शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने

नयाँ क्रियाशील सदस्यता वितरण कार्य असार २० गतेसम्म जारी रहने
शनिबार, ३० जेठ २०८३, २० : ०५
शनिबार, ३० जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशनलाई लक्षित गरी क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको समयसीमा थप गरेको छ ।
  • बारा, खोटाङ र दुर्गम हिमाली जिल्लाहरूका लागि असार ७ गतेसम्म सदस्यता अद्यावधिक गर्न सकिने निर्णय भएको छ ।
  • पार्टीले ३५ वर्षमुनिका युवाहरूलाई लक्षित गरी विशेष क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १५औं महाधिवेशनलाई लक्षित गरी केही स्थानमा क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको समयसीमा थप गर्ने निर्णय गरेको छ । 
पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा शनिबा।र बसेको बैठकले बारा, खोटाङ र दुर्गम हिमाली जिल्लाहरूसहित विभिन्न क्षेत्रका लागि नयाँ समयसीमा निर्धारण गरेको हो ।

बैठकले इन्टरनेटको पहुँच कम भएका उच्च हिमाली क्षेत्र, विकट पहाडी जिल्लाका केही पालिका तथा अद्यावधिक कार्यमा ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा आगामी असार ७ गतेसम्म सदस्यता अद्यावधिक गर्न सकिने निर्णय गरेको छ । यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि असार १० गते र नयाँ क्रियाशील सदस्यता वितरणका लागि असार २० गतेसम्मको समय तोकिएको छ ।
पार्टीको डिजिटल प्रणालीमा हालसम्म ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यहरूमध्ये ६ लाख ८७ हजार ९३१ जनाको विवरण प्रविष्ट भइसकेको छ । जसमध्ये ५ लाख ३८ हजार ६२२ जनाले डिजिटल परिचयपत्र प्राप्त गरिसकेका छन् । 

बाँकी रहेका फारामहरू आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न वडा तहलाई निर्देशन दिइएको छ । तोकिएको समयमा वडाबाट अनुमोदन नभएमा केन्द्रले नै स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइने समितिका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 
पार्टीलाई युवामैत्री बनाउने उद्देश्यले विधानको व्यवस्थाअनुसार ३५ वर्षमुनिका युवाहरूलाई लक्षित गरी विशेष क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गरिने निर्णयसमेत कांग्रेसले गरेको छ । यस्तै, विषय विज्ञहरूर हाल विदेशमा रहेका पुराना सदस्यहरूको हकमा आवश्यक प्रमाणसहित आवेदन दिएमा असार २० गतेसम्म नवीकरण र अद्यावधिक गर्ने सुविधा दिइएको छ ।

विगतमा फाराम भरेर पनि डिजिटल प्रणालीमा प्रविष्ट हुन बाँकी रहेका नामावलीहरू असार ७ गतेभित्र प्रणालीमा राखिसक्न क्षेत्रीय सभापतिहरूलाई निर्देशन दिइएको छ । यस्तै, सदस्यता विवरणमा त्रुटि भएका सदस्यहरूका लागि असार १ गतेदेखि मसान्तसम्म प्रदेश अनुसारका छुट्टाछुट्टै इमेल ठेगानाहरू उपलब्ध गराई सच्याउने अवसर प्रदान गरिएको कांग्रेसले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप