बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता आवश्यक : उपाध्यक्ष पाण्डे

बुधबार, २७ जेठ २०८३, १२ : २३
बुधबार, २७ जेठ २०८३

सारांश

  • नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका चुनौती सामना गर्न व्यावहारिक नीतिगत लचकता आवश्यक रहेको बताएका छन् ।
  • उनले नेपालको युवा जनशक्ति रोजगारीका लागि वैदेशिक गन्तव्यतर्फ पलायन भइरहेको चिन्ता व्यक्त गर्दै लगानीमैत्री नीति, सीप विकास र शिक्षालाई श्रम बजारको मागसँग जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।
  • विकासशील देशहरूलाई कठोर विश्वव्यापी मापदण्ड थोपर्नुको सट्टा राष्ट्रिय यथार्थ अनुरूप श्रम सुधार लागू गर्न लचकता दिनुपर्नेमा पाण्डेले जोड दिए ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका विद्यमान परिवर्तन र चुनौतीहरूको सामना गर्न व्यवहारिक नीतिगत लचकता आवश्यक रहेको बताएका छन् । 

उनले उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्यको आवश्यकतामा जोड दिए । स्विट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को ११४औँ सत्रलाई नेपालको रोजगारदाता परिषद्को तर्फबाट सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।

उनले नेपाल हाल महत्त्वपूर्ण आर्थिक सङ्क्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गरे । सरकारले सुशासन, लगानी प्रवर्द्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता देखाए तापनि आन्तरिक बजारमा सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागत जस्ता चुनौतीहरू कायमै रहेको तर्फ उनले विश्व समुदायको ध्यानाकर्षण गराए ।

 ‘नेपालको युवा जनशक्ति रोजगारीका लागि निरन्तर वैदेशिक गन्तव्यतर्फ पलायन भइरहेको छ । यो चिन्ताको विषय हो,‘ उनले भने, ‘लगानीमैत्री नीति, सीप विकास र शिक्षालाई श्रम बजारको वास्तविक मागसँग जोडेर स्वदेशमै मर्यादित एवं उत्पादकमूलक रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्दछ ।’

परिवर्तित विश्व परिवेश र डिजिटल अर्थतन्त्रको चर्चा गर्दै उपाध्यक्ष पाण्डेले नेपालमा पनि अनलाइन व्यवसाय, राइड–सेयरिङ र डेलिभरी प्लेटफर्म जस्ता डिजिटल सेवाहरूमा युवाहरूको संलग्नता तीव्र रूपमा बढिरहेको बताए । यसले उद्यमशीलताका नयाँ अवसरहरू ल्याए तापनि श्रम मापदण्ड र सामाजिक सुरक्षाका विषयहरूमा नयाँ बहस सिर्जना गरेको उनको भनाइ थियो ।

नेपाल जस्ता विकासशील देशहरूलाई कठोर विश्वव्यापी मापदण्ड थोपर्नुको सट्टा आफ्नो राष्ट्रिय यथार्थ, संस्थागत क्षमता र आर्थिक अवस्था अनुरूप श्रम सुधार एवं कानुनी व्यवस्थाहरू लागू गर्न आवश्यक लचकता दिनु पर्नेमा उनको जोड थियो ।  

उनले नेपाली रोजगारदाताहरूका तर्फबाट अघि सारिएका प्रमुख प्राथमिकताहरू र कार्यान्वयन भइरहेका प्रयासहरूको विवरण समेत प्रस्तुत गरे । 

राष्ट्रिय व्यावसायिक सुरक्षा  तथा  स्वास्थ्य  कार्ययोजना  लागू भएपश्चात् रोजगारदाताहरूमा सुरक्षित र स्वस्थ कार्यस्थल सामाजिक जिम्मेवारी मात्र नभई उत्पादकत्व, दिगोपन र व्यावसायिक प्रतिस्पर्धात्मकताका लागि अपरिहार्य तत्त्व रहेको चेतना बढेको बताए । यस अन्तर्गत चिया र अलैँची जस्ता क्षेत्रहरूमा विशेष निर्देशिकाहरू निर्माण गरी प्रारम्भिक कार्यहरू सुरु भइसकेको जानकारी पाण्डेले दिए ।

महासङ्घले छनोट गरिएका उद्योगहरूमा केयर मोडलको पाइलट प्रोजेक्ट सफलतापूर्वक सुरु गरिसकेको बताए । उनले विशेषगरी महिलाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्न र कार्यस्थलमा सामाजिक समावेशीकरण तथा सामुदायिक कल्याण बढाउन ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष पाण्डेले कार्यस्थलको भविष्य सम्बन्धी विश्वव्यापी छलफलहरूमा हरित रोजगारी र जलवायु जोखिममा रहेका नेपाल जस्ता मुलुकहरूलाई प्राविधिक सहयोग गर्ने विषय समेटिनुपर्नेमा जोड दिए ।

त्यसैगरी, मध्यपूर्वमा जारी भू–राजनीतिक तनावले नेपाल जस्तो विप्रेषण (रेमिट्यान्स), आयात र पर्यटनमा निर्भर अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा रोजगारीको रक्षा गर्न, व्यवसायको निरन्तरता सुनिश्चित गर्न र आपसी संवाद सुदृढ बनाउन रोजगारदाताहरूको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरे । 

उपाध्यक्ष पाण्डेले उद्यमहरूको उत्पादकत्व वृद्धि, कार्यस्थल सहकार्य, सीप विकास र नवप्रवर्तन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) सँग दीर्घकालीन प्राविधिक सहयोगको माग गरे ।

महासङ्घ सामाजिक संवाद, सहकार्य र मर्यादित श्रमप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले आपसी विश्वास, साझेदारी र सन्तुलित नीतिमार्फत आर्थिक वृद्धि र श्रम अधिकारलाई सँगसँगै अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप