बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टीभित्र चरम निषेध र अपमान भएको आरोप लगाउँदै पूर्वसांसद लामाले भनिन्, ‘आजदेखि म स्वतन्त्र छु’

बिहीबार, २८ जेठ २०८३, १४ : ०४
बिहीबार, २८ जेठ २०८३

सारांश

  • पूर्वसांसद छिरिङ ल्हामु लामाले आफूमाथि पार्टीभित्र चरम निषेध, अपमान र चौतर्फी षड्यन्त्र भएको आरोप लगाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।
  • उनले सामाजिक सञ्जाल फेसबुकमा नेतृत्वदायी पङ्क्तिको सङ्कीर्ण मानसिकताका कारण कार्यकालभरि पीडा भोग्नुपरेको र युवाहरूको विचारलाई निषेध गर्ने वातावरणबाट मुक्त हुन चाहेको उल्लेख गरेकी छन्।
  • अवसरवादीको आरोप लाग्ने कुराप्रति सजग रहँदै उनले पार्टी परित्यागको निर्णय आफ्नो रहर नभई बाध्यता भएको र अब स्वतन्त्र विचार, आत्मसम्मान र स्वतन्त्रताका साथ जिउने घोषणा गरेकी छन्।

काठमाडौँ । पूर्वसांसद छिरिङ ल्हामु लामाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्। आफूमाथि पार्टीभित्र चरम निषेध, अपमान र चौतर्फी षड्यन्त्र भएको उल्लेख गर्दै उनले स्वतन्त्र रहने निर्णय गरेकी हुन्। 

सामाजिक सञ्जाल फेसबुकमा एक लामो भनाइ सार्वजनिक गर्दै उनले पार्टीको नेतृत्वदायी पङ्क्तिको सङ्कीर्ण मानसिकताका कारण आफूले कार्यकालभरि असंख्य पीडा भोग्नुपरेको खुलासा गरेकी छन् ।

अघिल्लो कार्यकालमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट समानुपातिक सांसद बनेकी लामाले आफू बाहेक अरू कसैको अस्तित्व, क्षमता र योगदानलाई स्वीकार गर्न नसक्ने आपराधिक मानसिकतासँग अब अगाडि बढ्न नसकिने स्पष्ट पारेकी छन्। युवाहरूको विचारलाई निषेध गर्ने र नयाँ पुस्ताको आवाज दबाउने वातावरणबाट आफू मुक्त हुन चाहेको उनले उल्लेख गरेकी छन्। पार्टीभित्र आफ्नो आत्मबल कमजोर पार्ने र राजनीतिक तथा व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयासहरू बारम्बार भएको दाबी गर्दै उनले आफ्नो आत्मविश्वास र संघर्षशीलताका कारण मात्र ती षड्यन्त्रहरूको सामना गर्न सकेको बताएकी छन्।

यो निर्णयपछि कतिपयले आफूलाई अवसरवादी भन्न सक्ने र आलोचना गर्न सक्ने कुराप्रति सजग रहँदै उनले अवसरवादीको आरोप लगाउनु अघि पार्टीभित्रको आफ्नो पृष्ठभूमि, सङ्घर्ष र यात्रालाई अध्ययन गर्न आग्रह गरेकी छन्। आफूले आजसम्म पाएका कुनै पनि जिम्मेवारी मागेर वा दबाब दिएर नभई समयले काँधमा राखिदिएको र त्यसलाई इमानदारीपूर्वक निर्वाह गरेको उनको भनाइ छ। आफू सही वा गलत भन्ने कुराको अन्तिम फैसला समयले नै गर्ने विश्वास उनले व्यक्त गरेकी छन्।

पार्टी परित्यागको निर्णय आफ्नो रहर नभई बाध्यता भएको उल्लेख गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘एउटा पीडित र पीडा दिने मानसिकता एउटै छानामुनि बसेर लामो समयसम्म सहयात्रा गर्न सक्दैन । केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा नाघेपछि आजको यो निर्णय मेरो रहर होइन, बाध्यता बनेको हो । इमानदारीको जगमा उभिएको मेरो अस्तित्व अपराधी मानसिकतासँग सम्झौता गरेर बाँच्न सक्दैन ।’ समाज र देश बदल्ने सङ्कल्प बोकेर हिँडेको मान्छे भएकाले अपमान र अमानवीय व्यवहार सहेर बस्नुभन्दा आफ्नो बाटो रोज्नु नै सही निर्णय भएको उनले ठहर गरेकी छन्।

अझै धेरै लामो यात्रा र सङ्घर्ष गर्न बाँकी रहेको भन्दै उनले अबका सङ्घर्षहरू हरेक दिन षड्यन्त्रको सिकार भएर नभई स्वतन्त्र र आत्मसम्मानका साथ गर्न चाहेको स्पष्ट पारेकी छन्। आफूलाई यो निर्णय लिन बाध्य बनाउने सङ्कीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिँदै उनले यसैका कारण आफूले स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझ्न पाएको टिप्पणी गरेकी छन्।

सांसद लामाले कर्णाली प्रदेश पार्टी, केन्द्रीय पार्टी तथा यात्रामा निरन्तर साथ, विश्वास र हौसला दिने सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूप्रति हृदयदेखि नै आभार प्रकट गरेकी छन्। अन्त्यमा, आफ्नो व्यवहार, बोली वा कार्यशैलीबाट कसैको मन दुखेको भए क्षमाप्रार्थी रहेको र आफ्ना कमजोरी वा त्रुटिहरूका लागि माफी चाहँदै अबदेखि आफू स्वतन्त्र विचार, आत्मसम्मान र स्वतन्त्रताको सासमा जिउने उनले घोषणा गरेकी छन् ।

720495203_986804820725271_7364599710977325312_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप