भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
सारांश
- १५ वर्षीय वैभव सूर्यवंशी भारतीय क्रिकेट टोलीमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
- वैभवले शेफाली वर्मा र सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् ।
- श्रेयस अय्यरलाई टी-ट्वान्टीको नयाँ कप्तान नियुक्त गरिएको छ ।
काठमाडौँ । भारतीय क्रिकेट टोलीमा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी छनोट हुने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी बनेका छन् । १५ वर्ष ७१ दिनको उमेरमा वैभवलाई आगामी जुन–जुलाईमा हुने आयरल्याण्ड र इंग्ल्याण्ड विरुद्धको टी–२० शृङ्खला तथा सेप्टेम्बरमा हुने एसियाली खेलकुदका लागि भारतीय टोलीमा समावेश गरिएको हो । यसै वर्षको फेब्रुअरीमा सम्पन्न अन्डर–१९ विश्वकपको फाइनलमा पुगेका वैभवले इंग्ल्याण्ड विरुद्धको खेलमा ८० बलमा १७५ रनको सानदार इनिङ्स खेलेका थिए ।
वैभवले पहिलो पटक राष्ट्रिय टोलीमा छनोट हुने क्रममा शेफाली वर्मा र सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । यसअघि पुरुष र महिला क्रिकेट मिलाएर शेफाली १५ वर्ष २२० दिनको उमेरमा छनोट हुँदा यो कीर्तिमान उनको नाममा थियो भने पुरुषतर्फ सचिन तेन्दुलकर १६ वर्ष १९४ दिनको उमेरमा छनोट भएका थिए । यदि वैभवले आगामी भ्रमण वा एसियाली खेलकुदमा एउटा मात्र खेल खेल्ने मौका पाए भने उनी शेफाली र सचिन दुवैलाई पछि पार्दै भारतका लागि डेब्यु गर्ने सबैभन्दा कान्छो खेलाडी बन्नेछन् । यद्यपि, विश्व क्रिकेटको सन्दर्भमा भने जर्सीकी निया चार्लोट ग्रेग (११ वर्ष ४० दिन) र रोमानियाका मारियन गेरासिम (१४ वर्ष १६ दिन) को नाममा सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय डेब्यु गर्ने कीर्तिमान रहेको छ ।
भारतीय क्रिकेट बोर्डले टी–२० टोलीको नेतृत्वमा पनि ठुलो हेरफेर गरेको छ । विश्वकप जिताउने कप्तान सूर्यकुमार यादवलाई कप्तानीबाट हटाउँदै टोलीबाट समेत बाहिर राखिएको छ भने श्रेयस अय्यरलाई टी–२० को नयाँ कप्तान नियुक्त गरिएको छ । तिलक वर्मालाई टोलीको उपकप्तानको जिम्मेवारी दिइएको छ । आयरल्याण्ड र इंग्ल्याण्ड भ्रमणका लागि घोषित टोलीमा श्रेयस, तिलक र वैभवका साथै अभिषेक शर्मा, सन्जु सैमसन, इशान किशन, शिवम दुबे, नीतीश कुमार रेड्डी, अक्षर पटेल, वाशिंगटन सुन्दर, रवि बिश्नोई, वरुण चक्रवर्ती, मोहम्मद सिराज, हर्षित राणा, अर्शदीप सिंह र प्रिन्स यादव रहेका छन् । एसियाली खेलकुदका लागि पनि लगभग यही टोली रहनेछ, जसमा तीव्र गतिका बलर जसप्रित बुमराहको पनि समावेश गरिएको छ ।
अर्कोतर्फ, अफगानिस्तान विरुद्धको आगामी एक दिवसीय शृङ्खलाका लागि विराट कोहलीको स्थानमा यशस्वी जयसवाललाई टोलीमा बोलाइएको छ । मुख्य चयनकर्ता अजित अगरकरका अनुसार कोहली ह्यामस्ट्रिङ चोटका कारण टोलीबाट बाहिरिएपछि जयसवाललाई मौका दिइएको हो । एक दिवसीय टोलीको कप्तानी शुभमन गिलले गर्नेछन् भने टोलीमा श्रेयस अय्यर, रोहित शर्मा, केएल राहुल, हार्दिक पाण्ड्या, कुलदीप यादव लगायतका खेलाडीहरू समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण