सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
सारांश
- सरकार गठन भएको तीन महिनामा सेयर बजार परिसूचक (नेप्से) २९५०.१६ बाट २६४९.७६ विन्दुमा झरेको छ, जसले लगानीकर्ताको झण्डै ४ खर्ब ७१ अर्बको सम्पत्ति गुमाएको छ।
- सरकारले बजेट ल्याएपछि सेयर बजार घट्ने क्रमले तीव्रता पाएको छ, बजेट भाषणपछि बजार ११७ अंकभन्दा बढीले घटेको छ।
- सेयर बजार घट्नुमा पुँजीबजारलाई हेर्ने राज्यको नीति, अर्थ मन्त्रालयको अदूरदर्शी कदम, राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता, बजेटको निराशाजनक व्यवस्था र पुँजीगत लाभकरको दोहोरो नीति मुख्य कारण रहेको पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।
काठमाडौँ । गत चैत १३ गते नेपालको सेयर बजार परिसूचक (नेप्से) २९५०.१६ को विन्दुमा थियो । यो सूचक शुक्रबार (जेठ १२ गते) बजार परिसूचक २६४९.७६ विन्दुमा झरेको छ । यस हिसाबले तीन महिनामा बजारले झण्डै ३०१ अंक गुमाएको देखिन्छ ।
बालेन्द्र शाह (बालेन) नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको तीन महिना पूरा भएको छ । यो अवधिमा गुमेको परिसूचकले बजारका लगानीकर्ताको झण्डै ४ खर्ब ७१ अर्बको सम्पत्ति गुमेको छ । बालेन प्रधानमन्त्री नियुक्त भएको दिन सेयर बजारको कुल सम्पत्ति (पुँजीकरण) ५० खर्ब ९ अर्ब रुपैयाँ रहेको थियो । तर अहिले यो आकार खुम्चिएर ४५ खर्ब ३८ अर्ब रुपैयाँमा सीमित हुन पुगेको छ ।
यो अवधिमा कुल ६२ दिन कारोबार भएको थियो । जसमा २३ दिन मात्रै बजार बढेको छ । ३९ दिनमा बजार नकारात्मक भएर बन्द भएको देखिन्छ । अर्थात् कारोबार भएको झण्डै ६० प्रतिशत दिनमा मात्रै बजार सकारात्मक भएर बन्द भएको देखिन्छ ।
अझ सरकारले ल्याएको बजेटपछि त बजार घट्ने क्रमले तीव्रता पाएको छ । बजेट भाषण सार्वजनिक भएको दिन २७६६.७८ विन्दुमा रहेको सेयर बजार अहिले ११७ अंकभन्दा बढीले घटिसकेको छ । बजेटपछिका २० कारोबार दिनको तथ्यांक हेर्ने हो भने सेयर बजार जम्मा ५ दिन मात्रै बढेको छ भने १५ दिन घटेको छ । अर्थात् यो अवधिका तीन चौथाई दिनमा बजार घटेको तथ्यांक छ ।
तर यो सूचक कुनै क्षेत्रगत नीतिका कारणले तलमाथि भएको पनि होइन । यो अवधिमा एकाधबाहेक सबै सूचक घटेको देखिन्छ । चैत १३ देखि हालसम्मको अवस्था हेर्ने हो भने उत्पादनमूलक बाहेक सबै सूचक घटेका छन् । जेठ १५ देखि अहिलेसम्म फाइनान्स बाहेकका सूचकमा गिरावट देखिएको छ । तीन महिनाको अवधिमा अन्य समूह सबैभन्दा धेरै २०.०६ प्रतिशतले घट्दा लगानी समूह १३.५७ प्रतिशत, विकास बैंक ११.५१ प्रतिशत र लघुवित्त समूह १०.१८ प्रतिशतले घटेको देखिन्छ ।

किन घट्यो सेयर बजार ?
सरकार गठन हुँदैगर्दा यो सरकारप्रति आम जनताजस्तै सेयर बजारका लगानीकर्ताहरुमा निकै ठुलो आशा थियो । अर्थतन्त्रको ऐना र आम लगानीकर्ताको मनोविज्ञानको आधार रहेको बजार युवा प्रधानमन्त्री शाह र अर्थविद् वाग्लेले राम्रोसँग सम्हाल्छन् भन्ने धेरैको विश्वास गरेका थिए । तर तीन महिनाले यसलाई पुष्टि गर्न नसकेको नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।
कुल बजार पुँजीकरण र नेप्से सूचकले आएको भारी गिरावटले आम लगानीकर्ताको मनोबल कतिसम्म कमजोर र धरासायी छ भन्ने प्रष्ट पारेको उनको भनाइ छ । यसमा पुँजीबजारलाई हेर्ने राज्यको नीति, अर्थ मन्त्रालयको अदूरदर्शी कदम, राजनीतिक अस्थिरता र नीतिगत अनिश्चितता मुख्य कारण रहेको रौनियार बताउँछन् ।
‘नयाँ सरकार आएपछि सेयर बजार बढ्छ भन्ने धेरैलाई आशा पनि थियो, उत्साह पनि थियो । त्यो अनुरुप हुन पनि भयो । तर सुरुमै सरकारले राजनीतिक व्यक्तिलाई पक्राउ गर्न थालेपछि अलिकति बजार झस्कियो,’ रौनियार भन्छन् ।

उनका अनुसार अर्थतन्त्र पारदर्शी हुनुपर्ने र बदमासी गर्ने जो कोहीलाई कारबाही हुनुपर्ने कुरामा लगानीकर्ताको दुईमत नभए पनि बजारले सधैं स्पष्टता खोज्छन् । तर आफ्नै कदमले सिर्जना गरेको मनोवैज्ञानिक त्रासलाई चिर्न सरकार चुक्दा बजार झस्किएको उनी बताउँछन् ।
दोस्रो कारण बजेटसँग सम्बन्धित व्यवस्था रहेको उनको भनाइ छ । यसमा अर्थमन्त्री डा. वाग्लेले गरेको बाचा र बजेटले देखाएको निराशा मुख्य कारण रहेको उनी बताउँछन् ।
‘अर्थमन्त्रीजीले सुधारको धेरै कुरा भन्नुभयो, प्रमिस पनि गर्नुभयो, तर बजेट त्यो अनुरुप आएन । लगानीकर्ताले भोग्ने अहिले आजको कुरा भोलि नै कार्यान्वयन हुने भन्ने खालको केही पनि देखिएन,’ रौनियार भन्छन्, ‘भोलि होला पर्सि होला, भोलिको कुराहरु अनिश्चितता र पछि होला भन्ने कुराहरु क्लाउडी, अनसर्टेन कुरालाई बजारले पचाउँदैन । एक दिन दुई दिन बढ्ला, त्यसपछि वास्तवमा के हो त भन्ने कुरा बजारले खोज्छ, त्यो नपाएको भएर बजार घटेको हो ।’
बजेटका कारण सेयर बजारमा परेको प्रभावको एउटा कारण बजेटमार्फत अर्थमन्त्रीले लिएको पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) सम्बन्धी दोहोरो चरित्रको नीति भएको उनको भनाइ छ । अर्थमन्त्रीले बजेटमार्फत व्यक्तिगत आयकरको ३९ प्रतिशतको स्ल्याबलाई ३० प्रतिशतमा झार्नु र १० लाखसम्मको आयमा कर छुट दिनु सकारात्मक भएपनि पुँजीबजारलाई भने झुक्याउने काम गरेको उनी बताउँछन् । लगानीकर्ताले माग गर्दै आएको पुँजीगत लाभकरलाई अन्तिम भन्ने देखाएर पुँजीगत लाभकरमा भारी वृद्धि गरेपछि लगानीकर्ता झस्किएको उनको भनाइ छ ।
‘अर्थमन्त्रीजीले के गर्नुभयो भने क्यापिटल गेन ट्याक्स फुल एण्ड फाइनल हो भन्नुभयो । त्यसबापत उहाँले एक हातले दिनुभयो, अर्को हातले लिनुभयो । त्यो भनेको क्यापिटल गेन ट्याक्स ५ लाई ७.५ प्रतिशत र ७.५ लाई १० प्रतिशत गरिदिनुभयो । बजार नै डामाडोल भएको परिस्थितिमा यो ठुलो ब्लन्डर हो अर्थमन्त्रीको ।’
अरु पनि छन् सहायक कारण
तर बजार घट्नुमा अन्य सहायक कारणहरु पनि रहेको रौनियार बताउँछन् । खासगरी अर्थतन्त्रमा देखिएको मन्दी, बजारको तरलता समस्या, धितोपत्र बोर्डको नयाँ नेतृत्व चयनसँगै बजारमा बढ्नसक्ने आईपीओ सप्लाईको मनोविज्ञान तथा संसदमा विचाराधिक बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा भएका बैंकर र व्यवसायी छुट्याउने विधेयक लगायतले पनि यसमा प्रभाव पारेको हुनसक्ने उनको भनाइ छ ।
अहिले बैंकहरूमा करिब १४ खर्ब रुपैयाँ बराबरको तरलता छ । बजारमा ऋणको माग नहुँदा नेपाल राष्ट्र बैंकले २.७५ प्रतिशत ब्याजदरमा बजारबाट निरन्तर प्रशोचन गरिरहेको छ । पैसा यति सस्तो हुँदा र बैंकमा फालाफाल हुँदा पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको छैन । यसको एउटै कारण लगानीकर्तामा गुमेको विश्वास भएको पूर्व अध्यक्ष रौनियार बताउँछन् ।
‘मान्छेहरुको इकोनोमीमा विश्वास नै भएन । अब अर्थमन्त्रीले विश्वास फर्काएर ल्याउनुपर्ने हो तर अहिलेसम्म पुँजीबजारले अथवा इकोनोमीले कहीँ पनि कहिल्यै देखेको थिइनँ,’ उनी भन्छन् । अहिलेको अवस्थामा माग बढाउनका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर बजारमा लगानी गर्न दिइएको कडा समयसीमा हटाउनुपर्ने उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
-
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
-
फ्रान्स र नर्वेको हुनेछ रोचक भिडन्त, उरुग्वे र स्पेनमा को बलियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण