शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

सरकार आफैँ धामी, आफैँ बोक्सी: गृहमन्त्री गुरुङको पुनरागमनप्रति कांग्रेसको आपत्ति

शुक्रबार, २९ जेठ २०८३, १२ : २४
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाइएको भन्दै सरकारको आलोचना गरेका छन्।
  • सांसद खड्काले सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर अभियोग लागेका तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत दोषी करार गरेका व्यक्तिलाई पुनः संवेदनशील जिम्मेवारी दिएकोमा तीव्र असन्तुष्टि व्यक्त गरे।
  • उनले सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कृत गर्ने, आफ्ना मान्छेलाई जोगाउन अनेक प्रपञ्च गर्ने र सुशासनको नारा दिने दोहोरो चरित्र देखाएको आरोप लगाए।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाइएको भन्दै सरकारको आलोचना गरेका छन्। 

शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर अभियोग लागेका तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत जेनजी आन्दोलनको दोषी करार गरेका व्यक्तिलाई फेरि सोही संवेदनशील जिम्मेवारी दिएकोमा तीव्र असन्तुष्टि व्यक्त गरे। 

सांसद खड्काले वर्तमान सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कृत गर्ने काम गरिरहेको गम्भीर आरोपसमेत लगाए। संसद्‌मा बोल्दै सांसद खड्काले सुशासनको गफ हाँक्ने सरकारले आफ्ना मान्छेलाई जोगाउन अनेक प्रपञ्च गरिरहेको टिप्पणी गरे। 

उनले भने, ‘माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपश्चात छलछाम समिति बनाइयो। सुनिन्छ उक्त समितिले चोख्यायो रे। उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री पुनः बनाइयो। एकातिर सुशासनको नारा अर्कोतिर आफ्नोलाई पुरस्कृत ! अर्कोतर्फ मानव अधिकार आयोगको प्रतिवेदनले पनि उहाँलाई दोषी देखाएको छ। सरकार आफैँ धामी, अनि आफैँ पुरस्कृत गर्दै हिँड्ने? अब क्रमभङ्गता र सुशासनको गफ हाँक्न छोडौँ। कि आफ्नालाई जोगाउने र पुरस्कृत गर्ने काम गर्नु भएन।’

यसका साथै सांसद खड्काले प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले संसद्‌मा दिएको एक विवादास्पद अभिव्यक्तिप्रति पनि ध्यानाकर्षण गराए। उनले प्रधानमन्त्रीको उक्त गैरजिम्मेवारपूर्ण अभिव्यक्ति संसद्को रेकर्डबाट तुरुन्त हटाउनुपर्ने आफ्नो अडान पुनः दोहोर्‍याए। सरकारको दोहोरो चरित्र र स्वेच्छाचारी कदमले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी राज्यको उपहास गरिरहेको उनको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप