आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श

आइतबार, ०७ असार २०८३, १९ : २३
आइतबार, ०७ असार २०८३

काठमाडाैँ । अर्घाखाँची जिल्लामा अवस्थित ऐतिहासिक र प्राज्ञिक स्थल पाणिनि तपोभूमिलाई संरक्षण सम्बर्द्धन र प्रचारप्रसार गर्नका लागि राजधानीमा बृहत्  भेला र विमर्श सम्पन्न भएको छ । 

पाणिनि तपोभूमि व्यवस्थापन संरक्षण तथा सम्बर्द्धन समितिको आयोजनामा यस्तो कार्यक्रम भएको हो ।  

कार्यक्रमका प्रमुख अतिथि आध्यात्मिक अगुवा चैतन्य कृष्णले पाणिनि र पाणिनि तपोभूमि संरक्षण र सम्बर्द्धनमा विशेष कदम चाल्दै यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्नु पर्ने बताए । 

सो अवसरमा पाणिनिको ज्ञानभार र पाणिनि तपोभूमिको महत्त्व तथा संवर्द्धनका उपायहरूबारेमा प्रा.डा.भागवत ढकाल, संरक्षण अगुवाहरू रामप्रसाद भट्टराई , धनञ्जय पौडेल र इन्द्र पछाइले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा तपोभूमि व्यवस्थापन संरक्षण तथा सम्बर्द्धन समितिका संरक्षक बाबा योगिराज, समितिका अन्तर्राष्ट्रिय संयोजक नेत्र बन्धु पोखरेल, साहित्यकार एवम् पूर्वमन्त्री प्रदीप ज्ञवाली, पूर्व राजदूत दीपकुमार उपाध्याय, प्राध्यापक बिमला शर्मा, प्रा.डा.होमनाथ भट्टराई, प्रा.डा.गोबिन्द बोल श्रेष्ठ, डा.राजु अधिकारी,पूर्व प्रशासक कृष्ण ज्ञवाली, दिनेशमणि घिमिरे, रुद्र प्रसाद पोखरेल, विष्णु पोखरेल, प्रकाश खड्का, राम कार्की लगायतका प्राज्ञिक, सामाजिक र राजनीतिक व्यक्तित्वहरूले बोलेका थिए ।

पाणिनिको ज्ञान आर्जन र वाग्मय इतिहास जोडिएको तपोभूमिको संरक्षण र प्रचारप्रसारका लागि २०७५ सालमा नेपाल सरकार तत्कालीन मन्त्रिपरिषद्ले उक्त स्थानलाई एक सय नयाँ पर्यटकीय गन्तव्यमा सूचिकृत गरेको थियो । २०८१ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पाणिनि सम्मेलनबाट सात बुँदे घोषणापत्र जारी भएको थियो ।

यसैबिच यसै सन्दर्भमा पाणिनि तपोभूमि संरक्षण तथा सम्बर्द्धन काठमाडौँ उपत्यका समन्वय समिति गठन भएको छ । उक्त समितिको संयोजकमा प्रा.डा. मोहन पन्थी र सहसंयोजकमा पूर्व प्रशासक धनञ्जय पौडेल तथा संरक्षण अगुवा रामप्रसाद भट्टराई रहेका छन्। 

डा.बिदुर बस्ती महासचिव, यदुनाथ पोखरेल सचिव र दीपकराज गौतम कोषाध्यक्ष रहेको समितिमा  सामाजिक र प्राज्ञिक क्षेत्रमा आबद्धता र रुचि भएका फरक फरक क्षेत्रका २३ जना सदस्य रहेका छन्। 

समितिले तपोभूमिमा गुरुयोजना अनुसार अहिलेसम्म भएका कामको अवस्था अध्ययन, स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वयात्मक भूमिका निर्माण, दीर्घकालीन रणनीति तयारी जस्ता योजनाहरू बनाउने छ। 

समितिमा आध्यात्मिक अभियन्ता चैतन्य कृष्ण, प्रा.डा.होमनाथ भट्टराई, प्रा.डा. जयराज आचार्य, कूटनीतिज्ञ कुलचन्द्र गौतम, राजनीतिज्ञहरू प्रदीप ज्ञवाली, पुष्पा भुसाल, दीपकुमार उपाध्याय,पूर्वप्रहरी महानिरीक्षक वसन्त कुँवर, पूर्व मानार्थ रथी यादवबहादुर रायमाझी, डा.ध्रुव भट्टराई, डा.चिरञ्जीवी भट्टराई, नेत्रबन्धु पोखरेल, पूर्व सचिव कृष्ण ज्ञवाली, डा.मनोज थापा लगायत सल्लाहकार रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप