असार १ गतेदेखि चिया उद्योग बन्द हुने
सारांश
- भारतले चिया आयातमा कडाइ गरेपछि इलामका अधिकांश चिया उद्योग असार १ गतेदेखि बन्द हुने भएका छन् ।
- सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन नेपालका अनुसार भारतीय टी बोर्डले स्ट्यान्डर्ड अपरेटिंग प्रोसिजर जारी गरेपछि नेपाली चिया निर्यातमा बाधा पुगेको छ ।
- गुणस्तर जाँचको बहानामा २ लाख किलो भन्दा बढी तयारी चिया भारतीय गोदाममै थन्किएको र किसानको भुक्तानी गर्न नसक्दा उद्योग बन्द गर्नुपरेको छ ।
विराटनगर । भारतले चिया आयातमा कडाइ गरेपछि इलामका अधिकांश चिया उद्योग बन्द हुने भएका छन् । देश भरको चिया उद्योगीहरूको संस्था सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन नेपालले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी आउँदो असार १ गते देखि चिया उद्योगहरू बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आएको जनाएको छ ।
विज्ञप्तिमा भारतीय टी बोर्डले स्ट्यान्डर्ड अपरेटिंग प्रोसिजर जारी गरेपछि नेपाली चिया निर्यातमा ठुलो बाधा पुगेको उल्लेख छ । विज्ञप्तिमा जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको २ लाख किलो भन्दा बढी तयारी चिया भारतीय गोदाममै थन्किएको र नमुना परीक्षणका लागि लगिएको चियाको महिना दिन सम्म रिपोर्ट नदिएको जनाइएको छ ।
यदि उक्त नमुनाको रिपोर्ट गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियम थपिएको उल्लेख गरिएको छ ।
यस्तो परिस्थितिमा उद्योगहरूले किसानको चियाको भुक्तानी समेत गर्न नसकेको कारण उद्योगहरू बन्द गर्न बाध्य भएको जनाइएको छ । अहिले नेपालका उद्योगहरूमा दश लाख किलो भन्दा बढी तयारी चिया रहेको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण