देश बदल्न आएको रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन भव्य भए पनि बन्दसत्र व्यवस्थापकीय कमजोरीले भद्रगोल देखिएको छ ।
- महाधिवेशन प्रतिनिधि छनोट, परिचयपत्र वितरण, नामावली अध्यावधिक र उम्मेदवारी दर्तालगायत विषयमा नेतृत्वको ध्यान नपुग्दा प्रतिनिधिहरू चर्को गर्मीमा आक्रोशित भएका छन् ।
- अव्यवस्थित महाधिवेशनले पार्टीलाई खण्डित तुल्याएको र आन्तरिक व्यवस्थापन राम्रोसँग गर्न नसक्नेले देशको व्यवस्थापन कसरी गर्लान् भन्ने प्रश्न कार्यकर्ताहरूले उठाएका छन् ।
चितवन । भरतपुरको गर्मी बढेर ४० डिग्री हाराहारीमा पुगेको छ ।
असार ७ देखि सुरु भएको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन चार दिन पुग्दा पनि सकिएको छैन । पहिलो दिन खुला सत्र जिल्ला प्रहरी कार्यालयको अगाडि रहेको गेस्ट हाउस चौरमा भव्य रुपमा उद्घाटन गरेको रास्वपाको बन्दसत्र भद्रगोल देखियो ।
महाधिवेशन तालिकाअनुसार मंगलबार नयाँ नेतृत्व चयन हुनुपर्थ्यो । तर, आयोजक समितिको व्यवस्थापकीय कमजोरीका कारण देश विदेशबाट आएका महाधिवेशन प्रतिनिधि चर्को गर्मीको सिकार बन्न पुगे । महाधिवेशन प्रतिनिधि छनोट, परिचयपत्र वितरण, नामावली अध्यावधिक, उम्मेदवारी दर्तालगायत विषयमा नेतृत्वको ध्यान नपुग्दा प्रतिनिधिहरू निकै आक्रोति देखिन्थे ।
हिमाल, पहाड र तराईका कुना काप्चाबाट चार दिनको व्यवस्था(खाना, बस्न) गरेर आएका प्रतिनिधिहरू आयोजक टिमको अपरिपक्वता देखेर रिसको पारो चितवनको गर्मीभन्दा पनि बढी देखिन्थ्यो । चौथो पटक निर्वाचन कार्यतालिका संशोधन भइसक्यो । नयाँ नेतृत्व गर्ने बेलासम्म करिब २५ प्रतिशत प्रतिनिधि घर फर्किसकेका छन् । महाधिवेशन दुई दिनसम्म लम्बिँदा करिब दुइ करोड आर्थिक भार थपिने आयोजकले जनाएको छ ।
करिब ३५ वर्षसम्म देशको विथिति र भ्रष्टाचार अन्त्य गरी सुसंस्कृत समाज निर्माण गर्ने उद्घोष गरेका रास्वपाका नेतृत्वलाई अव्यवस्थित महाधिवेशनले खण्डित गरेको छ । सहभागी अधिकांश प्रतिनिधिको एउटै आक्रोश छ– यस्तो पनि पार्टी हुन्छ ? न नेता चिनेको छ, न कसैको फोन उठ्छ ? हाम्रो समस्या भन्न कहाँ जाने ? महाधिवेशन सकिन लागिसक्यो, अहिलेसम्म परिचयपत्र प्राप्त भएको छैन । अल्गोरिदम, बालेन र रवि भएर मात्र रास्वपाले दुइ तिहाइ ल्याएको हो । नयाँ भनिएको पार्टी पुरानाभन्दा पनि अव्यवस्थित रहेछ ।’
_VxECCPWo2O.jpg)
बुधबार एक प्रतिनिधिले आक्रोश पोखे, ‘केन्द्रीय समितिमा रहेका, सांसद भएकालाई जसरी पनि हराउनुपर्छ । यसै खर्च भयो उसै खर्च भयो, टिमै बनाएर यिनीहरूलाई हराउने अभियान चलाउनुर्छ ।’
चितवन उद्योग संघको प्रदर्शनी हलमा नीति र नेतृत्व छान्न करिब ४५ सय हाराहारीमा जम्मा भएका प्रतिनिधिहरू तीन दिनसम्म पनि परिचय पत्र नआउँदा आक्रोशित थिए । कहिले निर्वाचन आयोग, कहिले पार्टी नेतृत्वसँग पीडा सुनाउँथे । दोलखाबाट आएकी बिन्दा चौलागाई परिचय पत्र नहुँदा बन्दसत्रमा प्रवेश नै गर्न पाइनन् । निर्वाचन आयोगले 'नाम छ बन्छ' भन्दाभन्दै उनले बन्दसत्र गुमाएकी थिइन् ।
‘मेरो अहिलेसम्म कार्ड पनि बनेको छैन । निर्वाचन आयोगले आउँछ, नाम छ भनेकाले बाहिर बसेको हुँ,’ उनले भनिन् ।
चैलागाईंले आफ्नो मात्र नभई धेरैको समस्या भएको बताइन् । अधिकांश प्रतिनिधि बहिर गर्मी छलेर बसीरहँदा भित्र सभापति रवि लामिछानेले राजनीतिनक प्रतिवेदन वाचन गरिरहेका थिए । मानौँ, त्यो महाधिवेशको बन्दसत्र नभई खुला सत्र देखिन्थ्यो । साउन्ड सिस्टम राम्रो नहुँदा भित्र बसेकाले पनि आवाज बुझ्न सकिँदैनथ्यो । रुपन्देहीबाट महाधिवेशनमा आएका कृष्ण बेलबासे भित्र नेतृत्वबाट प्रतिवेदन पेस भइरहे पनि गर्मीका कारण बाहिर हावा खान निस्किएको बताएका थिए ।
‘भित्र प्रतिवेदनहरू पेस भइरहेका छन् । मान्छे धेरै भएकाले गर्मी भयो । त्यसैले बाहिर हावा खान निस्किएको,’ बेलबासेले भनेका थिए ।
महाधिवेधिवेशन प्रतिनिधिहरू नामावली अध्यावधिक गर्नका लागि कहिले आयोग, कहिले बन्दसत्र हलमा ओहोरदोहोर गर्दा हैरानीमा देखिन्थ्ये । आयोगका एक सदस्यले दिक्दारी व्यक्त गर्दै पार्टी नेताहरूका कारण समस्या भएको बताए ।
‘तीन हजार प्रतिनिधि हुने भनिएको थियो । थप्दै जाँदा ४५ सय पुग्यो । यी सबै झमेलाहरू जिल्लामै फिल्टर गरेर आएको भए अहिले यो आक्रोश देखिने थिएन । जति भने पनि नेताहरूले नबुझेपछि जति थप्नु छ, थप्नोस भनेर छोडेका छौँ,’ ती सदस्यले भने ।
महाधिवेशनमै विवादले उग्ररुप लिने देखिए पनि नेतृत्व तहबाट सम्झाउन कुनै नेता अग्रसरता देखिएनन् । प्रवेश शुल्क महँगो लिएर पनि राम्रो व्यवस्थापन नभएकोमा प्रतिनिधिहरू आयोजक समितिप्रति असन्तुष्ट देखिन्थे । चर्को गर्मी र अस्तव्यस्त व्यवस्थापनका कारण असन्तुष्टि बढ्दै गएपछि सभापति रवि लामिछानेले पाँच हजार रकम फिर्ता गर्ने घोषणा गरेका थिए । मंगलबार बन्दसत्रमा प्रतिवेदन पेस गर्ने क्रममा उनले कसैले सदस्यता बनाइदिएको भरमा उसैलाई औँठा छाप लगाएर बन्धकी राख्न मिल्दैन भनेका थिए ।
‘तपाईंलाई यस हलभित्र ल्याउन कसैले गलत तरिका अवलम्बन गरिरहेको छ, त्यसैप्रति उत्तरदायी हुनुहुन्छ भने तपाईं गलत बाटो अँगाल्दै हुनुहुन्छ । तपाईं यो देशप्रति र सिंगो पार्टीप्रति उत्तरदायी हुनुपर्छ,’ उनले भनेका थिए । रविले महाधिवेशनमा फैलिएका केही अफवाहको पछि नलाग्न आग्रह गरे ।
उनले भनेका थिए, ‘महाधिवेशनमा केही अफावह मैले सुनेको छु । मन्त्रीलाई नदिने, सांसदलाई नदिने, नयाँ आएकालाई दिने कि नदिने सूचना मैले प्राप्त गरेको छु । यसमा कुनै भ्रममा नपर्नुहोला, पार्टीले कुनै निर्णय गरेको छैन ।’
रास्वपा आयोगका एक पूर्वपदाधिकारीले राजनीतिमा देखिएको तीन प्रवृत्तिमध्ये कुन बाटो जान लागेको हो भनेर प्रश्न उठाए । ‘एउटा ओली प्रवृत्ति छ, जसले एकथरीलाई पाखा लगाएर शक्ति केन्द्रित गर्यो । अहिले उसको हालत के छ ?, दोस्रो प्रचण्ड प्रवृत्ति सबैलाई मिलाउँछु भन्दा आज कहाँ पुग्यो ? अर्को देउवा प्रवृत्ति–पार्टीभित्र सधैँ विभाजित रोल खेलेर शक्तिमा रहिराखे, उनी कहाँ पुगे । यी तीन पथमध्ये रास्वपा कता जाँदै छ,’ उनको प्रश्न थियो ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले महाधिवेशनमा व्यवस्थापकीय कमजोरी भएको स्वीकार गरे । बिहीबार पत्रकार भेटघाटमा बोल्ने क्रममा नयाँ पार्टी भएकाले अनुभवको कमीका कारण कमजोरी भएको उनले स्विकारे ।‘मेरो कुरा भन्नुहुन्छ भने विगतमा म कुनै पार्टीको पनि सदस्य थिइनँ । पहिलो पार्टी नै मेरो यही हो । महाविधेशनबारे हाम्रो अनुभव थिएन । हामी विस्तारै सिक्दैछौँ । अर्को पटकदेखि यस्तो कमजोरी हुँदैन,’ उनले भने ।
२०७९ सालमा पुराना पार्टीप्रति प्रश्न उठाएर उदाएको रास्वपाले अप्रत्यासित रूपमा २० सिट जितेको थियो । गत भदौमा जेनजी आन्दोलनले पुरानो सत्तालाई विस्तापित गर्यो । फागुनमा भएको निर्वाचनमा दुइ तिहाइ अर्थात् १८२ सिट जितेर सत्ताको नेतृत्व गरिरहेको छ ।
पूर्वानुमान गरेभन्दा झण्डै दुई तिहाइ मत ल्याएको रास्वपालाई भारी पर्ने देखिन्छ । आक्रोशित कार्यकर्ताहरू भन्न थालेका छन्– आन्तरिक व्यवस्थापन राम्रोसँग गर्न नसक्नेले देशको व्यवस्थापन कसरी गर्लान् ? प्रथम महाधिवेशनमा भोट हाल्न जापान, मध्यर्पूव, युरोप अमेरिकादेखि आएकाहरू निराश भएर फर्किन थालेका छन् ।
अर्का महामन्त्री भूपदेव शाहले जनताले नसेचेको मत दिएकाले अब पार्टीलाई व्यवस्थित बनाएर लैजानुपर्ने बताए । ‘ठुलो दल भइन्छ भन्ने थियो । तर जनताले नसोचेको दुइ तिहाइ मत दिए । जनमतको भावनाअनुसार पार्टीलाई व्यवस्थित बनाएर लैजानुपर्छ,’ शाहले भने ।
यसैबिच महाधिवेशनमा आज केन्द्रीय सदस्य पदका लागि मतदानको कार्यक्रम छ । पहिला साढे ८ बजेदेखि हुने भनिए पनि मतदानको समय फेरि परिवर्तन गरिएको छ । अब आजै राति १० बजेदेखि मतदान हुने भएको छ । मतदान भोलि बिहान १० बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । जसका लागि विद्युतीय मेसिनका प्राविधिकहरूले काम गरिरहेका निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन् ।
९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण