हाइड्रेसन प्रविधिको बढ्दो लोकप्रियताः के तपाईंलाई आफ्नो ‘पसिनाको स्कोर’ थाहा छ ?
हुटिङ गर्ने समर्थकहरू हुन् या असन्तुष्ट विश्लेषकहरू । सबैको लागि विश्वकप २०२६ को अहिलेसम्मकै सबैभन्दा विवादास्पद विषयमध्ये एक हाइड्रेसन ब्रेक बनेको छ । भलै यो पूर्ण रूपमा नयाँ अवधारणा होइन, तर प्रतियोगिताको प्रत्येक खेलमा पहिलो पटक दुई पटक यस्तो ब्रेक दिइँदै छ ।
कतिपय दर्शकहरूका अनुसार यी ब्रेकहरू वास्तवमा शरीरमा पानीको मात्रा कायम राख्नका लागि होइनन् । उनीहरूको भनाइमा यो केही प्रसारण संस्थाहरूलाई थप विज्ञापन देखाउने अवसर मात्र हो । अनि यसले खेलको स्वाभाविक लय तोड्छ र वातानुकूलित रंगशालाहरूमा यसको आवश्यकता नै छैन ।
यी आलोचनासँग तपाईं सहमत हुनुहोस् वा नहुनुहोस्, हाइड्रेसन अर्थात् शरीरमा पर्याप्त तरल पदार्थ कायम राख्ने विषय अहिले विश्वभर चर्चाको केन्द्र बनेको छ । ग्रीसस्थित थेसाली विश्वविद्यालयका एन्ड्रियास फ्लोरिस भन्छन्, ‘हाइड्रेसन अत्यन्त महत्त्वपूर्ण विषय हो । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यसप्रति दिनप्रतिदिन चासो बढ्दैछ ।’
जलवायु परिवर्तनले गर्मीका लहरहरू तीव्र बनाइरहेको छ र त्यसको प्रतिक्रिया स्वरूप जनस्वास्थ्य अभियानहरूले मानिसहरूलाई बढी तरल पदार्थ सेवन गर्न प्रोत्साहित गरिरहेका छन् । यही सन्दर्भमा पछिल्ला केही वर्षहरूमा हाइड्रेसनमा केन्द्रित विभिन्न उपकरणहरूले इलेक्ट्रोनिक्स बजार भरिएको छ । यस्ता उपकरणहरूमा पसिना मापन गर्ने सेन्सरदेखि शौचालयको भाँडोमा राखिने मूत्र विश्लेषक यन्त्रसम्म छन् । तर के यी साँच्चै प्रभावकारी छन् त ?

पर्याप्त पानी नपिउनु एउटा स्वभाविक समस्या हो । सन् २०२३ को एक अध्ययनले बेलायतमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका प्रत्येक चारमध्ये एक व्यक्ति पर्याप्त तरल पदार्थ नपिउँदा डिहाइड्रेसनको सिकार भएको देखाएको थियो ।
त्यस्तै सन् २०१८ मा फ्लोरिस र उनका सहकर्मीहरूले युरोपका १३९ कामदारहरूको हाइड्रेसन स्तर अध्ययन गरेका थिए । उनीहरूले ७० प्रतिशत कामदारहरूमा यस्तो स्तरको डिहाइड्रेसन पत्ता लगाए, जसले उनीहरूको सोच्ने क्षमता र शरीरको नियन्त्रणमा नकारात्मक प्रभाव पार्न सक्थ्यो ।
हाइड्रेसन प्रविधिका उत्पादकहरू भन्छन् कि उनीहरूको उपकरणले यस्तो समस्या समाधान गर्न मद्दत गर्न सक्छ । अमेरिकास्थित एपिकोर बायोसिस्टम्सका सहसंस्थापक तथा प्रमुख कार्यकारी रुजबेह घाफ्फारीका अनुसार, केही वर्षअघि एप्पल वाच र फिटबिटजस्ता उपकरणहरूले पाइला गन्ने अभ्यासलाई लोकप्रिय बनाएका थिए ।
‘तर त्यतिमै किन रोकिने ?’ उनी भन्छन् । ‘पसिना नै अर्को अध्याय बनेको छ ।’ उनको कम्पनी पसिना विश्लेषण गर्ने उपकरण बनाउने धेरै कम्पनीहरूमध्ये एक हो । एपिकोर बायोसिस्टम्सले एकपटक मात्र प्रयोग गर्न मिल्ने टाँसिने प्याच र बाहुलाजस्ता लगाउन मिल्ने उपकरण उत्पादन गर्छ, जसले छालाबाट निस्कने पसिनाको प्रवाह दर, पसिनामा रहेको सोडियम (नुन) को मात्रा, छालाको तापक्रमलगायत विभिन्न सूचकहरू मापन गर्छ ।
कम्पनीले नयाँ आर्मब्यान्ड र मोबाइल एप पनि ल्याएको छ, जसले ‘वास्तविक समयको पसिना तथ्यांक’का आधारमा तपाईंको ‘हाइड्रेसनको स्तर’ मूल्यांकन गर्ने दाबी गर्छ । यसको उद्देश्य थाहा नै नपाई डिहाइड्रेसन बढ्दै जाने अवस्था पहिल्यै पत्ता लगाउनु हो ।

घाफ्फारी भन्छन्, ‘हाम्रा नयाँ पुस्ताका उपकरणहरूले तपाईंको पसिनाको स्कोरका आधारमा तपाईं कुन प्रकारको जोखिम समूहमा पर्नुहुन्छ भन्ने पत्ता लगाउन सक्छन् ।’
एपिकोरका केही उपकरणहरूले शरीर डिहाइड्रेसनतर्फ जाँदैछ भन्ने गणना गरेपछि हल्का कम्पन गरेर प्रयोगकर्तालाई पानी पिउन सम्झाउने गर्छन् ।
कम्पनीका अनुसार यस्ता उपकरण खेलाडीहरूले मात्र होइन, निर्माणस्थल, तेल तथा ग्यास उद्योग र विमानस्थलमा काम गर्ने कर्मचारीहरूले पनि प्रयोग गरिरहेका छन्, जहाँ उच्च तापक्रम र शारीरिक परिश्रम सामान्य कुरा हो । हाइड्रेसन निगरानी बाहिरी वातावरणमा काम गर्ने कामदारहरूका लागि उपयोगी हुन सक्छ । तर फ्लोरिस पसिना मापन गर्ने प्रविधिप्रति केही आशंकित छन् । उनले प्रयोगशालामा परीक्षण गरेका विभिन्न पसिना विश्लेषण गर्ने उपकरणहरूबारे बोल्दै भने, ‘हामीले परीक्षण गरेका अधिकांश उत्पादनहरूले अपेक्षित स्तरको परिणाम देखाएका छैनन् ।’
उनका अध्ययनहरूको नतिजा भने अझै प्रकाशित भएका छैनन् ।
फ्लोरिसका अनुसार पसिना सेन्सरहरू लामो समयसम्म निरन्तर शारीरिक गतिविधि हुँदा, जस्तै म्याराथन दौडमा, राम्रोसँग काम गर्छन् । तर गतिविधिको तीव्रता बारम्बार परिवर्तन हुँदा तिनीहरूलाई ठम्याउन गाह्रो पर्छ । उदाहरणका लागि, फुटबल खेलाडी अचानक हिँडाइबाट तीव्र दौडमा जाने अवस्थामा तिनले काम नगर्न सक्छन् ।

घाफ्फारीका अनुसार उनी र उनका सहकर्मीहरूले एपिकोरका उपकरणहरूको शुद्धताबारे समकक्षी समीक्षा भएका अनुसन्धानपत्रहरू प्रकाशित गरिसकेका छन् । उनले २० मिनेटसम्मको छोटो अवधिमा पसिना घटेको विश्लेषण गर्न कठिन हुन सक्ने स्वीकार गरे । तर पनि ३० मिनेट वा त्योभन्दा लामो व्यायामका लागि आफ्ना उत्पादनहरू प्रभावकारी रहेको दाबी गरे ।
आजकल सबैभन्दा धेरै उपलब्ध हाइड्रेसन उपकरणमध्ये स्मार्ट पानीका बोतलहरू पनि पर्छन्, जसले दिनभरि पानी पिउन सम्झाइरहन्छन् । वाटरएच कम्पनीका व्यवसाय विकास प्रमुख जेम बाकिस भन्छन्, ‘हामी यसलाई रोचक बनाउन खोज्छौँ ।’
उनको कम्पनीको बोतलमा चम्किने घेरा हुन्छ, जसले झिम्किएर पानी पिउन संकेत दिन्छ । कतिपय स्मार्ट बोतलहरूले बोतलभित्रको तरल पदार्थको तौल र त्यसमा समयसँगै आउने परिवर्तनका आधारमा मापन गर्छन् । तर वाटरएचले फरक तरिका अपनाएको छ ।
यसका सेन्सरहरूले बोतल कुन कोणमा झुकाइएको छ र पानी कुन दरमा बाहिर निस्किरहेको छ भन्ने पत्ता लगाउँछन् । बाकिसका अनुसार पर्याप्त मात्रामा पानी पिएपछि बोतलले तत्काल त्यसलाई पहिचान गर्छ ।
अनलाइन समीक्षाहरूमा केही सकारात्मक प्रतिक्रिया भए पनि कतिपयले यस्ता मापनको शुद्धतामाथि प्रश्न उठाएका छन् । बाकिसका अनुसार यस्तो समस्या प्रायः उपकरण सही रूपमा प्रयोग नगर्दा उत्पन्न हुन्छ । यसलाई सजिलै समाधान गर्न सकिन्छ ।
यदि तपाईंलाई पानीको बोतलबाट निर्देशन लिन मन छैन भने तपाईं आफ्नो शौचालयलाई नै सोध्न सक्नुहुन्छ । भिभू नामक कम्पनीले शौचालयको किनारमा राखिने मूत्र विश्लेषक उपकरण बनाएको छ, जसले तपाईंको हाइड्रेसन अवस्थालाई ‘नयाँ तरिकाले’ बुझ्न मद्दत गर्ने दाबी गर्छ । यसले अप्टिकल सेन्सर प्रयोग गरेर ‘मूत्रको विशिष्ट घनत्व’ मापन गर्छ । यो शुद्ध पानीको तुलनामा मूत्र कति बाक्लो छ भन्ने सूचक हो । सामान्यतया मूत्र जति बाक्लो हुन्छ, डिहाइड्रेसनको स्तर त्यति बढी हुन्छ ।
कम्पनीको वेबसाइटमा यो उपकरण चिकित्सा निदानका लागि प्रयोग गर्न नहुने स्पष्ट उल्लेख गरिएको छ । फ्लोरिसका अनुसार वैज्ञानिक अध्ययनहरूमा पनि मूत्रका आधारमा हाइड्रेसन मूल्याङ्कन गरिन्छ । तर व्यक्तिमा डिहाइड्रेसन सुरु भएको केही समयपछि मात्र त्यो मूत्रमा देखिन सक्ने भएकाले केही ढिलाइ हुन सक्छ ।
वेन स्टेट विश्वविद्यालयकी तमारा ह्यु–बटलर स्वास्थ्य तथ्यांक निरन्तर मापन गर्दा मानिसहरूमा अनावश्यक चिन्ता बढ्न सक्ने चेतावनी दिन्छिन् । उनका अनुसार अतिरिक्त तथ्यांक, अनावश्यक शंका–उपशंका र थप लक्ष्यहरू सबैलाई आवश्यक नहुन सक्छन् । ‘यसले केही जानकारी त थपेको छ, तर यसले भावनात्मक बोझ पनि थपेको जस्तो लाग्छ,’ उनी भन्छिन् ।

बाकिस भने वाटरएचको स्मार्ट बोतलको उद्देश्य मानिसहरूलाई तनाव दिनु नभई ‘बानी विकास गराउनु’ रहेको बताउँछन् ।
त्यसो त भिभूकी एक प्रवक्ताले पनि बारम्बार स्वास्थ्य निगरानीले चिन्ता बढाउन सक्ने विषय स्वीकार गरेकी छन् । उनले भनिन्, ‘भिभूको स्मार्ट शौचालय प्रविधि नियमित र स्वस्फूर्त परीक्षणमा आधारित छ । प्रयोगकर्ताले थप काम गर्नुपर्दैन वा दिनभरि एप जाँचिरहनुपर्दैन ।’
ह्यु–बटलरका अनुसार हाइड्रेसन प्रविधिका केही विशेष उपयोगिता पनि छन् । उदाहरणका लागि, पसिना निगरानी उपकरणले प्रशिक्षकलाई टोलीका एक–दुई सदस्य डिहाइड्रेसनको सिकार हुँदैछन् भन्ने जानकारी दिन सक्छ । उनका अनुसार त्यस्ता खेलाडीहरूले आफूलाई कमजोर देखिने डरले समस्या आफैँ व्यक्त नगर्न पनि सक्छन् ।
‘प्रविधिले हामीलाई तत्काल परिणाम दिन्छ,’ उनी भन्छिन् । अन्ततः डिहाइड्रेसन र अत्यधिक हाइड्रेसन दुवैबाट बच्नु महत्त्वपूर्ण भए पनि मानव शरीर हामीले सोचेजति कमजोर छैन,' उनी थप्छिन्, ‘सुरक्षाको दायरा वास्तवमा हामीले अनुमान गरेभन्दा केही फराकिलो छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण