सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा हरेक शुक्रबारलाई ‘बुक फ्रि डे’का रूपमा सञ्चालन गर्न थालेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ।
विद्यार्थीलाई व्यावहारिक ज्ञान र नैतिक शिक्षामा अब्बल बनाउने उद्देश्यले सामुदायिक विद्यालयमा विभिन्न सिर्जनशील कार्यक्रमहरू सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिएका छन्।
राष्ट्रिय सञ्चार केन्द्र नेपालले आइतबार आयोजना गरेको वडागत विकास तथा सामाजिक कार्यको स्थलगत अवलोकन कार्यक्रममा बोल्दै प्रवक्ता आचार्यले भने, ‘हामीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक र जीविकोपार्जनसँग सम्बन्धित शिक्षा दिन सुरु गरेका छौँ। शुक्रबारलाई बुक फ्रि डे बनाएर फरक ढङ्गबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिरहेका छौँ।’
उनले अचेल सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको दाबी गरे। विद्यार्थीको चाप अत्यधिक बढिरहेकाले अहिले सामुदायिक विद्यालयमा भर्ना नै नपाउने अवस्था बनेको उनको भनाइ छ। मध्यपुरथिमि नगरपालिका–३ का वडाध्यक्षसमेत रहेका आचार्यले वडा कार्यालयले भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक सुरक्षा, स्वास्थ्योपचार, शिक्षा तथा अन्य जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।
नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउन विश्व खाद्य कार्यक्रमसँगको साझेदारीमा केन्द्रिकृत भान्छाघर (एकीकृत किचन) सञ्चालन गरी विद्यार्थीलाई गुणस्तरीय दिवा खाजा खुवाउँदै आइरहेको छ। त्यसका लागि नगरपालिकाले ‘केन्द्रिकृत भान्छाघर सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ समेत कार्यान्वयनमा ल्याएको छ। प्रत्येक विद्यालयमा दिवा खाजा तयारीका लागि अलगअलग भान्छाको व्यवस्था गर्दा समय, श्रम र लागत बढ्ने तथा खाजाको गुणस्तरमा एकरूपता कायम गर्न कठिन हुने भएकाले एकीकृत भान्छाघर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
यो गुणस्तरीय दिवा खाजा कार्यक्रमले अभिभावक र विद्यार्थीलाई ठूलो राहत मिलेको प्रवक्ता आचार्यले बताए। उनले भने, ‘यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकका लागि आफ्ना छोराछोरीलाई के खाजा पठाउने भन्ने चिन्ता हटेको छ।’
यो कार्यक्रमबाट सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास कक्षा (इसिडी) देखि कक्षा ५ सम्म अध्ययनरत करिब दुई हजार आठ सय विद्यार्थीहरू लाभान्वित भएका छन्। विद्यार्थीलाई दैनिक फरक–फरक पोषणयुक्त खाजा खाद्य निरीक्षकको प्रत्यक्ष निगरानीमा वितरण गरिँदै आइएको छ।
यस कार्यक्रमले बालबालिकाको पोषण, स्वास्थ्य तथा विद्यालय उपस्थितिमा निकै सकारात्मक प्रभाव पारिरहेको नगरपालिकाको दाबी छ। शिक्षा क्षेत्रमा लगानी बढाउँदै लगेको नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छ हजार पाँच सयभन्दा बढी विद्यार्थीको दुर्घटना बिमा गर्ने कार्यक्रमसमेत अघि सारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण