शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री

शुक्रबार, १२ असार २०८३, १५ : १०
शुक्रबार, १२ असार २०८३

सारांश

  • सांसद रामकुमारी झाँक्रीले गत वर्षको जेनजी आन्दोलनको घटनामा मानव अधिकार आयोगको सिफारिस कार्यक्षेत्र बाहिर गएको भन्दै आपत्ति जनाएकी छन् ।
  • उनले उक्त घटनाको छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा छुट्टै उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेकी छन् ।
  • झाँक्रीले देश जलाउने कार्यमा संलग्नहरूलाई कारबाही गरी नेपालको स्वाभिमान उठाउनुपर्ने र गरिबहरू पनि सरकारविरुद्ध उभिनुपर्ने बताएकी छन् ।

काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले गत वर्षको २३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाएकी छन् । 

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएकी हुन् ।

अब मानव अधिकार आयोगको कार्यक्षेत्रका बारेमा नयाँ बहस गर्नुपर्ने सांसद झाँक्रीको भनाइ छ । उनले जेनजी आन्दोलनका क्रममा भएको विध्वंसको छानबिन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने माग समेत गरिन् । सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरी सुनियोजित रूपमा देश जलाउने कार्यमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताइन् ।

बैठकमा उनले भनिन्, ‘मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा अब बहस हुनपर्‍यो । र भदौ २३ र २४ गतेको घटनामा सरकारले एउटा छानबिन आयोग बनाओस् । उक्त आयोग सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा बनोस् । र भदौ २३ र २४ गतेको घटना सुनियोजित हिसाबले पूर्वतयारी गरेर कसले यो आन्दोलन चलाउनको लागि निर्देशन दियो, निर्णय गर्‍यो र फिल्डमा गएर देश जलाउने काम गर्‍यो ? यी देश जलाउनेहरू, देश द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ । र नेपालको स्वाभिमान माथि उठाउनुपर्छ । हामी चुप लाग्नु हुँदैन । अब गरिबहरू पनि उठ्नुपर्छ । किनभने यो सरकार मध्यम वर्ग र विदेशी दलालहरूको मात्र कुरा गरिरहेको छ ।’

सांसद झाँक्रीले वर्तमान सरकार मध्यम वर्ग र विदेशी दलालहरूको मात्र कुरा गरिरहेको आरोप लगाइन् । न्यून आय भएका र गरिबीको रेखामुनि रहेका समुदायहरू अब सरकारविरुद्ध खरो रूपमा उभिनुपर्ने समय आएको उनले उल्लेख गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप