शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

इन्टरनेटमा भाइरल चीनकी ७४ वर्षीया ‘फेसन हजुरआमा’

शुक्रबार, २९ जेठ २०८३, १७ : ००
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • चीनको साङ्घाईकी ७४ वर्षीया यिङ्जी आफ्नो आकर्षक शैली, आत्मविश्वास र ऊर्जावान जीवनशैलीले सामाजिक सञ्जालमा भाइरल भएकी छिन्।
  • उनी प्रायः प्राकृतिक सेता कपाल, रंगीन आधुनिक पहिरन र अग्लो हिल भएको जुत्तामा सडकमा नाचेको वा पोज दिएको देखिन्छिन्, जसले लाखौं दर्शकको ध्यान तानेको छ।
  • यिङ्जी कडा आत्मअनुशासन, दैनिक योग, खानपानको नियम र सकारात्मक बुढ्यौलीको सन्देश फैलाउने कार्यले प्रेरणादायी बनेकी छिन्।

साङ्घाई । चीनको पूर्वी सहर साङ्घाईकी ७४ वर्षीया यिङ्जी यतिबेला आफ्नो आकर्षक शैली, गजबको आत्मविश्वास र ऊर्जावान जीवनशैलीका कारण सामाजिक सञ्जालमा निकै भाइरल छिन्। 

इन्टरनेटमा भाइरल हुने भिडियोहरूमा उनी प्रायः आफ्ना प्राकृतिक सेता कपाल, रंगीन आधुनिक पहिरन र अग्लो हिल भएको जुत्तामा सहरका सडकहरूमा नाचेको वा क्यामरामा पोज दिएको अवस्थामा देखिन्छिन्। 

उनको यही फरक र उमेरलाई माथ दिने शैलीले लाखौँ दर्शकको ध्यान तानेको छ। हाल अनलाइनमा उनका फलोअरहरू २० लाखभन्दा बढी पुगिसकेका छन् भने उनका भिडियोहरू १० करोडभन्दा बढी पटक हेरिएका छन्।

उनी प्रायः युवा युवतीहरूले लगाउने आधुनिक पहिरन वा ‘पङ्क फेसन’ शैलीमा सजिन रुचाउँछिन्। उनको यो लोभलाग्दो स्वास्थ्य र सुन्दरताको पछाडि कडा आत्मअनुशासन र दैनिक जीवनशैलीको ठूलो भूमिका छ। उनी दैनिक बिहान एक घण्टा योग गर्छिन् भने साँझ ५ बजेपछि कुनै पनि खानेकुरा खाँदिनन्। खाना खाँदा पनि पेटभरि नभई ७० प्रतिशत मात्र खाने उनको कडा नियम छ।

यिङ्जीको ४५ वर्षका एक छोरा छन्। छोरा जन्मिएदेखि यता उनलाई कहिल्यै पनि कुनै स्वास्थ्य समस्याका कारण अस्पताल जानु परेको थिएन। तर, सन् २०२४ मा उनको एउटा हड्डी भाँचिएपछि भने उनी जीवनमै पहिलोपटक अस्पताल जान बाध्य भइन्। अस्पताल भर्ना हुँदा समेत उनी वैशाखी वा कसैको सहारा बिना नै घण्टौँसम्म हिँड्ने गर्थिन्। उनको यस्तो गजबको शारीरिक क्षमता र व्यवहार देखेर उपचारमा खटिएका डाक्टरहरू समेत छक्क परेका थिए।

a073638d-0076-4051-b7a4-3487146e8361_3b728f8b

उनको विगतको कथा पनि उत्तिकै प्रेरणादायी र रोचक छ। यिङ्जीलाई सानै उमेरदेखि नै सुन्दर र फेशनेबल देखिन मन पर्थ्यो, तर उनी कहिल्यै पनि पेसागत मोडल वा अभिनेत्री बनिनन्। उनले आफ्नो करियरको सुरुवात एक नर्सरी निर्देशकका रूपमा गरेकी थिइन्, जहाँ उनले आफ्नो तलबको केही हिस्सा सहकर्मीहरूलाई सहयोग गर्नमा खर्च गर्थिन्। 

सन् १९८० को दशकमा उनी श्रीमान् र छोराका साथ जापान गइन्। त्यहाँ उनले सुरुमा रेस्टुरेन्टमा सामान्य कामदारका रूपमा काम गरिन् र पछि आफ्नै चिनियाँ रेस्टुरेन्ट खोल्न सफल भइन्। उनी निकै फेशनेबल र आकर्षक व्यक्तित्वकी धनी भएका कारण एक पटक जापानी पत्रिकामा उनको तस्बिर र कथा समेत छापिएको थियो।

जापानबाट चीन फर्किएपछि उनले घरजग्गा तथा सम्पत्ति लगानीमार्फत ठूलो आर्थिक सफलता हासिल गरिन्। आफूले कमाएको सम्पत्तिबाट उनले करोडौँ युआन परोपकारी कार्य र सामाजिक सेवामा दान समेत गरिन्। उमेर ढल्किँदै गए पनि उनको फेसनप्रतिको भोक मरेन। 

७० वर्षको उमेर पुगेपछि उनी ‘बेइजिङ फेसन ग्रान्डीज क्रु’ नामक समूहमा आबद्ध भइन्। ६५ वर्षभन्दा माथिका महिलाहरू मात्र आबद्ध यस समूहले सडक प्रदर्शन र लाइभ स्ट्रिममार्फत मानिसहरूमा आत्मविश्वास जगाउने र सकारात्मक बुढ्यौलीको सन्देश फैलाउने काम गर्छ। पछि उनले साङ्घाई डिज्नील्यान्डमा आयोजित फेसन शोमा र्‍याम्प वाक गर्दै आफ्नो बाल्यकालदेखिको सपना समेत पूरा गरिन्।

उमेरलाई कहिल्यै पनि अगाडि बढ्नका लागि बाधा नभई एउटा शक्तिका रूपमा लिनुपर्ने यिङ्जीको बुझाइ छ। आफ्नो बलियो आत्मबल र स्वास्थ्यका कारण उनले आफू १२० वर्षको उमेरसम्म पनि यसरी नै सुन्दर र सक्रिय जीवन जिउने लक्ष्य राखेकी छन्। 

उनको यो अनौठो र ऊर्जावान कथाले अहिले चीनमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत धेरैको ध्यान तानेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई आत्मअनुशासन, सकारात्मक सोच र उच्च आत्मविश्वासको एक उत्कृष्ट उदाहरण भन्दै प्रशंसा गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप