नागढुंगा–मुग्लिन सडक विस्तार : दोस्रो म्याद सकिनै लाग्यो, सकिएन काम
सारांश
- नागढुंगा-मुग्लिन सडक विस्तारको काम म्याद सकिन लाग्दा पनि सम्पन्न हुन नसक्दा यात्रुहरूले सास्ती भोग्नुपरिरहेको छ ।
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि, बिटुमिन अभाव र विद्युतका पोल सार्ने काममा ढिलाइ जस्ता कारण देखाउँदै आयोजनाले पुनः म्याद थप्ने तयारी गरेको छ ।
- पूर्वी खण्डको पहिलो प्याकेजमा ८८ प्रतिशत र दोस्रो प्याकेजमा ५९ प्रतिशत भौतिक प्रगति भएको छ भने पश्चिम खण्डमा ४३ प्रतिशत प्रगति भएको छ ।
काठमाडौँ । संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य ‘लाइफलाइन’ मानिएको नागढुंगा–मुग्लिन सडक खण्ड विस्तार कार्यमा चरम ढिलाइ भएको छ । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा यस सडक खण्डमा यात्रा गर्ने सर्वसाधारणले लामो समयदेखि सास्ती भोग्नुपरिरहेको छ ।
पछिल्लो पटक थपिएको म्यादसमेत घर्किनै लाग्दा भौतिक प्रगति निराशाजनक देखिएको छ । मुख्य राजमार्गको विस्तार कार्य लामो समयसम्म लम्बिँदा सर्वसाधारणले सास्तीमात्र भोग्नुपरेको छैन, देशकै आर्थिक गतिविधिलाई समेत यसले प्रत्यक्ष असर पुर्याएको छ ।
यस्तो अवस्थामा निर्माण पक्षलाई जबाफदेही बनाउनुको सट्टा आयोजनाले फेरि पनि म्याद थप्ने तयारी थालेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, बिटुमिन अभाव र विद्युतका पोल सार्ने काममा भएको ढिलाइलाई मुख्य कारण देखाउँदै पुनः म्याद थपको प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ ।
करिब ९५ किलोमिटर लामो यो सडकलाई विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार गरिँदैछ । नागढुंगादेखि नौबिसेसम्मको १२.२६ किलोमिटर त्रिभुवन राजपथमा पर्छ भने नौबिसेदेखि मुग्लिनसम्मको खण्ड पृथ्वी राजमार्ग अन्तर्गत पर्ने यो सडक पछिल्लो पाँच वर्ष यता विस्तारका क्रममा छ ।
_PwbNz0Xd9q.jpg)
कुनै खण्डमा दोस्रो पटक थपिएको म्यादभित्रसमेत काम सम्पन्न हुन सकेको छैन भने कुनैमा पहिलो म्याद सकिएर दोस्रो म्याद थप्नुपर्ने भएको छ । पटक–पटकको म्यादमा सम्पन्न हुन नसकेको यस खण्ड अनुगमनका क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गत साता निर्धारित समयमा बिजुलीको पोल नसारेको भन्दै निर्माण व्यवसायीका खुट्टा भाँच्ने अभिव्यक्तिसमेत दिएका थिए । उक्त अभिव्यक्ति सडकदेखि सदनसम्म चर्चा पाएको थियो ।
- पूर्वी खण्डको पहिलो प्याकेज ८८ प्रतिशत, दोस्रो ५९ प्रतिशतमा सीमित
नागढुंगा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा निर्माण कार्यले गति लिएको छ । आयोजनाका इन्जिनियर केशवप्रसाद ओझाका अनुसार सडक विस्तारको पहिलो प्याकेज (नागढुंगा–नौबिसे) मा करिब ८८ प्रतिशत र दोस्रो प्याकेज (नौबिसे–मलेखु) मा करिब ५९ प्रतिशत भौतिक प्रगति भएको छ ।
यस्तै सडक विस्तारका क्रममा अवरोध बनेका पोलहरू सार्ने काम प्रक्रियामा छ भने कालोपत्रेको काम पनि तीव्रताका साथ अघि बढिरहेको छ ।
इन्जिनियर ओझाका अनुसार सडक विस्तारका लागि अझै करिब ७५ वटा पोल सार्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको सम्झौताअनुसार पोल सार्ने जिम्मेवारी प्राधिकरणको र त्यसको लागत आयोजनाले ब्यहोर्ने गरी समझदारी भएको थियो । लामो समयदेखि पोल सार्ने काममा ढिलाइ हुँदा आयोजनाको कार्यतालिका प्रभावित बनेको जनाएको छ ।
यस्तै यो खण्डमा अहिले कालोपत्रेको कामले गति लिएको छ । विशेषगरी घाटबेंसी र धार्के क्षेत्रबाट कालोपत्रे सुरु भइसकेको छ । पूर्वी खण्डमा करिब २० किलोमिटर सडक अझै कालोपत्रे गर्न बाँकी रहेकोमा ९ किलोमिटर जति सडकको बेस तयार भइसकेको छ । बर्खाअघि नै भत्काइएका सडकका भागहरूलाई सकेसम्म छोप्ने गरी काम भइरहेको छ भने बाँकी काम बर्खापछि पुनः निरन्तरता दिइने आयोजनाको योजना छ ।
_OsCJltYHHi.jpg)
‘अहिले हामीले बर्खा अगाडि नै गर्न सकिने कामहरूलाई प्राथमिकता दिएका छौँ,’ ओझाले भने, ‘बर्खाको समयमा सडक नबिग्रियोस् भन्नका लागि भत्काइएका ठाउँहरूमा मर्मत गरी खाल्डाखुल्डी टाल्ने कामलाई निरन्तरता दिएका छौँ । बाँकी कालोपत्रेको काम भने बर्खा पछि पुनः सुरु हुनेछ ।’
यस्तै यी दुवै प्याकेज पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बिटुमिन अभाव हुँदा म्यादभित्र सम्पन्न गर्न नसकिने आयोजनाले जनाएको छ । यी दुवै प्याकेजको म्याद थप गर्नुपर्ने देखिएको छ । उनले भने, ‘म्याद थप वा अन्य व्यवस्थापकीय निर्णयहरू परामर्शदाताको प्रतिवेदन र हाम्रो परामर्शदाताको सिफारिसमा मात्र हुन्छ । अहिले हामी तोकिएको लक्ष्य पूरा गर्नतर्फ केन्द्रित छौँ ।’
पहिलो खण्डको नागढुंगा–नौबिसे प्याकेज स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले लिएको छ । २०७८ चैत २९ गते ठेक्का सम्झौता भएको यो खण्ड विस्तार सम्झौता भएको डेढ वर्षपछि २०७९ जेठ २६ गतेदेखि काम सुरु भएको थियो । उक्त अवधिमा काम सम्पन्न हुन नसकेपछि २०८१ जेठ २७ गते २०८१ माघसम्मका लागि म्याद थपिएको थियो । काम नसकिएपछि फेरि २०८२ साउन १० गतेसम्मका लागि म्याद थप गरिएको थियो । उक्त अवधिमा नसकिएपछि २०८२ फागुन मसान्तसम्म पुनः थपिएको थियो ।
यस्तै दोस्रो प्याकेज नौबिसे–मलेखु खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामाले जेभीले लिएको छ । १४ वैशाख २०७९ मा ठेक्का सम्झौता भएको यो खण्डको काम २०८२ जेठ मसान्तमा सकिसक्नुपर्ने भए पनि नसकिँदा असोज २०८३ सम्म म्याद थपिएको छ ।
- पश्चिम खण्डः ४३ प्रतिशत भौतिक प्रगति, म्याद थप्ने तयारी
नागढुङ्गा–मुग्लिन सडक योजनाको पश्चिम खण्ड (मलेखु–मुग्लिन) को स्तरोन्नति कार्य अन्तर्गत हालसम्म ४३ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । आयोजनाका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले यस खण्डमा कालोपत्रे गर्ने तयारी सुरु भई प्रारम्भिक चरणको काम अघि बढेको छ ।
सडकमा अहिले प्राइम (प्राइम कोट) हाल्ने काम सुरु भइसकेको छ, जुन कालोपत्रेको सुरुवाती चरण हो । यद्यपि, हाल पर्याप्त मात्रामा बिटुमिन आइपुगेको छैन । हालसम्म ३० टनमात्र बिटुमिन प्राप्त भएको र यो परिमाण थोरै भएकाले थप बिटुमिन ल्याउन प्रयास भइरहेको जनाइएको छ ।
मिश्रले भने, ‘अहिले बिटुमिन आएको छैन, ३० टनमात्र आएको छ । त्यो पनि थोरै मात्रा भएकाले थप ल्याउन प्रयास भइरहेको छ । बिटुमिन ल्याउन हामीले कन्ट्याक्टरलाई पनि निर्देश गरेका छौँ । उसले पनि पहल गरिरहेको छ । अहिले आउने क्रममा छ ।’
_PuciVVesVj.jpg)
सडक विस्तारका क्रममा अवरोधका रूपमा रहेका बिजुलीका पोलहरू सार्ने कार्यमध्ये अब १०७ वटा पोलमात्र सार्न बाँकी रहेको जनाइएको छ । यस्तै, विगतमा केही समस्या देखिए पनि हाल स्थानीय निकायहरूले उत्खनन कार्यमा सहयोग गरेका कारण गिट्टी र बालुवाजस्ता निर्माण सामग्रीको आपूर्तिमा अहिले कुनै समस्या नरहेको उनले बताए ।
गएको डिसेम्बर २८ तारिखदेखि १८३ दिनका लागि म्याद थप गरिएको भए पनि अन्य विभिन्न कारणहरूले गर्दा पुनः म्याद थप्ने प्रक्रिया चलिरहेको छ । निर्माण व्यवसायीले परामर्शदाता (कन्सल्टेन्ट) मार्फत म्याद थपका लागि विवरण पेस गर्ने क्रममा रहेको र सोही पेस गरिएको आधारमा मूल्याङ्कन गरेरमात्र म्याद तय हुने भएकाले अहिले नै थपिने समय यकिन गर्न नसकिने इन्जिनियर मिश्रले स्पष्ट पारेका छन् ।
उनले भने, ‘डिसेम्बर २८ बाट १८३ दिनका लागि म्याद थपेको हो । अझै विविध कारण म्याद थप्ने प्रक्रियामा छ । कन्ट्याक्टरले म्याद थपको लागि पेस गरेको आधारमा मूल्याङ्कन गरेर म्याद थप हुन्छ । कागजात पेस गर्ने क्रममा छ हामी त्यहाँ हेर्छौं ।’
३८.८६ किलोमिटर दुरी रहेको यो सडकखण्ड शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा लागतमा विस्तार गर्ने गरी ठेक्का पाएको थियो । २०७९ पुस १५ गते भएको ठेक्का सम्झौताअनुसार २०८२ पुसभित्र काम सम्पन्न गर्नुपर्ने थियो । तर सम्पन्न हुन नसकेपछि २०८३ असार १५ गतेसम्मका लागि म्याद थपिएको छ । अब म्याद सकिन एक सातामात्रै बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण