आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ

आइतबार, ३१ जेठ २०८३, १३ : ४५
आइतबार, ३१ जेठ २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले शारीरिक, मानसिक र आत्मिक स्वस्थ जीवनशैली प्रवर्धन गर्न आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम र ध्यानमा जोड दिने भएको छ।
  • साँघुरा सडक र सवारी चापलाई मध्यनजर गर्दै महानगरले निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिनुका साथै बाइक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।
  • विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार गर्ने व्यवस्थालाई कडाइकासाथ लागू गरिनेछ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न महानगर अस्पताल निर्माण गरिनेछ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यान मार्फत शारीरिक, मानसिक, आत्मिक स्वस्थ जीवनशैली पद्धतिको प्रवर्धन गर्ने भएको छ । 

महानगरले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम यो उल्लेख गरेको हो । ‘निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘महानगरवासीको मिर्गौला रोगको उपचारका लागि डायलसिस सेवालाई सहजीकरण गरिनेछ। मातृ शिशु तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ। सार्वजनिक स्थानमा ‘स्तनपान र हेरचाह ब्लकहरू’ सेवाको व्यवस्थापन गरिनेछ। 

महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूको नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहको लागि प्रोत्साहन गरिनेछ। साथै विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार गर्ने व्यवस्थालाई कडाइकासाथ लागु गरिनेछ ।’

महानगरवासीलाई गुणस्तरीय र विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्न महानगर अस्पताल निर्माण गर्ने, परिवर्तित जीवनशैलीका कारण तीव्र रूपमा उत्पन्न मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याउने, ज्येष्ठ नागरिकहरूका लागि निमोनिया खोप, महानगरवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा नियमित सेवा र आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने कुरालाई पनि महानगरपालिकाले प्राथमिकतामा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप