शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा

शुक्रबार, १२ असार २०८३, ०४ : ०४
शुक्रबार, १२ असार २०८३

सारांश

  • आइभरी कोस्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ई' को निर्णायक खेलमा कुरासाओलाई २-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
  • स्टार खेलाडी निकोलस पेपेले खेलको सातौँ मिनेटमा सुरुवाती अग्रता दिलाए भने ६४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै जित सुनिश्चित गरे ।
  • यस समूहबाट ४ पटकको विश्व विजेता जर्मनी शीर्ष स्थानमा, आइभरी कोस्ट उपविजेता र जर्मनीलाई स्तब्ध पारेको इक्वेडर 'उत्कृष्ट तेस्रो टोली' को कोटाबाट नकआउट चरणमा पुगेका छन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को निर्णायक खेलमा कुरासाओलाई पराजित गर्दै आइभरी कोस्टले ऐतिहासिक सफलता हात पारेको छ । शुक्रबार बिहान भएको प्रतिस्पर्धामा कुरासाओमाथि २–० गोल अन्तरको सहज जित निकाल्दै आइभरी कोस्टले पहिलो पटक विश्वकपको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो । आइभरी कोस्टलाई यो ऐतिहासिक सफलता दिलाउन स्टार खेलाडी निकोलस पेपे नायक बने । उनले खेलको सातौँ मिनेटमै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ६४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै जित सुनिश्चित गरेका थिए ।

४ पटकको विश्व विजेता जर्मनी ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेताका रूपमा अघिल्लो चरण प्रवेश गरेको छ । समान ६ अंक नै जोडेको आइभरी कोस्टले पनि २ जित र १ हारको नतिजा निकाले पनि गोल अन्तरमा जर्मनीभन्दा पछि पर्दै समूह उपविजेता बनेको छ । हारका बाबजुद जर्मनीको बलियो गोल अन्तरले उसलाई शीर्ष स्थानमा टिकाइराखेको हो ।

यसैगरी, आजै भएको अर्को रोमान्चक खेलमा जर्मनीलाई स्तब्ध पारेको इक्वेडरले १ जित, १ बराबरी र १ हारको नतिजासहित ४ अंक जोडेर तालिकाको तेस्रो स्थान हासिल गरेको छ । अंक तालिकामा तेस्रो स्थानमा रहे पनि इक्वेडरले ‘उत्कृष्ट तेस्रो टोली’ को कोटाबाट नकआउट चरणको यात्रा सुरक्षित गर्ने तर्फ अग्रसर भएकाे छ । अर्कातर्फ, ३ खेलमा मात्र १ अंक जोडेको कुरासाओ भने समूह चरणबाटै बाहिरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप