बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

जगदम्बा स्टिल्सको ऋण दुरुपयोग प्रकरण : साहिल अग्रवाल र दीपक भट्टसहित चार जनाविरूद्ध ४२ करोडको मुद्दा दायर

बिहीबार, २८ जेठ २०८३, १८ : १२
बिहीबार, २८ जेठ २०८३

सारांश

  • जगदम्बा स्टिल्सले बैंकबाट लिएको ऋण व्यक्तिगत स्वार्थ र सेयर लगानीमा दुरुपयोग गरेको अभियोगमा साहिल अग्रवाल, दीपक भट्टसहित चार जनाविरुद्ध ४२ करोडभन्दा बढीको मुद्दा दायर भएको छ।
  • अभियोग पत्रमा उनीहरूमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम बिगो भराई, जरिवाना र कैद सजायको माग गरिएको छ।
  • अनुसन्धान प्रतिवेदन अनुसार, उद्योगको लागि लिइएको ऋण रकम नक्कली जग्गा खरिदको बैना देखाएर व्यक्तिगत खातामा पठाइएको र सेयर खरिदमा प्रयोग गरिएको खुलेको छ।

काठमाडौँ । जगदम्बा स्टिल्स लिमिटेडले विभिन्न बैंकहरूबाट व्यावसायिक प्रयोजनका लागि लिएको ऋण व्यक्तिगत स्वार्थ र सेयर लगानीमा दुरुपयोग गरेको अभियोगमा उद्योगी साहिल अग्रवाल र व्यवसायी दीपक भट्टसहित चार जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ।

सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको वाणिज्य इजलासमा दर्ता गरेको अभियोग पत्रमा जगदम्बा स्टिल्सका अध्यक्ष साहिल अग्रवाल, खाता सञ्चालकहरू सुलभ अग्रवाल र शंकरलाल अग्रवाल तथा इन्फिनिटी होल्डिङ्सका सञ्चालक दीपक भट्टलाई प्रतिवादी बनाइएको छ। 

उनीहरूमाथि ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो दाबी गर्दै बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा चलाइएको हो।

सरकारी वकिलले प्रतिवादीहरूलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ५ र ८ बमोजिमको कसूरमा दफा १५ (२) (ङ) अनुसार बिगो भराई, बिगो बमोजिम जरिवाना र ६ देखि ८ वर्षसम्म कैद सजायको माग गरेको छ। साथै, शंकरलाल अग्रवाललाई मतियारको रूपमा मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय माग गरिएको छ।

यसका साथै यो प्रकरणमा सम्पत्ति शुद्धीकरणको समेत आशङ्का गरिएको छ । प्रतिवादीहरू दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत छुट्टै अनुसन्धान भइरहेको समेत अभियोग पत्रमा जानकारी दिइएको छ । हाल साहिल अग्रवाल र शंकरलाल अग्रवाल फरार रहेकाले उनीहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ ।

नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका अनुसार, जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक र कृषि विकास बैंक लगायतबाट 'वर्किङ क्यापिटल लोन' (चालु पूँजी कर्जा) लिएको थियो।

उद्योगको कच्चा पदार्थ खरिद र दैनिक सञ्चालनका लागि लिइएको उक्त ऋण रकमलाई नक्कली 'जग्गा खरिदको बैना'  देखाएर दीपक भट्टको व्यक्तिगत खातामा पठाइएको अनुसन्धानबाट खुलेको छ।

भट्टको खातामा पुगेको उक्त रकम पुनः उनको एकल स्वामित्वमा रहेको 'इन्फिनिटी होल्डिङ्स' मा सारिएको र त्यहाँबाट हिमालयन रि–इन्सुरेन्स लिमिटेड को संस्थापक सेयर खरिदमा प्रयोग गरिएको अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्रका अनुसार प्रतिवादीहरूले बैंक र नियामक निकायलाई भ्रममा पार्न तीन वर्षसम्म उक्त रकमलाई जग्गाको एडभान्सका रूपमा वित्तीय विवरणमा देखाएका थिए। 

तर, वास्तवमा कुनै जग्गा खरिद–बिक्री भएको थिएन। कर्जा अपचलनलाई लुकाउन विभिन्न व्यक्ति र कम्पनीका खाताहरू प्रयोग गरी रकम घुमाउने गरिएको र जगदम्बा स्टिल्सलाई बैंकको रकम व्यक्तिगत हितमा पुर्‍याउने 'फण्ड च्यानल'का रूपमा प्रयोग गरिएको दाबी गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप