शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विकासको नाममा ऋण बढाउने होडबाजी रोकौँ, बरु योजनाका सङ्ख्या घटाऔँ : अध्यक्ष राई

शुक्रबार, २९ जेठ २०८३, १५ : १२
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विकासका नाममा वैदेशिक ऋण बढाउने होडबाजी रोकेर ऋण घटाउने दिशामा केन्द्रित हुन अर्थमन्त्रीलाई सुझाव दिएका छन्।
  • उनले अनुत्पादक र अनावश्यक योजनाहरू समेटेर ऋणको भारी बोक्नुभन्दा बरु योजनाहरूको सङ्ख्या नै कटौती गर्न सरकारलाई आग्रह गरेका छन्।
  • अध्यक्ष राईले शिक्षा प्रणालीमै आमूल परिवर्तन गरी बालबालिकालाई श्रमको महत्त्व बुझाई उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले विकासका नाममा वैदेशिक ऋण बढाउने होडबाजी रोकेर ऋण घटाउने दिशामा केन्द्रित हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएका छन्। 

शुक्रबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन्। 

विकासको दौड जित्ने नाममा प्रत्येक वर्ष वैदेशिक ऋण थपिँदा आम नेपाली नागरिक ऋणको भारीले थिचिनु परेको भन्दै उनले यसबाट मुक्ति पाउने गरी अर्थनीति तय गर्न माग गरे। संसद् बैठकमा बोल्दै अध्यक्ष राईले अनुत्पादक र अनावश्यक योजनाहरू समेटेर ऋणको भारी बोक्नुभन्दा बरु योजनाहरूको सङ्ख्या नै कटौती गर्न सरकारलाई आग्रह गरे। 

उनले अबको अर्थनीति आत्मनिर्भरतातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। देशलाई औद्योगीकरण र उत्पादनको बाटोमा लैजान शिक्षा प्रणालीमै आमूल परिवर्तन गर्नुपर्ने उनको तर्क छ। जबसम्म विद्यालय तहदेखि नै बालबालिकालाई श्रमको महत्त्व बुझाइँदैन र काम गर्न सिकाइँदैन, तबसम्म मुलुकले उत्पादनमा फड्को मार्न नसक्ने उनले स्पष्ट पारे।

अध्यक्ष राईले शिक्षा र श्रमको सम्बन्धबारे चर्चा गर्दै भने, ‘विकास कसैले बढी ल्याउने भन्ने दौडमा प्रत्येक साल हाम्रो विदेशी ऋण बढिरहेको छ। अनुरोध गर्न चाहन्छु बरु योजनाका सङ्ख्याहरू घटाऔँ हामीले। हुँदो नहुँदो योजना ल्याएर पछि ऋणको भारीमा किचिएर, थिचिएर बस्नु भन्दा अव हामी आत्मनिर्भर बन्नु पर्छ भन्ने भन्नेतर्फ हाम्रो अर्थनीति अगाडि जानु पर्दछ भन्ने म सुझाव दिन चाहन्छु। मैले धेरै चोटि यहाँ उभिएर पनि भनेको छु–जबसम्म हामीले शिक्षामा नै श्रम ल्याउँदैनौँ। केटाकेटीलाई हामी स्कुलमा नै काम गर्न सिकाउँदैनौ। काम गर्नु नै शिक्षा हो भन्ने कुराको मानक स्थापित गर्दैनौ, तबसम्म देशमा उत्पादन हुँदैन।’

उत्पादन विनाको अर्थतन्त्रले देशलाई अगाडि बढाउन नसक्ने भन्दै उनले आफ्नो पार्टीले अघि सारेको श्रम संस्कृतिको अवधारणा संसद्‌मा प्रस्ट पारे। श्रम संस्कृति कुनै एउटा राजनीतिक दलको एजेन्डा मात्र नभएर नागरिकलाई गरिखान सिकाउने अभियान भएको उनले बताए। भोका र नाङ्गा नागरिकलाई सधैँ गाँस र बासको राहत बाँडेर परनिर्भर बनाउनुभन्दा उनीहरूलाई आफैँ उत्पादन गरेर उपभोग गर्न सक्ने गरी सक्षम बनाउनुपर्ने उनको भनाइ छ।

सरकारको सफलता र असफलताको मापन वैदेशिक ऋणको घटबढका आधारमा हुनुपर्ने नयाँ मानक राख्दै उनले आगामी बजेटमा ऋण नलिने सङ्कल्प गर्न अर्थमन्त्रीलाई आग्रह गरे। उनले थपे, ‘हामी कति सफल भयौँ, कति असफल भयौ भन्ने कुराको मूल्याङ्कन हामीले विदेशी ऋण घटायौ वा बढायौ भन्ने कुराले निर्धारण गर्दछ भन्ने म सुझाव दिन चाहन्छु। त्यसो भएको हुनाले हामीले जतिसक्दो ऋण घटाउनेतर्फ हामी लाग्नुपर्दछ। र म त्यो भन्छु–अर्को साल ऋण नलिई म हाम्रो अर्थमन्त्रीजीलाई, नेपाल सरकारलाई।’ 

अध्यक्ष राईले सरकारलाई परनिर्भरता त्यागेर आफ्नै बलबुतामा देश चलाउने आँट गर्न सचेत गराए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप