शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि, ३३ विद्यालयका ४८ टोली भिड्ने

शुक्रबार, ०५ असार २०८३, १३ : २९
शुक्रबार, ०५ असार २०८३

सारांश

  • काठमाडौँको श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) ले १० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आयोजना गर्दैछ ।
  • प्रतियोगितामा ३३ विद्यालयका ४८ टोलीले सिनियर ब्वाइज, जुनियर ब्वाइज र गर्ल्स गरी विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।
  • शनिबारदेखि सुरु हुने दुई दिने प्रतियोगिताका लागि करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

काठमाडौँ । काठमाडौँको बसुन्धरास्थित श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा १० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । 

टोखा नगरपालिका वडा नम्बर ५ मा रहेको आयोजक विद्यालयकै आफ्नै कोर्टमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा कुल ३३ वटा विद्यालयका ४८ वटा टिमले सहभागिता जनाउने भएका छन् । स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगितालाई विभिन्न विधामा विभाजन गरिएको छ । जस अन्तर्गत सिनियर ब्वाइजतर्फ २४ टिम तथा जुनियर ब्वाइज र गर्ल्सतर्फ समान १२–१२ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यसपटकको प्रतियोगितामा सिनियर ब्वाइजतर्फ टीआईए, जुनियर ब्वाइजतर्फ पारामाउन्ट एकेडेमी र गर्ल्सतर्फ भ्याली पब्लिक स्कुल डिफेन्डिङ च्याम्पियनको रूपमा मैदान उत्रँदै छन् । दुई दिनसम्म चल्ने यो बास्केटबल उत्सवलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता संयोजक सागर शर्माले जानकारी दिएका छन् ।

खेल तालिका अनुसार पहिलो दिन शनिबार सिनियर ब्वाइजतर्फ प्रिक्वाटरफाइनलसम्मका खेलहरू सञ्चालन हुने छन् । त्यसै गरी जुनियर ब्वाइज र गर्ल्सतर्फ क्वाटरफाइनल चरणसम्मका खेलहरू सम्पन्न गरिने स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप