शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी स्पेसल : मधेसवादी दलको अवस्था

स्थानीय तह र प्रदेश सभा निर्वाचनमा के होला मधेसवादी दलको पोजिसन ?

शुक्रबार, २९ जेठ २०८३, ११ : २९
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • गत प्रतिनिधि सभा निर्वाचनमा मधेसवादी दलहरूले देशभर एक सिट पनि जित्न सकेनन्, जसले गर्दा आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनमा उनीहरूको स्थितिबारे चासो बढेको छ ।
  • अर्थशास्त्री डा. हरिवंश झाका अनुसार मधेस केन्द्रित दलहरूको अवसान भएको हो र उनीहरूले विगतमा गरेका गल्तीको फल पाएका छन् ।
  • जसपा नेपालका नेता लक्ष्मणलाल कर्ण भने पार्टी एकता र गल्ती सुधार गरेमा जनताले पुनः विश्वास गर्न सक्ने तर्क गर्छन्, यद्यपि युवा नेताहरू भने नेतृत्वमा पुस्तान्तरणको अभावले समस्या थपिएको बताउँछन् ।

काठमाडौँ । गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मधेसवादी दलहरू नराम्ररी बढारिए । करिब आधा दर्जन राजनीतिक दलले तराई–मधेसलाई आफ्नो मुख्य आधार क्षेत्र मान्दै आए पनि ती कुनै पनि दलले देशभर एक सिट पनि जित्न सकेनन् ।

जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, आम जनता पार्टी, नेपाल सदभावना पार्टी लगायतका दल तराई–मधेस भूगोललाई आफ्नो आधार क्षेत्र बनाएर राजनीतिक गतिविधि गर्दै आएका छन् । यद्यपि मधेस प्रदेशमा समेत यी दलले आफ्नो अस्तित्व जोगाउन सकेनन् । प्रतिनिधि सभातर्फ मधेस प्रदेशबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत रहेका ३२ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३० सिटमा जित हासिल गर्दा एक सिटमा नेपाली कांग्रेस र अर्को एक सिटमा नेपाली कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभातर्फ शून्यमा रहेका मधेसवादी दल राष्ट्रिय सभातर्फ तीन सिटमा खुम्चिएका छन् । मधेस प्रदेश सभामा जसपा नेपाल (लोसपा नेपालसँग एकीकरणपछि) २८ सिटसहित सबैभन्दा ठुलो दल बनेको छ । यस्तै जनमत पार्टीको १२ र नेपाल संघीय समाजवादी पार्टीको एक सिट छ ।

आगामी वर्ष मुलुकमा स्थानीय तह र प्रदेश सभा निर्वाचन हुँदैछ । स्थानीय तह र प्रदेश सभा निर्वाचनमा मधेसवादी दलले आफ्नो साख फर्काउन सक्लान् वा प्रतिनिधि सभा निर्वाचनकै नियति झेल्नु पर्ने हो भन्नेबारे चासो बढ्न थालेको छ ।

अर्थशास्त्री एवं प्राध्यापक डा.हरिवंश झाका अनुसार गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मधेस केन्द्रित दलको एक किसिमले अवसान नै भएको हो । ‘२०६४ मा उदाएको दल २० वर्ष नपुग्दै शून्यमा झर्नु भनेको अवसान नै हो,’ उनले भने, ‘ती दलहरूलाई कर्मगुनाको फल प्राप्त भएको हो ।’

२०७४ देखि मधेस प्रदेशमा लगातार मधेसवादी दलको नेतृत्वमा सरकार थियो । अन्य दलको तुलनामा सिट कम हुँदा पनि मधेस केन्द्रित दलले सरकारको नेतृत्व आफैँसँग राख्न सफल हुँदै आएका थिए । अहिले जसपा नेपाल मधेस प्रदेश सभामा सबैभन्दा ठुलो दल हुँदासमेत कांग्रेस, एमाले र नेकपा मिलेर सरकार बनाउँदै जसपा नेपाललाई विपक्षी कित्तामा पुर्‍याएका छन् ।

२०७४ फागुन २ देखि २०८२ कात्तिक २२ गतेसम्म मधेस केन्द्रित दलबाट चार जना मुख्यमन्त्री बने । सो अवधिमा ५० जनाभन्दा बढी मन्त्री भए । अहिले आएर मधेस केन्द्रित दलले प्रदेश सरकारमा उपस्थिति गुमाएकामात्र होइनन्, गत फागुनकै नियति दोहोरिने हो भने आगामी वर्ष हुने निर्वाचनबाट प्रदेश सभा र स्थानीय तहमा पनि बढारिन सक्ने प्राध्यापक झाको भनाइ छ ।

विगतमा मधेस केन्द्रित दलले गरेका गल्तीको फल जनताले प्रतिनिधि सभा निर्वाचनमा एक–एक हिसाब गरेर दिएको झाले प्रस्ट पारे ।

जसपा नेपालका नेता लक्ष्मणलाल कर्णचाहिँ फरक तर्क गर्छन् । उनले भने, ‘मधेसमा अहिले पनि जसपा नेपाल अर्थात् मधेस केन्द्रित दलकै प्रभाव छ । विगतमा गरेको केही गल्तीका कारण जनता रुष्ट भए पनि गल्ती सुधार गरेमा जनताले फेरि साथ दिन सक्छन् ।’

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच एकता भइसकेको जिकिर गर्दै उनले अन्य दलसँग पनि एकताको प्रयास भइरहेको बताए । पार्टी एकतासहित बलियो भएर निर्वाचनमा जाने हो भने जनताले फेरि विश्वास गर्न सक्ने उनको भनाइ छ । यसका लागि विगतमा भएका गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनले प्रस्ट पारे ।

मधेस केन्द्रित दलहरू चुनावअघि एकीकृत हुने लक्ष्यका साथ गृहकार्यमा जुटेका छन् । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, डा. सीके राउत नेतृत्वको जनमत पार्टी र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबिच एकताका लागि प्रयास भइरहेको छ ।

पार्टी एकताको प्रयास भइरहे पनि व्यक्तित्वको टकराव, आफ्नै पार्टीभित्र चुलिँदै गएका असन्तुष्टि लगायतका कारण जनतामा कति प्रभाव पार्छ भन्ने आकलन गर्न कठिन छ । विगतमा पनि पार्टी एकता, कार्यगत एकता लगायतका अभ्यास नभएको होइन, तर नेताहरूबिच व्यक्तित्वको टकराव, सत्तामा सहभागी हुने सन्दर्भमा देखिने होडबाजी लगायतका कारण मधेस केन्द्रित दल कमजोर हुन पुगेका थिए ।

  • युवाहरू छुट्टै अभियानमा

मधेस केन्द्रित दलका युवा नेताहरू भने नेतृत्वमा पुस्तान्तरण नभएको भन्दै छुट्टै अभियानमा जुट्न थालेका छन् । जसपा नेपालबाट राजीनामा दिएर अलग भएका रामकुमार शर्माले मधेस केन्द्रित दलहरूमा पुराना पुस्ताको अवसान भइसकेको दाबी गरे ।

उनले भने, ‘देशमा यस्तो परिवर्तन भयो, सरकारमा पुस्तान्तरण भयो, तर मधेस केन्द्रित दलहरू उही पुरानै ढर्रामा रहे । त्यसैले मधेस केन्द्रित दलका नेतृत्वको अवसान नै भएको मान्न सकिन्छ । अब मधेसका युवाहरू नयाँ ढङ्गले अगाडि बढिसकेका छन् । यसले मधेसका पुराना पुस्तालाई झन् समस्या हुने देखिन्छ ।’

मधेसले अब तिनै उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुरहरूलाई स्वीकार नगर्ने शर्माले प्रस्ट पारे । ‘मधेस केन्द्रित दल प्रतिनिधि सभामा शून्यमा झर्नुको मुख्य कारण विगतमा उनीहरूले गरेको गल्ती, कमी–कमजोरी नै हो,’ उनले भने, ‘अब पनि त्यसलाई सुधारेनन् भने प्रदेश र स्थानीय तहमा पनि मधेस केन्द्रित दल शून्य नै हुन्छन् ।’

राजनीतिक विश्लेषक विजयकान्त कर्णका अनुसार मधेसवादी दल यस्तो अवस्थामा आउनुको कारक उनीहरू आफैँ हुन् । ‘२०६४ देखि मधेसवादी दलहरू जसरी सत्ताको राजनीतिमा फसे,’ उनले भने, ‘त्यसैको परिणाम अहिले देखिएको हो ।’

मधेस र मधेसी जनताको नाममा राजनीति गर्दै आएका कुनै पनि दलले ‘थ्रेस होल्ड’ समेत कटाउन नसक्नुले नै जनताको नजरमा उनीहरू कहाँ रहेछन् भन्ने प्रस्ट पारेको कर्णले बताए । उनले भने, ‘यतिका वर्षदेखि मधेस र मधेसी जनताका लागि भन्दै राजनीति गर्दै आएका दलले थ्रेस होल्ड कटाउन नसक्नु भनेको लज्जाको विषय हो ।’

नेता लक्ष्मणलाल कर्णले पनि सत्ताकै कारण मधेस केन्द्रित दलको यो हालत भएको बताए । उनले भने, ‘सत्तामा गएर हामीले केही गर्न सकेनौँ, तर कांग्रेस, एमाले र माओवादीसँग सरकारमा पटक पटक गएको कारण उनीहरूले गरेको गल्तीको दोष हामीमाथि थोपरिएको हो ।’

भ्रष्टाचारमा मधेस केन्द्रित दलका कुनै पनि नेताको नाम नमुछिएको जिकिर गर्दै उनले त्यस्ता काण्डमा कांग्रेस, एमाले, माओवादीका नेताहरू मुछिएको, तर त्यसको छिटा मधेस केन्द्रित दलमा परेको प्रस्ट पारे ।

जसपा नेपालका नेता डा.सुरेन्द्र झा भने फरक तर्क गर्छन् । उनले भने, ‘नेतृत्व पुराना वा नयाँले केही फरक पार्दैन । नीति, विचार, सिद्धान्त र मुख्य कुरा व्यवहार राम्रो भयो भने जोसुकैले राम्रो गर्न सक्छ ।’

जसपा नेपालले विगतमा केही गल्ती गरेको हुन सक्ने बताउँदै उनले त्यसलाई करेक्सन गरेर अगाडि बढिसकेको दाबी गरे । उनले तीन महिनाभित्र यसले परिणाम देखाउने ठोकुवासमेत गरे ।

संगठन सुदृढीकरणका साथै नेता कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम अगाडि बढाएको बताउँदै उनले मधेसमा जसपा नेपाल परिमार्जन भएर पुनः एउटा शक्तिको रूपमा आउन लागेको जनाए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पुरानै सोचले अब राजनीति अगाडि बढ्न नसक्ने बताए । मधेस केन्द्रित दलका नेताहरूले आफूलाई परिवर्तन नगरेको कारण यो अवस्था आएको उनको भनाइ छ । उनले भने, ‘एक त दलहरू रुपान्तरण हुनुपर्थ्यो, त्यो भएन । दलसँग भएको एजेण्डा र कार्यदिशाको बारेमा पनि जनतालाई राम्रोसँग बुझाउन नसकेको कारण यो हार व्यहोर्नु परेको हो ।’

चुनावकै लागि मधेस केन्द्रित दलहरू मिलेर सङ्घीय लोकतान्त्रिक मोर्चा गठन गरेका थिए । यसका बाबजुद उनीहरू चुनावमा सहकार्य गर्न असफल रहे । मोर्चामा रहेका दलहरू नै एक अर्काको प्रतिस्पर्धी भएर निस्किए । मधेस केन्द्रित दलको अवसान यात्रा त्यहीँबाट सुरु भएको राष्ट्रिय मुक्ति पार्टीका महासचिव सन्तोष मेहताले बताए ।

उनले भने, ‘चुनावका समयमा केही दलका शीर्ष नेताहरूले अन्य दलका नेतालाई महत्त्व नै दिएनन् । सबैथोक आफैँ हुँ भनेर चुनावमा अगाडि बढ्दाको परिणाम हो यो ।’

मधेस केन्द्रित दलका नेतामा रहेको त्यो घमण्डले पनि अवसानको बाटोमा पुर्‍याएको मेहताको भनाइ छ । उनले भने, ‘अब धुलो टकटक्याएर फेरि उठ्ने प्रयास भइरहेको छ, नयाँ ढंगबाट अगाडि बढ्ने कुरा भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप