शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

चर्को गर्मीका कारण पेरिसकाे सार्वजनिक स्थानमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

शुक्रबार, १२ असार २०८३, १२ : ०२
शुक्रबार, १२ असार २०८३

सारांश

  • पेरिसमा अत्यधिक गर्मीका कारण सार्वजनिक स्थानमा मदिरा बिक्री र सेवनमा अस्थायी प्रतिबन्ध लगाइएको छ।
  • अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले र स्वास्थ्य जोखिम बढेकाले यो निर्णय लिइएको हो।
  • लगातार उच्च तापक्रमका कारण फ्रान्सले नयाँ गर्मीको रेकर्ड बनाएको छ र यो गर्मी जलवायु संकटको संकेत भएको बताइएको छ।

पेरिस । युरोपभर फैलिएको अत्यधिक गर्मीको लहरका कारण फ्रान्सको राजधानी पेरिसमा अस्पतालमाथिको चाप कम गर्न सार्वजनिक स्थानमा मदिरा सेवन र बिक्रीमा अस्थायी प्रतिबन्ध लगाइएको छ । फ्रान्सेली अधिकारीहरूका अनुसार शुक्रबार दिउँसो १२ बजेदेखि शनिवार बिहान ७ बजेसम्म तथा शनिवार साँझदेखि आइतबार बिहानसम्म सार्वजनिक स्थानमा मदिरा सेवन गर्न पाइने छैन ।

त्यस्तै, यी अवधिमा ‘टेकअवे’ अर्थात् बाहिर लैजान मिल्ने गरी मदिरा बिक्रीसमेत रोक लगाइएको छ । यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन ।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले गर्मीका कारण स्वास्थ्य जोखिम बढेकाले उच्च सतर्कता अपनाइएको र अस्पतालमा थप स्वास्थ्यकर्मी परिचालन गरिने बताएका छन् । पेरिसका प्रहरी प्रमुख पात्रिस फोरले अस्पतालहरूमा बिरामीको चाप अत्यधिक बढेकाले यस्तो निर्णय लिनुपरेको बताएका छन् । यसैबिच, संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन प्रमुख साइमन स्टिलले युरोपको यो भीषण गर्मी जलवायु संकटको स्पष्ट संकेत भएको भन्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाउन, वन संरक्षण गर्न र जलवायु अनुकूलनका उपाय तीव्र बनाउन आग्रह गरेका छन् ।

लगातार उच्च तापक्रमका कारण फ्रान्सले लगातार दोस्रो दिन आफ्नो सबैभन्दा तातो दिनको नयाँ रेकर्ड बनाएको छ । मौसम विभागका अनुसार बुधबार रातिको औसत न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस पुगेको थियो भने नान्त सहरमा रातिको तापक्रम २७।२ डिग्री सेल्सियस मापन गरिएको थियो । फ्रान्सकी स्वास्थ्यमन्त्री स्टेफानी रिस्टले अत्यधिक गर्मीले वृद्धवृद्धा मात्र होइन, युवा पनि प्रभावित भइरहेको बताएकी छिन् । उनका अनुसार पेरिसमा २४ घण्टाभित्र सामान्य अवस्थाको तुलनामा चार गुणा बढी हृदयघातका घटना एम्बुलेन्स सेवामा दर्ता भएका छन् ।

पेरिसका मेयर इमानुएल ग्रेगोआरले पनि अत्यधिक गर्मीका कारण मृत्युदर बढ्दै गएको संकेत गर्दै विशेषगरी युवाहरूलाई दिउँसोको समयमा दौडने वा कडा शारीरिक व्यायाम नगर्न आग्रह गरेका छन् । यसैबिच, अत्यधिक गर्मीको लहर अब पूर्वी युरोपतर्फ सर्ने अनुमान गरिएको छ । जर्मनीमा शुक्रबार तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ भने चेक गणतन्त्रमा पनि अत्यधिक गर्मीको चेतावनी जारी गरिएको छ । इटालीमा भने आगामी सोमबार ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप