शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहिद लखनसँग जोडिएका पालिकाले गरे २३ बुँदे समझदारी, विकास र सेवा प्रवाहमा साझा एजेन्डा बनाउने

शुक्रबार, २९ जेठ २०८३, ०८ : ३१
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • गोरखा, तनहुँ र चितवनका ६ वटा पालिकाबीच विकास निर्माण, सेवा प्रवाह र साझा समस्या समाधानका लागि २३ बुँदे समझदारी भएको छ ।
  • समझदारी अन्तर्गत मुख्य सडकहरूको स्तरोन्नति, त्रिशूली नदीमा मोटरेबल पुल निर्माण, पदमार्गको संरक्षण र एकीकृत पर्यटकीय सर्किट निर्माण गरिनेछ ।
  • यसैगरी, स्वास्थ्य सेवाको आदानप्रदान, प्राविधिक शिक्षाको पहुँच विस्तार, कृषि उत्पादनको बजारीकरण, विपद् व्यवस्थापन र नदीजन्य पदार्थको उत्खननमा साझा सहकार्य गरिनेछ ।

पोखरा । गोरखाको सहिद लखन गाउँपालिकालाई केन्द्र मानेर भौतिक पूर्वाधार र अन्य संरचनाको विकास गर्न सँधियार पालिकाहरू सहमत भएका छन् । गोरखा, तनहुँ र चितवनका सीमा जोडिएका ६ स्थानीय तहहरूले विकास निर्माण, सेवा प्रवाह र साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय र सहकार्य समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

बिहीबार बसेको बैठकमा गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिहरूले २३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरुले केही मुख्य सडकहरूमा जोड दिएका छन् ।

लक्ष्मीबजार–रामपुर–बेनीगाउँ–सिउरेनीटार सडक खण्ड तथा बेनीघाट–आरुघाट–लाार्के सडकलाई रणनीतिक सडकका रूपमा विकास गर्न संघीय र प्रदेश सरकारसँग संयुक्त पहल गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी, विभिन्न पालिका जोड्ने त्रिशूली नदीमाथिको मोटरेबल पुल निर्माणका लागि समन्वय गर्ने र निर्माण कार्यको गुणस्तर जाँच्न संयुक्त प्रयोगशाला स्थापना गर्ने सहमति उनीहरुले गरेका छन् । 

मनकामना–लखन थापा किल्ला–गोरखा दरबारसम्मको पदमार्गको संरक्षण र प्रवर्द्धन गर्ने र छिमेकी पालिकामा रहेका तालतलैया, धार्मिक स्थल र पर्यटकीय क्षेत्रहरूलाई जोडेर एकीकृत पर्यटकीय सर्किट निर्माण गर्ने निर्णय गरिएको छ । संयुक्त बैठकले आँबुखैरेनी र गोरखा अस्पताललाई केन्द्रित गरी विशेषज्ञ स्वास्थ्य सेवाको आदानप्रदान गर्न सहमति जनाइएको छ ।

प्रत्येक पालिकामा प्राविधिक शिक्षालयको स्तरोन्नति गरी छिमेकी पालिकाका विद्यार्थीलाई समेत निःशुल्क शिक्षा र प्राविधिक तालिमको पहुँच सुनिश्चित गर्ने तथा राजस्व प्रशासन, डिजिटल प्रणाली, विपद् व्यवस्थापन र संस्थागत क्षमता वृद्धिका लागि असल अभ्यासको आदानप्रदान गर्न सहमत भएका छन् । पालिकाभित्रका सार्वजनिक सेवा र प्रशासनिक समस्याहरू समाधान गर्न नियमित संवाद गर्ने निर्णय पनि भएको छ ।

बैठकमा कृषि उत्पादन र बजारीकरणमा चासो दिइएको छ । स्थानीय उत्पादनको बजारीकरण, लगानी प्रवर्द्धन, सीप विकास र रोजगारी सिर्जनामा संयुक्त कार्यक्रम सञ्चालन गर्ने, स्थानीय घरेलु मदिरा तथा रैथाने उत्पादनलाई कानुनी मान्यता दिई व्यवस्थापन र बजारीकरणका लागि आवश्यक नीति निर्माण गर्ने उनीहरूको निर्णय छ । आगलागी, प्राकृतिक विपद् र दुर्घटनाका समयमा पालिकाबिच एम्बुलेन्स, दमकल र प्राविधिक जनशक्तिको साझा उपयोग गर्ने तथा नदीजन्य पदार्थको दिगो उत्खनन र फोहोरमैला व्यवस्थापनमा समेत साझा धारणा बनाउने निर्णय भएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

पालिकाको सीमा क्षेत्रमा उत्पन्न हुने प्रशासनिक, विकास निर्माण र प्राकृतिक स्रोत उपयोगसम्बन्धी समस्याहरू आपसी सहमति र अध्ययनका आधारमा समाधान गर्ने समझदारी बनेको उनले सुनाए । सहिद लखन गाउँपालिकालाई केन्द्र बनाएर गरिएको यो सहकार्यले गोरखा, तनहुँ र चितवनका सीमावर्ती क्षेत्रको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ । ‘अबको विकास मिलेर मात्रै सम्भव छ भन्ने हाम्रो निष्कर्ष हो । बैठकमा भएका समझदारीले साना तथा ठूला विकासका आयोजनाहरूलाई साझा प्राथमिकतामा राखी स्रोत र साधनको अधिकतम सदुपयोग गर्ने मार्ग प्रशस्त गरेको छ,’ उनले भने । समझदारी पत्रमा सम्बन्धित पालिकाका प्रमुख-अध्यक्ष, उपप्रमुख-उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूले हस्ताक्षर गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति, गोरखाका प्रमुख र उप–प्रमुखले पनि ऐक्यवद्धता जनाएका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप