नेपाली राजनीतिको दुर्भाग्य : उत्साहप्रद आरम्भ र दर्दनाक अन्त्य
सारांश
- गौतम बुद्धको शिक्षा अनुसार नेपाली राजनीतिमा उत्साहजनक आरम्भ भए पनि मध्य चरणमा परीक्षा र अन्त्यमा दर्दनाक स्थितिको सामना गर्नुपरेको छ ।
- २०४६ सालको जनआन्दोलन, २०६३ सालको विस्तृत शान्ति सम्झौता र २०७२ सालको संविधान जारी हुनुजस्ता नेपाली राजनीतिक परिवर्तनहरू आशा र उत्साहजनक आरम्भका उदाहरण हुन् ।
- नेपालको राजनीतिक इतिहासमा सुन्दर सुरुवात, समस्याग्रस्त मध्यकाल र दर्दनाक अन्त्यको चक्रलाई तोड्न अखण्ड निष्ठा, उपलब्धिमूलक शासन र गरिमापूर्ण बिदाइ आवश्यक छ ।
गौतम बुद्धको शिक्षामा पालि भाषाको एउटा वाक्यांश बारम्बार देखा पर्छ– “आदि कल्याणम्, मज्झे कल्याणम्, परियोसान कल्याणम्” अर्थात् आरम्भमा राम्रो, बिचमा राम्रो र अन्त्यमा राम्रो । संस्कृतमा यही भाव “आदि कल्याणम्, मध्य कल्याणम्, अन्त्य कल्याणम्” को रूपमा प्रतिध्वनित हुन्छ ।
पहिलो दृष्टिमा यो वाक्यांश एउटा नैतिक आदर्श वा उपदेशजस्तो लाग्न सक्छ– सुन्दा सुन्दर, तर यथार्थबाट टाढाको कुरा । युवावस्थामा मैले पनि यसलाई एउटा आकर्षक अमूर्त अवधारणाका रूपमा लिएको थिएँ । त्यति गहिरो सोच्नुपर्ने विषय उक्ति ठानेको थिइनँ ।
उमेर ढल्किँदै जाँदा र दशकौँसम्म नेपाली राजनीतिलाई नजिकबाट नियाल्दै जाँदा यो शिक्षा केवल आदर्शवादी उपदेश नभई व्यावहारिक मार्गदर्शनका रूपमा बुझ्न थालेँ । अब बुझेँ, यसले नेतृत्व, शासन व्यवस्था र हाम्रो राष्ट्रिय भविष्यलाई हेर्ने एउटा स्पष्ट र गम्भीर दृष्टिकोण प्रदान गर्छ ।
हामी प्रायः भन्छौँ, अनुभव नै सबैभन्दा ठूलो शिक्षक हो । तर अनुभवबाट यत्तिकै सिकाइ प्राप्त हुँदैन । अनुभवमाथि चिन्तन, मूल्याङ्कन र आत्मनिरीक्षण (सेल्फ रिफ्लेक्सन) गर्दा बल्ल सिकाइ बन्छ । अनुभव त कच्चा पदार्थ मात्र हो । चिन्तनबिना इतिहासको चक्र घुमिरहन्छ, अघि बढ्दैन । नेपालको इतिहासमा उत्साहजनक आरम्भहरू किन भयावह अन्त्यमा पुगेर टुङ्गिन्छन् ? यसको उत्तर बुद्धको यो सरल तर गहन शिक्षाको आलोकमा हेर्दा बल्ल टड्कारो देखिन्छ ।
- आरम्भको सुन्दरता
पहिलो भागः ‘आदि कल्याणम्’ले सुरुवातको भावनात्मक शक्तिलाई समेट्छ । नेपालमा भएका प्रत्येक राजनीतिक परिवर्तन आशा, उत्साह र सम्भावनाको सामूहिक भावनाबाट सुरु भएका छन् ।
लेखकले आफ्नो जीवनकालमा देखेका घटनाको कुरा गर्ने हो भने २०४६ सालको जनआन्दोलनले पञ्चायत व्यवस्थाको अन्त्य गर्यो र राजतन्त्रअन्तर्गत बहुदलीय लोकतन्त्र पुनर्स्थापित गर्यो । अझै झल्झली छ– सडकहरू उत्सवमय थिए । जनताले निरङ्कुशताको अन्त्य, अनि स्वतन्त्रता, उत्तरदायित्व र गरिमामा आधारित नयाँ युगको उदय भएको विश्वास गरेका थिए ।
२०६३ सालमा विस्तृत शान्ति सम्झौताले दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य गर्यो । “नयाँ नेपाल” को सपनाले सुनौलो आशा जगायो । त्यसपछिको संविधानसभा निर्वाचनमा समावेशिता, न्याय र रूपान्तरणप्रतिको भरोसाले अभूतपूर्व जनउभार देखियो ।
२०६५ सालमा राजतन्त्रको अन्त्य भई नेपाल गणतन्त्रमा प्रवेश गर्यो– इतिहासको एउटा लामो अध्याय बन्द भयो र अर्को अध्याय खुल्यो । २०७२ सालमा नयाँ संविधान जारी भयो, जसलाई धेरै देशी–विदेशी विद्वानहरूले एउटा उत्कृष्ट प्रगतिशील र समावेशी दस्तावेजका रूपमा मूल्याङ्कन गरेका छन् ।
कल्पना गर्न सकिन्छ, यसअघि, २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको प्रारम्भले पनि यस्तै प्रकारका नयाँ सपनाहरू जगाएको हुनुपर्छ । यी सबै क्षणहरूमा आरम्भको अनुपम सुन्दरता थियो । बुद्धको भाषामा भन्नुपर्दा, ती आदि कल्याण थिए– उत्साहजनक, प्रेरणादायी र सम्भावनाले भरिपूर्ण ।
- बिचको परीक्षा
बुद्धको शिक्षा आरम्भमै समाप्त हुँदैन । हरेक बिहान सुन्दर हुन्छ, तर दिनको मूल्य केवल सूर्योदयले होइन, दिनभरिका घटनाले निर्धारण गर्छ । अभिप्राय कार्यमा रूपान्तरित भयो कि भएन ? वाचा परिणाममा बदलियो कि बदलिएन ? मध्य कल्याणम्– बिचमा राम्रो । वास्तविक परीक्षा यहीँ हुन्छ ।
बिचको चरणमा आदर्शहरू यथार्थसँग ठोक्किन्छन् । यहाँ नाराको ठाउँ शासनले लिन्छ । संस्थाहरूमा रूपान्तरण हुनुपर्छ । नेतृत्वको मूल्याङ्कन हुँकारले होइन, साकार परिणामले गर्छ । नेपालको इतिहासले देखाउँछ कि प्रारम्भिक उज्यालो यहीँबाट मन्द हुन थाल्छ ।
२०४६ सालपछिको लोकतान्त्रिक अभ्यास क्रमशः भ्रष्टाचार र अस्थिरतामा अल्झियो । जनविश्वास कमजोर हुँदै गयो । अपेक्षा तथा यथार्थबिचको दूरी बढ्दै गयो । समाजका विभिन्न वर्ग र जातिका आकाङ्क्षा पूरा हुन सकेनन् । नागरिकहरूमा बढेको निराशाले सशस्त्र द्वन्द्वको उदयलाई बल पुर्यायो । देशभर गम्भीर क्षति निम्तियो ।
गणतन्त्रको स्थापना र २०७२ सालको संविधानपछि फेरि आशाको अर्को लहर उठ्यो । भूकम्प र नाकाबन्दीपछिको सङ्कटमा जनताले स्थायित्व र प्रखर नेतृत्वको खोजी गरिरहेका थिए । के.पी. ओलीको उदय र नेकपा (एमाले) को प्रभुत्वले त्यो सम्भावना प्रदान गर्नेजस्तो देखियो ।
तर समयसँगै आन्तरिक विभाजन, शासनसम्बन्धी चुनौतीहरू र राजनीतिक विवादहरूले फेरि जनविश्वासलाई कमजोर बनायो । उपलब्धिको चरण– अर्थात् बिचको चरण– फेरि नाजुक साबित भयो । सिकाइ स्पष्ट छः सुरुवातले उत्साह दिन्छ, तर टिकाउने बिचको चरणले हो ।
- सुन्दर अन्त्यको दुर्लभता
अन्तिम भागः अन्त्य कल्याणम् – सायद देशको इतिहासमा सबैभन्दा दुर्लभ कुरा हो ।
राम्रो अन्त्य भनेको केवल कार्यकाल पूरा गर्नु मात्र होइन । यसको अर्थ गरिमाका साथ बिदा हुनु हो । संस्थाहरूलाई अझ सुदृढ बनाएर जानु र नागरिकहरूको अन्तर्मनबाट सम्मान प्राप्त गर्नु हो । यस्तो बिदाइ, जसले राहत होइन, आदर र आभारको अनुभूति गराओस् ।
विश्वभर, र विशेषतः नेपालमा, यस्ता अन्त्यहरू विरलै देखिन्छन् । सत्ताको मोह सूक्ष्म हुन्छ, र त्यसलाई सहजतापूर्वक त्याग्न निर्लिप्त चरित्र चाहिन्छ । अब्राहम लिङ्कनको चर्चित भनाइ छ, “प्रायः सबै मानिसहरू जस्तै विपत्ति पनि सहन सक्छन्, तर यदि कसैको चरित्रको परीक्षा लिन चाहनुहुन्छ भने, उसलाई शक्ति दिनुहोस् ।”
नेपालको राजनीतिक इतिहासले एउटा परिचित ढाँचा देखाउँछ– प्रेरणादायी सुरुवात, समस्याग्रस्त मध्यकाल, र दर्दनाक अन्त्य । आशा र निराशाको यो चक्र लगभग पूर्वानुमान गर्न सकिनेजस्तो भइसकेको छ ।
- फेरि अर्को नयाँ सुरुवात
आज नेपाली जनता फेरि अथाह उमङ्गको नयाँ मोडमा उभिएको छ । नयाँ राजनीतिक दलहरूको उदय र व्यक्तित्वहरूको आगमनले नागरिकहरू, विशेष गरी युवाजमात, उन्मादको तहमा उत्साहित छन् ।
यसले उनीहरूभित्र रहेको इमानदार, दक्ष र उत्तरदायी नेतृत्वको चाहनालाई प्रतिबिम्बित गर्छ । अनलाइन र प्रत्यक्ष सार्वजनिक विमर्शमा सम्भावनाको नयाँ अनुभूति छ । धेरैलाई परिवर्तन आवश्यक मात्र होइन, सम्भव पनि छ भन्ने विश्वास छ ।
तर आशा आफैँमा रूपान्तरण होइन ।
- चक्रलाई पूर्ण बनाउने आवश्यकता
बुद्धले आदि, मध्य र अन्त्य तिनै कालको कुरा गरेजस्तै हिन्दू धर्ममा त्रिमूर्तिको अवधारणा छ । त्रिमूर्ति अर्थात् – ब्रह्मा, विष्णु र शिव । ब्रह्मा अर्थात् आदि वा सृष्टिकर्ता । विष्णु परिपालक, जीवनका सञ्चालक । शिव संहारक वा रूपान्तरणकर्ता । सृष्टि, संरक्षण र विसर्जन अलग–अलग कार्य होइनन्, तिनीहरू एउटै पूर्ण चक्रका अङ्ग हुन् ।
यसको गहिरो सन्देश सरल तर चुनौतीपूर्ण छ । ब्रह्मा आदि मात्र होइन, ज्ञानका देवता हुन् । नयाँ सुरुवात उत्साहको उडानले होइन, ब्रह्म (ज्ञान) बाट निर्देशित हुनुपर्छ । ज्ञान र बुद्धिसँग समन्वित हुँदा मात्र यात्राको आरम्भ चुस्त हुन्छ । ब्रह्माको भागमा उत्साह पर्दैन, गम्भीरता र प्रौढता पर्छ । उत्साह त विष्णुको भागमा पर्छ ।
जीवनलाई टिकाइराख्ने विष्णु रणनीतिका कुशल खेलाडी हुन् । योजना, कूटनीति र युक्तिबिना जीवन यात्रा सम्यक् र सुखद हुँदैन । कुशल नेता उच्च स्थानमा देखिने गरी बस्दैमा पुग्दैन । समुद्र मन्थनलाई सम्भव तुल्याउन कुर्म बनेर सागरको पिँधमा बस्न पनि तयार हुनुपर्छ ।
अनि शिवको त के कुरा गर्नु ? समुद्र मन्थनमा अरूले अमृतको लागि हारालुछ गर्दा लोककल्याणको लागि हलाहल पिउन पनि तयार हुनुपर्छ । कथाहरू त्यसै बनाइएका होइनन् । नत्र अन्त्य कसरी शिव हुन सक्छ ? अन्त्यको कल्पना पनि हामीलाई भयावह लाग्छ । तर धर्मले अन्त्यलाई नै शिव अर्थात् शुभ बनाइदियो । ब्रह्मा र विष्णु नाम हुन्, तर शिव कल्याणकारी र मङ्गलकारी ।
नेपाललाई आशाजनक सुरुवातहरूको अभाव छैन । आवश्यकता छ त बिचको यात्राभर अखण्ड निष्ठा र उपलब्धिमूलक शालीन अन्त्यको ।
- वास्तविक चुनौती
चुनाव जित्नु त सफलताको आवरण मात्र हो । वास्तविक चुनौती जनविश्वासलाई दीर्घकालसम्म कायम राख्नु हो । विगतका असफलताहरू केवल आलोचनाको वस्तु होइनन्, सिक्न इच्छुकहरूका लागि तिनै जीवन्त पाठ हुन् ।
तर सिक्नका लागि विनम्रता चाहिन्छ, र विनम्रता नै प्रायः त्यस्तो कुरा हो, जसलाई शक्तिले सबैभन्दा बढी प्रतिरोध गर्छ ।
यदि नेपालले वास्तवमै अगाडि बढ्न चाहन्छ भने, सुन्दर सुरुवात, निराशोन्मुख मध्य र पीडादायी अन्त्यको चक्र तोड्नुपर्छ । किनभने अन्ततः कुनै राष्ट्रको मूल्याङ्कन उसका नेताहरू कति चम्किएर उदाए भन्ने आधारमा होइन, उनीहरूले कति जिम्मेवारीपूर्वक शासन गरे र कति गरिमापूर्वक बिदा भए भन्ने आधारमा गरिन्छ ।
(लेखक पूर्वीय दर्शनका अध्येता हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण