शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल

सीमामा खटिने सुरक्षाकर्मीलाई आधुनिक स्रोत-साधनको खाँचो
शुक्रबार, १२ असार २०८३, १४ : १७
शुक्रबार, १२ असार २०८३

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लागुऔषधसँग सम्बन्धित विभिन्न ऐन तथा कानुनहरूले सशस्त्र प्रहरी बल नेपालको भूमिकालाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

लागुऔषध नियन्त्रण तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

सीमा सुरक्षामा परिचालित सशस्त्र प्रहरी बलको परिचालनलाई थप प्रभावकारी बनाउन विद्यमान ऐन-कानुन परिमार्जन गरी उनीहरूको भूमिका स्पष्ट पार्नुपर्ने महानिरीक्षक पौडेलको भनाइ छ । उनले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि कार्यक्षेत्रमा खटिने निकायहरूलाई आधुनिक स्रोत र साधनको व्यवस्था गर्नुपर्ने तर्फ पनि जोड दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले तीनवटै तहका सरकारको नीति तथा कार्यक्रममा लागुऔषध नियन्त्रणको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए । यसका लागि देशभरका वडास्तरबाटै प्रत्येक टोलमा जनचेतनामूलक अभियानहरू सञ्चालन गर्नुपर्ने उनले स्पष्ट पारे ।

कार्यक्रममा उनले भने, ‘सीमा सुरक्षामा परिचालित सशस्त्र प्रहरी बल नेपालको परिचालनलाई प्रभावकारी बनाउन लागुऔषधसँग सम्बन्धित विभिन्न ऐन, कानुनहरूले सशस्त्र प्रहरी बल नेपालको भूमिकालाई पनि स्पष्टता तथा सम्बोधन गर्नुपर्ने देखिन्छ । विद्यालयका सबै तहका शैक्षिक पाठ्यक्रममा लागुऔषध दुर्व्यसन तथा यसका असरहरूको बारेमा अनिवार्य पठनपाठन एवं समाजका सबै तहमा सचेतना र जागरण ल्याउनुपर्ने पनि देखिन्छ ।’

उनले अगाडि थपे, ‘तीनै तहका सरकारका नीति तथा कार्यक्रमहरूमा लागुऔषधलाई प्राथमिकताका साथ देशभरि वडाले प्रत्येक टोलहरूमा जनचेतनामूलक अभियानहरू सञ्चालन गर्नुपर्ने पनि देखिन्छ । लागुऔषध दुर्व्यसनको नियन्त्रण तथा रोकथामका लागि परिचालित हुने निकायहरूलाई आधुनिक स्रोत साधनहरूको व्यवस्था हुनुपर्ने पनि हामीले महसुस गरेका छौँ ।’

महानिरीक्षक पौडेलले विद्यालयका सबै तहका शैक्षिक पाठ्यक्रममा लागुऔषध दुर्व्यसन र यसका असरहरूबारे अनिवार्य पठनपाठन गराउनुपर्ने तथा समाजका सबै तहमा सचेतना र जागरण ल्याउनुपर्ने कुरामा विशेष जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप