनुअघि ५००–१ को दाबेदार (आउटसाइडर) मानिएकी च्वालिन्स्काले खेलको सुरुमा अग्रता लिए पनि एन्ड्रीभाले आफ्नो परिपक्वता प्रदर्शन गरिन् ।

एन्ड्रीभाले उत्कृष्ट प्रदर्शन गर्दै लगातार ९ वटा गेम जितेर ६–३ र ५–० को अग्रता बनाइन् । अन्तिम सेटमा च्वालिन्स्काको सर्भिसमा ब्याकह्यान्ड विनर प्रहार गर्दै एन्ड्रीभाले च्याम्पियनसिप पोइन्ट आफ्नो पक्षमा पारिन् । च्वालिन्स्काको ‘फेयरी टेल’ भनिएको सुखद यात्रा फाइनलमा पुगेर टुङ्गिए पनि उनले प्रतियोगिताभरि सबैको मन जित्न सफल भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप