शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
सहकारी

कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?

शुक्रबार, १२ असार २०८३, १९ : १७
शुक्रबार, १२ असार २०८३

सारांश

  • सहकारीहरूले विशेष गरी कृषि, दुग्ध र चिया क्षेत्रमा किसानको जीवनस्तर उकास्न र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
  • २०४८ सालको सहकारी ऐनपछि साना किसान विकास आयोजनाहरू सहकारीमा रूपान्तरण हुँदा ग्रामीण अर्थतन्त्रमा सुधार आएको छ, जसले किसानलाई सहुलीयतपूर्ण ऋण र बजार पहुँच प्रदान गरेको छ।
  • बचत तथा ऋणको कारोबार गर्ने केही सहकारीको बदनामीका कारण उत्पादनशील सहकारीहरूले पनि सरकारी नीति र सुविधाहरूमा कठिनाई भोगिरहेका छन्।

काठमाडौँ । पछिल्लो समय ‘सहकारी’ शब्द सुन्नेबित्तिकै धेरैको निधार खुम्चिन्छ । बचत तथा ऋणको नाममा खोलिएका केही संस्थाले समानान्तर बैंकिङ कारोबार गर्दा र बचत हिनामिना गर्दा समग्र सहकारी क्षेत्र नै अहिले बदनाम छ । तर धेरै ठाउँमा अझै पनि सहकारी उत्तिकै प्रभावकारी र महत्त्वपूर्ण पनि छ । दूरदराजका धेरै ठाउँमा यो साँच्चिकै प्रभावकारी पनि बनेको छ ।

उत्पादनशील क्षेत्रमा लागेका कृषि, दुग्ध र चियाजस्ता सहकारीहरूले गाउँको अर्थतन्त्र मात्रै धानेका छैनन्, लाखौँ किसानको जीवनस्तर नै उकासेका छन् ।

२०४८ सालमा सहकारीको योगदान

२०४८ सालताकाको नेपालको ग्रामीण अर्थतन्त्र निकै कमजोर थियो । त्यसबेला गाउँमा बैंक तथा वित्तीय संस्थाहरूको पहुँच शून्यप्रायः थियो । व्यावसायिक कृषि त परको कुरा, निर्वाहमुखी खेती गर्न बिउ र मल किन्नसमेत किसानले गाउँका साहुहरूकै भर पर्नुपर्थ्यो । चर्को ब्याजमा ऋण लिनुपर्ने बाध्यता थियो । गाउँमा दुई–चार रुपैयाँ बचत गर्नुपर्छ भन्ने संस्कारको विकास नै भएको थिएन । किसानले फलाएको वस्तुले बजार पाउँदैनथ्यो, बिचौलियाको राज थियो ।

तर २०४८ सालमा सहकारी ऐन आएपछि र २०५० को दशकमा साना किसान विकास आयोजनाहरू सहकारीमा रूपान्तरण हुन थालेपछि गाउँको कथा विस्तारै फेरियो । थोरै पुँजी जम्मा गरेर सुरु भएको सहकारी अभियानले अहिले नेपालको कृषि क्षेत्रलाई औद्योगिकीकरण र निर्यातको बाटोमा डोहोर्‍याइरहेको छ ।

गाउँको पुँजी, गाउँमै लगानी

अहिले कृषि सहकारीहरू किसानका लागि बैंक, सल्लाहकार र बजार सबै थोक बनेका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको तथ्यांक अनुसार देशका ७७ वटै जिल्लामा यसको सञ्जाल फैलिएको छ । ११५१ वटा प्रारम्भिक संस्थाहरूमार्फत १३ लाखभन्दा बढी घरपरिवार यसमा आबद्ध छन् ।

बिनाधितो समूह जमानीमा ५ लाखसम्म र धितोमा ५० लाखसम्म सहुलियतपूर्ण ऋण पाउने भएपछि किसानहरू साहुको ऋणबाट मुक्त भएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघका कार्यक्रम अधिकृत कपिल गौतम उत्पादनशील सहकारीले ग्रामीण अर्थतन्त्रको जग बलियो बनाएको बताउँछन् । उनी भन्छन्, 'हामीले सहकारीलाई अब केवल ऋण लगानीमा मात्र सीमित राखेका छैनौँ । उत्पादनदेखि प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ हुँदै बजारीकरणसम्मको मूल्य शृङ्खला विकास गरी सहकारीलाई एग्रिबिजनेस हब का रूपमा विकास गर्दैछौँ ।'

गौतमका अनुसार अहिले कृषि सहकारीहरूकै पहलमा १५० भन्दा बढी संस्थाहरूले 'किसानको पोको' नामबाट सहकारी पसल चलाएका छन् भने बीउ प्रशोधन, चिस्यान केन्द्र र कस्टम हायरिङ सेन्टर (कृषि औजार) सञ्चालन भइरहेका छन् ।

दुग्ध क्षेत्रः गाउँमा दैनिक १० करोडको नगद प्रवाह

नेपालको दुग्ध क्षेत्रलाई यहाँसम्म ल्याइपुर्‍याउन सहकारीको योगदान ऐतिहासिक छ । देशका ६४ जिल्लामा फैलिएको दुग्ध सहकारीको सञ्जालमा करिब ६ लाख घरपरिवार आबद्ध छन् । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा दुग्ध सहकारीले गाउँमा दैनिक रूपमा ल्याइरहेको आर्थिक क्रान्तिको चर्चा गर्छन् ।

‘हिजो गाउँमा दुध बिक्री हुँदैनथ्यो, आज सहकारीमार्फत दैनिक १२ लाख लिटर दुध सङ्कलन गरी हामीले औपचारिक बजारमा पठाइरहेका छौँ,’ सापकोटा भन्छन्, ‘यही दुधको पैसा बापत दैनिक १० करोडभन्दा बढी रकम सहरबाट ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको छ । दुधलाई एउटा व्यावसायिक वस्तु हो भनेर स्थापित गराउन र किसानलाई आत्मनिर्भर बनाउन सहकारीले नै अगुवाइ गरेको हो ।’

उनका अनुसार दुग्ध उद्योगमा ३० अर्बभन्दा बढी लगानी भइसकेको छ भने राज्यलाई वार्षिक ३ अर्ब राजस्व यसै क्षेत्रबाट गइरहेको छ ।

चिया सहकारीः गाउँको उत्पादन, युरोपको बजार

सहकारीमार्फत चिया किसानहरूले तय गरेको यात्रा झनै लोभलाग्दो छ । पूर्वी पहाडदेखि मध्य नेपालसम्म फैलिएका १०१ प्रारम्भिक चिया सहकारीमार्फत ९,१०० भन्दा बढी कृषक परिवार सङ्गठित छन् । उनीहरूले ५००० हेक्टरमा चिया खेती गरिरहेका छन् ।

केन्द्रीय चिया सहकारी संघ लिका उपाध्यक्ष प्रेम घिमिरे किसानले फलाएको चियाले अन्तर्राष्ट्रिय बजार तताइरहेको बताउँछन् ।

‘साना र छरिएर रहेका किसानलाई सङ्गठित गरी हामीले २१ वटा साना तथा मझौला चिया प्रशोधन कारखाना स्थापना गरेका छौँ,’ उपाध्यक्ष घिमिरे भन्छन्, ‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त महँगो अर्गानिक र फेयर ट्रेड प्रमाणीकरण सहकारीकै पहलमा भएको छ । अहिले सहकारीबाट उत्पादित वार्षिक करिब ४० करोड रुपैयाँ बराबरको तयारी चिया युरोपलगायतका देशमा निर्यात भइरहेको छ ।’

महिला सशक्तीकरण र रोजगारी सिर्जनामा क्रान्ति

सहकारीले पैसा मात्र जम्मा गरेको छैन, समाजको पिँधमा रहेका महिलाहरूलाई घरको चुलोचौकोबाट निकालेर समाजको नेतृत्व तहमा पुर्‍याएको छ ।

तथ्याङ्क हेर्ने हो भने साना किसान कृषि सहकारीमा आबद्ध १३ लाख सदस्यमध्ये ८२ प्रतिशत महिला छन् । त्यस्तै, चिया टिप्ने काममा ६० प्रतिशतभन्दा बढी महिलाहरू संलग्न छन् । महिलाहरूले नै अहिले गाउँ–गाउँमा सहकारीका सञ्चालक समिति हाँकेका छन्, जसले उनीहरूलाई आर्थिक रूपमा मात्र नभई सामाजिक रूपमा पनि सशक्त बनाएको छ ।

रोजगारी सिर्जनामा पनि उत्पादनशील सहकारीले राज्यलाई ठुलो राहत दिएका छन् । दुग्ध क्षेत्रमा ३० हजारभन्दा बढीले प्रत्यक्ष र ५ लाखभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएका छन् ।

चिया उत्पादनमा करिब ३५ हजार किसान संलग्न छन् भने उद्योगहरूमा सयौँले काम पाएका छन् । साना किसान सहकारीहरूमा मात्रै ७ हजार २०० भन्दा बढी कर्मचारी कार्यरत छन् भने ५२ हजार सामाजिक अगुवा र ५ हजार ५ सय युवा व्यवसायी तयार भएका छन् ।

पूर्वाधार विकास र कृषि उद्योगको लहर

कुनै बेला मल र बीउ किन्न ऋण दिने सहकारीहरू अहिले आफैँ उद्योगी बनेका छन् । कृषि सहकारीहरूले ४७ वटा दुग्ध सङ्कलन तथा प्रशोधन केन्द्र, १० वटा धान मिल, तेल मिल र कुचो निर्माण उद्योग चलाएका छन् ।

चिया सहकारीहरू आफैँले विदेशी मेसिनरी ल्याएर अर्थोडक्स र सीटीसी चिया प्याकेजिङ तथा ब्रान्डिङ गरिरहेका छन् । झापाको महारानीझोडामा रहेको सहकारीले बीउ प्रशोधन र साइलेज (पशु आहार) उद्योग नै चलाएर उदाहरणीय काम गरेको छ ।

बदनाम गर्ने बचत तथा ऋण, ओझेलमा उत्पादनशील सहकारी

आज सहरमा बचत तथा ऋणको नाममा खोलिएका केही संस्थाहरूले सदस्यको बचत अनुत्पादक क्षेत्र (जग्गा प्लटिङ, सेयर बजार र निजी व्यापार) मा लगानी गरे । सर्वसाधारणको अर्बौं रकम डुब्यो । यिनीहरूले सहकारीको विश्वव्यापी मूल्य मान्यताविपरीत 'समानान्तर बैंक'को अभ्यास गरे ।

यही बदनामीको हुरीले अहिले गाउँमा पसिना बगाइरहेका कृषि, दुग्ध र चिया सहकारीहरूलाई पनि नराम्ररी प्रभावित पारेको छ ।

राज्यका नीति निर्माताहरूले सहरका ठग सहकारी र गाउँका उत्पादक सहकारीबिचको फरक नबुझ्दा उत्पादनशील सहकारीले दुःख पाइरहेका छन् ।

चिया सहकारीहरूले निर्यात अनुदान बन्द भएको गुनासो गरेका छन् । दुग्ध सहकारीहरूले किसानले उत्पादन गरेको दुधको बजार सुनिश्चित नभएको र लामो समयसम्म भुक्तानी नपाएको (मिल्क होलिडे) पीडा भोगेका छन् । उत्पादनमूलक सहकारीले पाउनुपर्ने कर छुट र विद्युत् महसुल छुटसमेत राज्यले कटौती गरेको छ ।

‘बचत तथा ऋणको कारोबार गरेर भाग्नेहरूका कारण हामी उत्पादनमा रगत पसिना बगाउनेहरू पनि एउटै डालोमा पर्‍यौँ,’ दुग्ध र चिया सहकारीका अगुवाहरूको साझा गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप