आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
स्थानीय सरकार

एउटै वडाले बनायो २२ किलोमिटर सडक कालोपत्रे

आइतबार, ३१ जेठ २०८३, १२ : ०१
आइतबार, ३१ जेठ २०८३

सारांश

  • विराटनगर महानगरपालिका-१९ ले विगत चार वर्षमा करिब २०-२२ किलोमिटर सडक कालोपत्रे गरेको छ।
  • सो वडाले स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि उल्लेखनीय सुधार ल्याएको छ, जसमा नगरस्तरीय आधारभूत अस्पताल र सामुदायिक विद्यालयहरूको स्तरोन्नति समावेश छ।
  • सुकुम्बासी समस्या समाधानका लागि वडाले सरकारी जग्गामा एकीकृत बस्ती बसाउने योजना अघि सारेको छ।

विराटनगर । विराटनगर महानगरपालिकाभित्र विकासको दृष्टिकोणले निकै पछाडि पारिएको क्षेत्र मानिन्थ्यो झापा बैजनाथपुर अर्थात् महानगरपालिकाकै वडा नम्बर १९ । महानगरमा ढिलो गरी जोडिएका कारण यस वडाले लामो समयसम्म उपेक्षा र पूर्वाधारको अभाव झेल्नुपर्‍यो ।

चार वर्ष अगाडिसम्म यहाँका सडक वर्षा याममा हिलो र हिउँदमा धुलोले पुरिने गर्थे भने स्वास्थ्य र शिक्षाको अवस्था अत्यन्तै दयनीय थियो, तर स्थानीय निर्वाचनपश्चात् जननिर्वाचित प्रतिनिधिहरूको सक्रियताले अहिले विराटनगर–१९ ले विकासमा प्रगति गरेको छ ।

विगतमा विराटनगर–१९ मा हिँड्न योग्य सडकका नाममा मिलनचोक–महेशपुर सडक खण्डमात्र थियो । त्यो पनि जीर्ण अवस्थामा । यतिबेला सडक पूर्वाधारको क्षेत्रमा सो वडामा ठुलो परिवर्तन आएको छ । ‘हामी निर्वाचित भएर आएपछि वडाको विकासलाई प्राथमिकतामा राखेर काम सुरु गर्‍यौँ । विगतमा एउटामात्र सडक जीर्ण अवस्थामा रहेको यस वडामा अहिले करिब २० देखि २२ किलोमिटर सडक पिच (कालोपत्रे) भइसकेको छ,’ वडाध्यक्ष श्याम घिमिरेले भने ।

यसका साथै सडकको स्थायित्व र संरक्षणका लागि लगभग ४५ देखि ५० किलोमिटर क्षेत्रमा रिटेनिङ वाल (पर्खाल) निर्माण गरिएको र ग्राभेलिङको कामलाई तीव्रता दिएर वडालाई लगभग हिलोमुक्त बनाउन सफल भएको उनको भनाइ छ ।

नयाँ प्लटिङ क्षेत्रहरूमा जथाभावी खनिएका सडकहरू वडाका लागि चुनौती बने पनि योजनाबद्ध रूपमा नाला, कल्भर्ट र सडक स्तरोन्नति गरेर सडक सञ्जाललाई व्यवस्थित बनाइएको छ ।

विराटनगर–१९ मा भएको सबैभन्दा ठुलो र प्रशंसनीय कार्य स्वास्थ्य क्षेत्रको स्तरोन्नति हो । सामान्य उपचारका लागि पनि विराटनगरको मुख्य बजारका महँगा अस्पताल धाउनुपर्ने स्थानीयको बाध्यतालाई वडा कार्यालयले सदाका लागि अन्त्य गरिदिएको छ । विगतको सामान्य स्वास्थ्य चौकीलाई अहिले महानगरपालिकाकै उत्कृष्ट ‘नगरस्तरीय आधारभूत अस्पताल’ का रूपमा विकास गरिएको छ ।

Biratnaar 19 (2)

‘स्वास्थ्य क्षेत्रमा हामीले ठुलो फट्को मारेका छौँ । बैजनाथपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी आधारभूत अस्पताल बनाइएको छ, जहाँ अहिले चौबीसै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा (बर्थिङ सेन्टर), आधुनिक प्रयोगशाला (ल्याब) र नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममार्फत निःशुल्क औषधि र उपचारको व्यवस्था गरिएको छ,’ वडा अध्यक्ष घिमिरेले भने । अस्पतालमा एमबीबीएस डाक्टर चौबीसै घण्टा उपलब्ध छन् । एम्बुलेन्सको व्यवस्था समेत उपलब्ध छ । यो सेवा लागु भएपछि विपन्न र निम्न वर्गीय परिवारले आफ्नै वडामा स्वास्थ्य सेवा पाउन थालेको घिमिरे बताउँछन् ।

वडाभित्र सञ्चालित ४ वटा सामुदायिक विद्यालयको अवस्था विगतमा अत्यन्तै कमजोर थियो । भौतिक संरचना जीर्ण हुनुका साथै विद्यार्थीको उपस्थिति न्यून थियो । तर, वडा कार्यालयले विद्यालय व्यवस्थापन समितिसँग निरन्तर सहकार्य गरी विद्यालयहरूको भौतिक तथा प्राविधिक पूर्वाधारमा व्यापक सुधार ल्याएको छ ।

अहिले वडाका केही सामुदायिक विद्यालयहरूमा शुद्ध खानेपानीका लागि फिल्टर जडान गरिएको छ । सञ्चार र सुरक्षाका लागि इन्टरनेट र सीसीटीभी क्यामेरा जडान गरिएका छन् । ‘हिजो विद्यालयहरूमा बालबालिका पढ्न आउने वातावरण थिएन । आज शैक्षिक सामग्रीको उपलब्धता, भौतिक संरचनाको पुनर्निर्माण र पठनपाठनको वातावरण सुधारिएपछि विद्यालयहरू हराभरा देखिन थालेका छन् । हाम्रा दुई वटा सामुदायिक विद्यालयहरू अङ्ग्रेजी माध्यममा सञ्चालित छन् र उनीहरूले नमूना विद्यालयका रूपमा पहिचान बनाउँदै लगेका छन्,’ वडाध्यक्ष घिमिरेले भने ।

वडाले घरदैलो कार्यक्रम र अभिभावक सचेतना अभियान सञ्चालन गरेर निजी विद्यालयमा भर्ना भएका विपन्न वर्गका बालबालिकाहरूलाई पुनः सामुदायिक विद्यालयमा ल्याउन सफल भएको वडा सदस्य लक्ष्मण सरदार र निजनारायण राजवंशीले बताए ।

विराटनगर–१९ को सबैभन्दा जटिल र संवेदनशील समस्या भनेको सुकुमबासी बस्तीको व्यवस्थापन हो । वडामा करिब १ हजार घरधुरी सुकुमबासी परिवार छन्, जो वर्षौंदेखि आवास र जमिनको अधिकारबाट बञ्चित छन् ।

यस समस्याको दीर्घकालीन समाधानका लागि सरकारी जग्गालाई सदुपयोग गर्दै मन्त्रिपरिषद्बाट निर्णय गराएर भूमिहीनहरूलाई लालपुर्जा उपलब्ध गराउनुपर्ने वडाध्यक्ष घिमिरेले बताए ।

‘हामीसँग पर्याप्त सरकारी जग्गा छ । यसलाई क्याबिनेट निर्णय गराएर स्थानीयको भोगचलनका आधारमा जग्गा धनी प्रमाणपूर्जा दिलाउने र त्यहाँ एउटा सुविधासम्पन्न नमुना एकीकृत बस्ती बसाल्ने हाम्रो योजना छ । यस बस्तीभित्र खेल मैदान, विद्यालय, व्यवस्थित सडक र सरसफाइको पूर्ण प्रबन्ध हुनेछ । यस बृहत् संरचना निर्माणका लागि संघीय र प्रदेश सरकारबाट करिब ५० करोड रुपैयाँ बजेट आवश्यक पर्छ, जसका लागि हामीले निरन्तर पहल गरिरहेका छौँ,’ घिमिरेले भने । यो योजना सफल भएमा सुकुमबासी समुदायको जीवनस्तरमा ऐतिहासिक सुधार आउने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप