सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
सारांश
- उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेशप्रसाद काफ्लेले काठमाडौँको ट्राफिक प्रणालीमा सुधार नगरे दुई वर्षभित्र सडकमा हिँड्न नसकिने अवस्था आउने चेतावनी दिएका छन् ।
- ट्राफिक नियम उल्लंघन गर्नेलाई हालको जरिवाना न्यून भएको भन्दै उनले ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरेका छन् ।
- एसएसपी काफ्लेले म्यानुअल ट्राफिक व्यवस्थापनलाई विस्थापित गरी एआई जेनेरेटेड इन्टिग्रेटेड ट्राफिक लाइट प्रणाली लागू गर्न, ड्यासबोर्ड क्यामेरा अनिवार्य गर्न र स्क्र्याप पोलिसी ल्याउन सुझाव दिएका छन् ।
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले काठमाडौँ उपत्यकाको विद्यमान ट्राफिक प्रणालीमा तत्काल सुधार नगरे आगामी दुई वर्षभित्र सडकमा हिँड्न समेत नसकिने भयावह अवस्था आउने चेतावनी दिएका छन् ।
सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा 'सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन' सम्बन्धी प्रस्तुति गर्दै एसएसपी काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रविधिमैत्री नहुँदा समस्या जटिल बन्दै गएको बताए ।
एसएसपी काफ्लेका अनुसार नेपालमा हाल करिब ६५ लाख सवारी साधन दर्ता भएकामा काठमाडौँ उपत्यकामा मात्रै दैनिक औसत २० लाख सवारी साधन गुड्ने गरेका छन् । यति ठूलो सङ्ख्यामा रहेका सवारी साधन व्यवस्थापनका लागि देशभर जम्मा २५ सय देखि २६ सयको हाराहारीमा मात्रै ट्राफिक प्रहरी परिचालन हुनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे ।
त्यस्तै, हरेक दिन औसत २ हजार देखि ३५ सय भारतीय सवारी साधन नेपाल भित्रिने गरेको र ती गाडीहरूको भारवहन क्षमताको उचित अनुगमन हुन नसक्दा सडक छिट्टै बिग्रने गरेको उनको भनाइ छ ।
ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न एसएसपी काफ्लेले जरिवाना रकममा भारी वृद्धिको प्रस्ताव गरे । 'अहिलेको ५ सय र १ हजार जरिवाना ज्यादै न्यून भयो, यसले कसैलाई डर भएन,' उनले भने,'नियम उल्लंघन गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था आवश्यक छ ।'
हाल काठमाडौँका सडकमा भइरहेको म्यानुअल (हातको इसारा) ट्राफिक व्यवस्थापनलाई विस्थापित गरी एआई जेनेरेटेड इन्टिग्रेटेड ट्राफिक लाइट 'प्रणाली लागू गर्न उनले सुझाव दिए । यसका लागि करिब १५ देखि २० अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।
'अहिलेका ट्राफिक लाइटहरू एकआपसमा सिङ्क्रोनाइज छैनन्, जसले गर्दा जाम व्यवस्थापनमा कठिनाइ भएको छ,' काफ्लेले भने, 'प्रविधिमा लगानी नगर्ने हो भने केही समयपछि एम्बुलेन्स समेत समयमा अस्पताल पुग्न नसक्ने अवस्था आउँछ ।'
दुर्घटनाको वास्तविक प्रमाण जुटाउन र विवाद अन्त्य गर्न सार्वजनिक तथा निजी सवारीमा ड्यासबोर्ड क्यामेरा अनिवार्य गर्नुपर्ने बताए । साथै नाकाहरूमा डिजिटल इन्टिग्रेटेड चेकपोष्ट र सरकारी तवरबाटै सवारी तौलने 'धर्मकाँटा' को व्यवस्था गर्नुपर्ने,पुराना र म्याद सकिएका गाडीहरूलाई सडकबाट हटाउन तत्काल 'स्क्र्याप पोलिसी' ल्याउनुपर्ने उनकाे भनाइ छ ।
विद्यालयको पाठ्यक्रममै ट्राफिक नियम समावेश गर्ने तथा ट्राफिक निगरानीका लागि ड्रोन र रोबोटको प्रयोग बढाउने बताए ।
एसएसपी काफ्लेले रुट इजाजत दिँदा सडकको क्षमता र बनोटलाई ध्यान नदिइने परिपाटीले पनि जाम बढाएको तर्क गरे। उनले ट्राफिक प्रहरीको मात्रै भर नपरी पूर्वाधार निर्माण र प्रविधिमा लगानी बढाउन सरकार र सरोकारवाला निकायसँग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल
-
तेस्रो ध्रुवको हिमनदी पग्लँदै : एसियाको जलसुरक्षामा बढ्दो जोखिम
-
कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र बोर्ड हटाउन निर्देशन
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
-
फ्रान्सेली पत्रकार अल्जेरियाको जेलमा : विश्वकपका हरेक खेलमा एउटा सिट खाली राखेर ऐक्यबद्धता
-
जापानको ब्याजदर ३१ वर्षयताकै उच्च स्तरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण