पार्टीभित्रको गुटबन्दीप्रति रास्वपा नेता गणेश कार्कीको चासो
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले पार्टीभित्र आन्तरिक निर्वाचनका क्रममा प्यानलगत विकृति र गुटबन्दी हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
- कार्कीले विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका नेता-कार्यकर्ताहरूबीच आन्तरिक विभेद हुन सक्ने खतरा औंल्याउँदै पार्टी 'सप्तकोशी' जस्तै विशाल भइसकेको बताएका छन् ।
- उनले कोशी प्रदेशले अब व्यक्तिवादी राजनीति अन्त्य गरी विचार र नीतिको राजनीतिमा जोड दिनुपर्ने र राष्ट्रिय नीतिका लागि नेतृत्व लिनुपर्ने धारणा राखेका छन् ।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक निर्वाचनका नाममा हुन सक्ने प्यानलगत विकृति र गुटबन्दीप्रति मोरङ क्षेत्र नम्बर ३ का सांसद एवं पार्टी नेता गणेश कार्कीले चासो व्यक्त गरेका छन् ।
पार्टीको कोशी प्रदेश अधिवेशनको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता कार्कीले प्यानल प्रथाको सुरुवात दोस्रो व्यक्तिले अर्काको प्रचार गर्ने शैलीबाटै हुने भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएका हुन् । रास्वपाका प्यानल प्रणाली नहुनु सकारात्मक पक्ष भए पनि चुनावका बेला केही व्यक्तिहरू उम्मेदवारका लागि भोट माग्दै हिँडेको पाइएको उल्लेख गर्दै उनले अब उम्मेदवार स्वयंले मात्र आफ्ना लागि मत माग्नुपर्ने र अरूको पम्प्लेट बोकेर हिँड्न नहुने स्पष्ट पारेका छन् ।
विभिन्न राजनीतिक पृष्ठभूमिबाट रास्वपाका भित्रिएका नेता-कार्यकर्ताहरूका बीचमा आन्तरिक विभेद हुन सक्ने खतराप्रति संकेत गर्दै कार्कीले पार्टी अहिले 'सप्तकोशी' जस्तै विशाल भइसकेको दाबी गरेका छन् । सप्तकोशी नदीमा तमोर, लिखु वा इन्द्रावती मिसिएपछि पानीको पुरानो स्रोत छुट्टाउन खोज्नु मूर्खता र समयको बर्बादी मात्र हुने तर्क गर्दै उनले रास्वपाका आउनुअघि को कता थियो भन्ने कुराले अब कुनै फरक नपार्ने बताएका छन् । विगतका पुराना कथाहरू सकिइसकेकाले अब सबै एक भएर पार्टीको विशालतालाई देशको हितका लागि उपयोग गर्नुपर्नेमा उनको जोड रहेको छ ।
त्यसैगरी कोशी प्रदेशले अब व्यक्तिवादी राजनीतिको अन्त्य गरी विचार र नीतिको राजनीतिमा जोड दिनुपर्ने धारणा कार्कीले अघि सारेका छन् । विगतमा कोशीले नेताको नाम र अनुहार हेरेर मात्र राजनीति गरेको स्मरण गर्दै उनले अब राष्ट्रिय नीतिका लागि कोशी प्रदेश आफैँले नेतृत्व लिन सक्ने र एउटा उत्कृष्ट उदाहरण बन्न सक्ने गरी अघि बढ्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने
-
गृह मन्त्रालयमा बजेट अभाव, थप्न पहल गरिदिन गृहमन्त्रीको आग्रह
-
रास्वपा प्रदेश समिति निर्वाचन : कोशीमा मतगणना हुँदै
-
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
-
पश्चिम एसियामा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
-
मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण