रसायन शास्त्रमा विद्यावारिधि गरेका डा. आनन्द बहादुर चन्द प्राज्ञिक व्यक्तित्व हुन् । कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्द आफ्नो क्षेत्रका लागि मात्रै होइन सिङ्गो सुदूरपश्चिमको विकास लागि समर्पित भएको बताउँछन् ।
विगतमा बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर छँदा चन्दले शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रम निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्याएका थिए । त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका उपप्राध्यापकको जिम्मेवारी सम्हालिसकेका चन्द लामो समयदेखि नसर्ने रोगको रोकथाम तथा नियन्त्रण, सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण लगायत क्षेत्रमा सक्रिय अनुसन्धानकर्मी हुन् ।
बैतडीमा जन्मिएका चन्दको हालको ठेगाना धनगढी उपमहानगरपालिका– ८ कैलाली हो । रातोपाटीको सांसदसँग स्तम्भका लागि उनै चन्दसँग गरिएको कुराकानी-
म करिब–करिब चार पटक पुगिसकेँ ।
करिब–करिब सबै विषय– शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटन सबै क्षेत्रहरूमा के भइरहेको छ, संसार कहाँ छ, नेपाल कहाँ छ र सुदूरपश्चिम कहाँ छ भनेर नियालिरहेको हुन्छु । ती विषयमा अहिले म सबैभन्दा बढी सुदूरपश्चिममा केन्द्रित छु । किन सुदूरपश्चिम देशकै एउटा गरिब प्रदेश भयौँ ? किन सुदूरपश्चिममा १ सय जनामा ७० जना विद्यार्थी स्कुल छोडिरहेका छन् ? किन सुदूरपश्चिममा ३० हजारभन्दा बढीमा एक जना डाक्टर छ ? किन हाम्रो रोजगारीको क्षेत्रमा झन्डै १२ प्रतिशतदेखि बढी बेरोजगार छन् ? किन ६० प्रतिशत कृषकहरू कृषिमा काम गरेर पनि ३३ प्रतिशत जीडीपी छ ? किन सुदूरपश्चिमको प्रतिव्यक्ति आय अरू प्रदेशको भन्दा, नेपालको भन्दा कम छ ? यस्ता कुराहरूमा म बढी केन्द्रित छु ।
हामी नीति बनाउने मानिसले केही न केही तथ्याङ्कहरू हेर्नुपर्छ । मैले खानेपानीको कुरा गरेँ भने मैले कैलालीको कुरा त गर्छु नै, तथापि एउटा तथ्याङ्क के भन्न चाहन्छु भने नेपालमा खोलाको पानी पिउने जनसङ्ख्या ०.८% छ । तर देशभरिमै सबैभन्दा खोलाको बढी पानी पिउने जिल्ला हाम्रो सुदूरपश्चिममा छ, त्यो भनेको डोटी हो । भनेपछि मैले खानेपानीको समस्या उठाउँदा खेरि कैलालीसँगसँगै डोटीको पनि यो समस्या उठाउनुपर्छ भन्ने लागेर समग्र सुदूरपश्चिमको अवस्था के छ र हामीले कहाँनेर छौँ ? हाम्रोमा समस्या छ, त्यो समस्यालाई कसरी उजागर गर्ने भन्ने सोच्ने भएर मैले समग्र सुदूरपश्चिमको कुरा उठाउँछु ।
पर्यटनको कुरा गर्नुभयो, पर्यटनमा मैले सधैँभरि भन्दै आइरहेको छु, कैलालीमा जोखर ताल छ, बेहडाबाबा मन्दिर छ, कैलालीमा घोडाघोडी ताल छ । यी तालहरू, धार्मिक स्थलहरूको अति धेरै महत्त्व छ । तथापि कुनै मान्छे विदेशबाट आयो अथवा काठमाडौँबाट गयो भने पनि उहाँहरू घोडाघोडी ताल हेर्ने भन्दा पनि अपी सैपाल, रामा रोशन, रानीसैन, खप्तड, बडिमालिका हेर्न बढी रुचाउनु हुन्छ । त्यही भएर म के भन्छु भने हामीले साना–साना कुरालाई भन्दा पनि अलि ठुलो क्षेत्र, त्यसको कभरेज बढी हुने कुरालाई समेट्नुपर्छ ।
बैतडीको गुफा होस्, अपी सैपाल हिमाल होस् अथवा बडिमालिका होस्, रामा रोशन होस्, खप्तड होस्, हामीसँग प्रचुर मात्रामा सम्भावना बोकेका क्षेत्रहरू छन् । हामी पर्यटकीय सम्भावनालाई अझ धेरै नै उजागर गर्न सक्छौँ । अहिले विदेशबाट आउने पर्यटकहरूको बसाइ करिब–करिब १६ दिन छ । यदि सुदूरपश्चिममा मात्रै दुईदेखि तीन दिन लम्ब्याउन सक्नुभयो भने देशकै पर्यटकहरूको बसाइ १९ दिन पुग्छ । तीन दिन सुदूरपश्चिममा दिन सकियो भने पक्कै पनि सुदूरपश्चिमको पर्यटन मात्रै होइन, आर्थिक समृद्धिको ढोका पनि खुल्छ जस्तो लाग्छ ।
त्यो त गर्नै पर्यो । ऊर्जादेखि लिएर पर्यटन, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा केन्द्रित छौँ । कसरी सुदूरपश्चिममा पर्यटकहरूलाई लैजान सक्छौँ भन्ने कुरामा केन्द्रित भइरहेका छौँ ।
सुदूरपश्चिममा देशकै करिब–करिब ७ देखि ८ प्रतिशत जति बिजुली उत्पादन हुन्छ, त्यसको ७ देखि ८ प्रतिशतमा मात्रै हामी सीमित छौँ । त्यसको प्रमुख कारण हामीसँग ग्रिड नै छैन, ग्रिड अथवा ट्रान्समिसन लाइन छैन ।
हामीले सेती बनाउनु भन्दा पहिले सेतीको लागि ग्रिड कम्पनी स्थापना गर्नुपर्छ भनेर लबिङ गरेका थियौँ । त्यसपछि लम्कीदेखि बरेलीसम्म यदि हामीले ऊर्जा उत्पादन गर्यौँ र त्यसको लागि ट्रान्समिसन लाइन नभई निर्यात गर्न सक्दैनौँ भनेका थियौँ।
त्यसैले यी दुइटा कुरालाई हामीले प्राथमिकतामा राखेका छौँ । भोलिको दिनमा साना–साना जलविद्युत योजनाहरू जुन ५० मेगावाटदेखि १ सय मेगावाट, २ सय मेगावाट छन्, ती पनि अगाडि बढाउँछौ । तर पश्चिम सेती जुन ७ सय ५० मेगावाट भनेको छ, कर्णाली १ हजार मेगावाटभन्दा बढी छ, तिनीहरूलाई अगाडि बढाउने र कर्णालीमा संसारकै लङ्गेस्ट ह्वाइट वाटर र्याफ्टिङ (२ सय किलोमिटर भन्दा बढीको ह्वाइट वाटर र्याफ्टिङ) चलाएर हामीले विश्वभरिका मान्छेलाई नेपाल ल्याउनुपर्छ भन्नेमा लागेका छौँ ।
कक्षाकोठा र अनुसन्धान गर्दाखेरि आफूमा मात्रै सीमित भइन्थ्यो । अहिले संसदमा पुगिसकेपछि धेरै मानिसहरूसँग संवाद हुने, अन्तरक्रिया हुने र देशकै नीति निर्माण कसरी राम्रो गर्न सकिन्छ, शिक्षा, रोजगारी अथवा अरूमा पनि कसरी राम्रो गर्न सक्छौँ भनेर लागि परिरहेको भएर पक्कै यसको योगदान आफ्नो सीमित कक्षाकोठा र अनुसन्धान भन्दा योगदान बढी भएको अनुभव गरेको छु मैले ।
सबैभन्दा पहिले देशकै शिक्षा नीति, अनुसन्धानमा देशलाई कसरी अगाडि बढाउने, स्वास्थ्यमा देशको जुन अहिलेको अवस्था छ त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुरामा केन्द्रित छु । तर सँगसँगै सुदूरपश्चिम अहिले ३४.१६ प्रतिशत गरिबी छ ।
त्यसलाई यो पाँच वर्षमा कमसेकम २० प्रतिशतमा ल्याउने, १७–१८ प्रतिशतमा, १५ प्रतिशतमा ल्याऔँ भनेर काम गरिरहेका छौँ । त्यही अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटनहरूमा चाहिँ हामी लागिपरिरहेका छौँ ।
हामी इमानदार प्रयास गरिरहेका छौँ । एकै दिनमा सबै कुराहरूको समस्याको समाधान गर्न सकिँदैन । इमानदार प्रयास गरिरहेको छु । म मात्रै होइन, हामी सुदूरपश्चिमकै सांसदहरू सुदूरपश्चिम कसरी अगाडि बढाउने भनेर लागिरहेका छौँ । यसमा म पक्कै पनि अहम् भूमिका खेल्नेछु र सुदूरपश्चिमलाई गौरव गर्न लायक प्रदेश बनाउने योजना छ । हामी सबै लाग्नुपर्छ भन्न चाहन्छु ।
प्रतिक्रिया