फुटबल, युद्ध र ऐक्यबद्धता यस विश्वकपमा गाजाबासीहरू किन स्पेनको समर्थन गर्दैछन् ?
सारांश
- गाजाका बासिन्दाहरूले स्पेनको फुटबल टोलीलाई समर्थन गरिरहेका छन्, जुन उनीहरूको पुरानो फुटबल रुचिसँगै युद्धमा स्पेनले लिएको राजनीतिक र मानवीय अडानले पनि प्रेरित छ ।
- स्पेनले अक्टोबर २०२३ देखि सुरु भएको गाजा युद्धमा प्यालेस्टिनी जनताको पक्षमा बलियो अडान लिएको छ, जसले गर्दा गाजावासीहरूले स्पेनप्रति थप ऐक्यबद्धता महसुस गरेका छन् ।
- गाजाका समर्थकहरूले स्पेनको समर्थनलाई युद्धका बाबजुद जीवन र खेलकुदलाई माया गर्ने प्यालेस्टिनीहरूको दृढताको प्रतिबिम्ब मानेका छन् ।
गाजा सिटी । गाजा सिटीको एक व्यस्त क्याफेमा फुटबल समर्थकहरू एउटा सानो पर्दा अघि झुम्मिएका थिए । निष्क्रिय प्रोजेक्टर स्क्रिनअगाडि राखिएको त्यो पर्दामा उनीहरूले आइतबार रातिको विश्वकपको महत्त्वपूर्ण खेल स्पेन र साउदी अरेबियाबिचको प्रतिस्पर्धा हेरिरहेका थिए ।
१८ वर्षीय लामिन यामालले खेलको दशौँ मिनेटमा स्पेनका लागि पहिलो गोल गरेपछि भीडबाट ठुलो चिच्याहट निस्कियो । त्यसपछिका ३५ मिनेटभित्र स्पेनले थप तीन गोल ग¥यो र युरोपेली फुटबल शक्तिशाली टोलीले सहज जित हासिल गर्यो । यसले अस्थायी रूपमा बनाइएको गाजाको क्याफेमा उपस्थित दर्शकहरूलाई अत्यन्त खुसी तुल्यायो ।
साउदी अरेबियाको प्यालेस्टिनीहरूसँग घनिष्ठ सम्बन्ध हुन सक्छ, तर गाजामा स्पेनी फुटबल टोलीप्रतिको आकर्षण धेरै पुरानो हो ।
यद्यपि विश्वकपमा प्यालेस्टिनीहरूको स्पेनप्रतिको समर्थन केवल मैदानभित्रको प्रदर्शनबाट प्रेरित छैन । इजरायलले गाजामा सञ्चालन गरेको नरसंहारकारी युद्धका क्रममा स्पेनले लिएको राजनीतिक र मानवीय अडानले पनि त्यस्तो भएको छ । उक्त युद्धमा झन्डै ७३ हजार प्यालेस्टिनी मारिएका छन् ।
अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि स्पेन गाजाका जनताको समर्थन गर्ने युरोपका सबैभन्दा बलिया समर्थकमध्ये एक भएको छ भने इजरायलको सबैभन्दा मुखर आलोचक बनेको छ ।
गाजा सिटीका ४३ वर्षीय वकिल मोहम्मद अतल्लाहले अल जजिरासँग कुरा गर्दै आफूले वर्षौँदेखि स्पेनी फुटबल पछ्याउँदै आएको बताए । तर युद्ध सुरु भएपछि र वामपन्थी स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले आफ्नो देशको समर्थन गाजाको पक्षमा उभ्याएपछि, स्पेनको राष्ट्रिय टोली ‘ला रोजा’प्रतिको उनको प्रेमले फरक अर्थ लिन थालेको उनले बताए ।
‘हामी जीवन र फुटबल मन पराउने जनता हौँ । यहाँ धेरै मानिसहरूले वर्षौँदेखि ला लिगा र स्पेनको राष्ट्रिय टोली पछ्याउँदै आएका छन् । तर युद्धका क्रममा स्पेनले लिएको अडानले मानिसहरूलाई स्पेनसँग अझ नजिक महसुस गरायो,’ अतल्लाहले भने ।

उनका अनुसार स्पेनका धेरै कदमहरू प्यालेस्टिनीहरूबीच व्यापक रूपमा प्रतिध्वनित भए । बार्सिलोनाका स्टार लामिन यामालको प्यालेस्टिनीहरूप्रतिको ऐक्यबद्धता देखाए भने सन् २०२४ मा स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दियो । त्यसैगरि, स्पेनका राजा फेलिप छैटौँले गाजामा इजरायलका ‘घृणित कार्यहरू’ रोक्न आग्रह गरेका थिए । यी सबै कुरा म्याड्रिडबाट ३,५०० किलोमिटर टाढा रहेको गाजा सिटीका चासो सहित हेरिएका थिए ।
यी परिस्थितिमा प्यालेस्टिनी जनताको पक्षमा उभिने सबैप्रति हामी गर्व महसुस गर्छौँ । त्यसैले यहाँका धेरै मानिसहरूले स्पेनलाई समर्थन गर्छन्, केवल फुटबलका कारण होइन, यी मानवीय अडानहरूका कारण पनि,’ उनले थपे ।
‘हामी स्पेनले जितोस् भन्र्छौँ र हामी उनीहरूलाई बलियो समर्थन गर्छौँ, तर अन्ततः हामी साउदी राष्ट्रिय टोलीको पनि सम्मान गर्छौँ,’ उनले मुस्कुराउँदै भने ।
क्याफेभरि रहेका समर्थकहरूले स्पेनको राजनीतिक अडानलाई राष्ट्रिय टोलीलाई समर्थन गर्ने एक कारणका रूपमा बारम्बार उल्लेख गरिरहेका थिए । ३२ वर्षीय हानी अबु रिज्कका अनुसार गाजा सिटीमा स्पेनका लागि उठेका जयजयकारहरू युद्धका बाबजुद जीवनलाई अँगालिरहने प्यालेस्टिनीहरूको दृढताको प्रतिबिम्ब हुन् ।
उनले भने, फुटबल हेर्नु गाजाको दैनिक जीवनका तनावबाट केही समय टाढा हुने थोरै माध्यमहरूमध्ये एक हो, तर गाजामा राजनीति सुन्दर खेल फुटबलभित्र पनि प्रवेश गरिहाल्छ ।
‘हामी संसारलाई देखाउन चाहन्छौँ कि गाजाका मानिसहरू जीवन र खेलकुदलाई माया गर्छन्, उनीहरू वरिपरि यति धेरै विनाश र कठिनाइ भए पनि,’ अबु रिज्कले भने, ‘प्यालेस्टाइनको समर्थनमा व्यक्त गरिएका धारणा, चाहे स्पेनी सरकारबाट आएका हुन् वा खेलाडीहरूबाट, तिनको प्रभावलाई बेवास्ता गर्न असम्भव छ ।’
गत महिना बार्सिलोनाले ला लिगा उपाधि जितेपछि भएको उत्सवका क्रममा यामालले प्यालेस्टिनी झण्डा उचालेका थिए । प्यालेस्टिनीहरूले त्यसलाई अक्टोबर २०२३ यता निरन्तर आक्रमण झेलिरहेको गाजाको खेलकुद समुदायप्रतिको ऐक्यबद्धताको संकेतका रूपमा हेरे ।
‘स्थानीय लिगका धेरै स्टार फुटबल खेलाडीहरूलाई रङ्गशालाहरू ध्वस्त भएपछि र खेलकुद गतिविधिहरू रोकिएपछि अन्य काम गर्न बाध्य हुनुपरेको छ,’ उनले भने ।
त्यसका बाबजुद पनि गाजाका प्यालेस्टिनीहरूले फुटबलप्रतिको आफ्नो प्रेम कायम राखेका छन् । बारम्बार हुने विद्युत् र इन्टरनेट अवरोधले उनीहरूलाई थकित बनाएको छ, तर उनीहरू अझै पनि क्याफेहरूमा भेला भएर सँगै फुटबल खेल हेर्ने समय निकाल्छन् ।
‘ठुला खेलकुद प्रतियोगिताहरू प्यालेस्टिनीहरूका लागि संसारलाई आफ्नो मुद्दा र निरन्तर पीडा सम्झाउने अवसर बनेका छन् । सन् २०२२ को कतार विश्वकपमा पनि यस्तै भएको थियो, जहाँ दर्शकदीर्घा र समर्थकहरूमाझ प्यालेस्टाइन अत्यन्तै स्पष्ट रूपमा देखिएको थियो,’ उनले भने ।
धेरै गाजावासीहरूका लागि फुटबल दुःख र निराशा व्यक्त गर्ने माध्यम भए पनि अब्दुल्लाह मसुदका अनुसार स्पेन र साउदी अरेबियाबीचको खेल स्पेनले प्यालेस्टिनी जनताप्रति देखाएको ऐक्यबद्धतालाई स्वीकार गर्ने अवसर पनि थियो ।
‘गाजामा हामीले नाकाबन्दी र युद्धका कारण अत्यन्तै दुःख भोगेका छौँ । यो प्रतियोगिताले हामीलाई केही हदसम्म सामान्य जीवनका झल्को दिने क्षणहरू प्रदान गरेको छ । हामी पनि अरू मानिसहरूजस्तै फुटबल मन पराउँछौँ, र कुनै समय प्यालेस्टाइनलाई विश्वकपमा खेलिरहेको हेर्ने आशा गरेका थियौँ,’ उनले भने, ‘हामी युद्धका क्रममा देखेका अडानहरू बिर्सँदैनौँ, चाहे ती स्पेनी अधिकारीहरूका हुन् वा लामिन यामालजस्ता खेलकर्मीहरूका, जसले विश्वसामु प्यालेस्टिनी झण्डा उचाले ।’
प्यालेस्टिनीहरूले भने यस विश्वकपमा कसलाई समर्थन गर्ने भन्ने उनीहरूको निर्णय गाजामा भएको नरसंहारबारे सम्बन्धित देशले लिएको अडानबाट प्रभावित भएको छ, भलै त्यो टोलीको सामना कुनै अरब राष्ट्रसँग किन नहोस् ।
‘गाजाका जनताको पक्षमा उभिने सबैप्रति हामी आभारी छौँ । उनीहरूले हाम्रो भाषा नबोल्न सक्छन्, तर उनीहरूको मानवीय अडान संसारका अरू धेरै मानिसहरूको भन्दा बढी हाम्रोसम्म आइपुग्यो । त्यसैले यहाँका धेरै मानिसहरू उनीहरूसँग आत्मीयता महसुस गर्छन्,’ मसुदले भने, ‘जब पनि रंगशालाहरूमा वा समर्थकहरूमाझ प्यालेस्टाइन देखिन्छ, हामीलाई लाग्छ कि हाम्रो पीडा बिर्सिएको छैन र अझै पनि हाम्रो आवाज सुन्ने मानिसहरू छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण