कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
सारांश
- स्ट्रेट अफ होर्मुजमा कार्गो जहाजमाथि ड्रोन हमला भएपछि अमेरिकाले इरानी लक्ष्यहरूमा आक्रमण गरेको छ ।
- अमेरिकी सेन्ट्रल कमान्डले इरानका मिसाइल र ड्रोन भण्डारण केन्द्रहरू तथा तटीय राडार राखिएका स्थानहरूमा आक्रमण गरेको बताएको छ ।
- यस घटनापछि उक्त क्षेत्रमा फसेका हजारौँ नाविकहरूलाई उद्धार गर्ने योजना अघि बढाइएको थियो ।
न्युयोर्क । स्ट्रेट अफ होर्मुजमा एउटा कार्गो पानीजहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले इरानी लक्ष्यहरूमा आक्रमण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्धविरामको ‘मूर्खतापूर्ण उल्लंघन’ गरेको आरोप लगाएलगत्तै अमेरिकाले यो कदम चालेको हो ।
बिहीबार ‘वान–वे अट्याक ड्रोन’ ले पानीजहाजमा प्रहार गर्दा कुनै मानवीय क्षति भएको रिपोर्ट भने आएको छैन । तर, यो घटनापछि उक्त क्षेत्रमा फसेका हजारौँ नाविकहरूलाई उद्धार गर्ने योजना अघि बढाइएको थियो ।
यसको जवाफमा अमेरिकी सेन्ट्रल कमान्डले शुक्रबार इरानका मिसाइल र ड्रोन भण्डारण केन्द्रहरू तथा तटीय राडार राखिएका स्थानहरूमा आक्रमण गरेको बताएको छ । उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले भने यसको दोष अमेरिका र इजरायललाई दिएको छ ।
आक्रमणको घोषणा हुनुभन्दा केही समयअघि मात्रै अमेरिकाले इरानमाथि प्रत्याक्रमण गर्छ कि गर्दैन भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले ‘तपाईंहरूले देख्नुहुनेछ’ भनेका थिए ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले यो आक्रमणलाई ड्रोन हमलाप्रतिको ‘शक्तिशाली जवाफ’ भनेको छ । सेन्टकमले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘व्यापारिक पानीजहाजमाथि इरानी सेनाको अनुचित आक्रमणले स्पष्ट रूपमा युद्धविरामको उल्लंघन गरेको छ । साथै, महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापारिक मार्गमा व्यापार बढिरहेको बेला इरानको खतरनाक व्यवहारले जलयात्राको स्वतन्त्रतालाई कमजोर बनाएको छ ।’
जलमार्ग पार गर्ने व्यापारिक पानीजहाजहरूलाई सुरक्षित मार्गको समन्वय र सहयोग प्रदान गर्न अमेरिकी सेनाले निरन्तरता दिने पनि सेन्टकमले जनाएको छ । यद्यपि, अमेरिकी आक्रमणहरू एकपटक मात्रै गरिएको हो वा यो निरन्तर हुने ठूलो कारबाहीको हिस्सा हो भन्ने अझै स्पष्ट छैन ।
शुक्रबार ढिलो गरी आइआरजिसीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सन्धि तोड्ने अमेरिकी सत्ताले सधैँझैँ आफ्ना प्रतिबद्धताहरू उल्लंघन गरेको छ र होर्मुज जलमार्गमा एउटा पानीजहाजले अनधिकृत मार्ग प्रयोग गरेको जस्ता विभिन्न बहानामा इरानको तटमा हवाई आक्रमण गरेको छ । यदि यस्तो आक्रमण दोहोरियो भने हाम्रो जवाफ योभन्दा धेरै व्यापक हुनेछ ।’
आईआरजीसीले लेबनानमा युद्धविराम उल्लंघन गरेको भन्दै इजरायललाई पनि आरोप लगाएको छ । शुक्रबार वासिङ्टनमा इजरायल र लेबनानले शान्ति योजनाको रूपरेखा सम्झौतामा हस्ताक्षर गरेकै बेला यो घटना भएको हो । विद्यमान युद्धविरामका बाबजुद दक्षिणी लेबनानमा इजरायली सेना र इरान समर्थित हिजबुल्लाहबिच पछिल्लो समय सीमित भिडन्तहरू जारी छन् ।
फेब्रुअरीको अन्त्यतिर इरानविरुद्ध अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि तेहरानले उक्त जलमार्गलाई बन्द गरेको थियो । तेल र ग्यास ढुवानीका लागि महत्त्वपूर्ण मानिने यो जलमार्ग बन्द हुँदा विश्वव्यापी रूपमा तेलको मूल्य ह्वात्तै बढेको थियो भने मलखाद जस्ता अन्य अत्यावश्यक वस्तुहरूको ढुवानीसमेत ठप्प भएको थियो ।
अमेरिका र इरानबिच जुन १७ मा १४ बुँदे समझदारीपत्रमार्फत शत्रुता अन्त्य गर्ने सहमति भएको थियो । जसमा इरानले ६० दिनसम्म बिना कुनै शुल्क व्यापारिक पानीजहाजहरूको सुरक्षित आवतजावतका लागि ‘अधिकतम प्रयास’ गर्ने कुरा पनि उल्लेख थियो ।
अमेरिकी प्रत्याक्रमणपछि उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘यदि समझदारीपत्र कसरी लागू भइरहेको छ भन्नेमा इरानको असहमति छ भने, उनीहरूले फोन उठाउन सक्छन् । तर, हिंसाको जवाफ हिंसाबाटै दिइनेछ ।’ यता, इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले भने अमेरिकाले ‘वार्ताको बिचमै फेरि एकपटक इरानमाथि आक्रमण गरेको’ सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘युद्धविरामको यो लापरवाहपूर्ण उल्लंघनले सधैँझैँ उनीहरूलाई पछि हट्न र पछुताउन बाध्य बनाउनेछ । आरोप–प्रत्यारोपको खेल अब चल्नेवाला छैन ।’
शुक्रबार दिउँसो ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ड्रोन हमलाको जवाफ अमेरिकाले कसरी दिन्छ वा उनी युद्धविराम अझै कायम छ भन्ने मान्छन् कि मान्दैनन् भन्ने प्रश्नको सिधा उत्तर दिन अस्वीकार गरे । ‘तिमीहरूले थाहा पाउनेछौ,’ उनले भने, ‘हिजो उनीहरूले जसरी आक्रमण गरे, त्यो मलाई मन परेको छैन । उनीहरूले त्यसो गर्नु हुँदैनथ्यो ।’
इरानले किन यस्तो अपरेसन गर्यो जस्तो लाग्छ भन्ने प्रश्नमा ट्रम्पले मात्र यति भने, ‘उनीहरू अलिक फरक छन् ।’ पछिल्ला दिनहरूमा ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको दाबी गर्दै होर्मुज जलमार्ग पार गर्ने पानीजहाजहरूसँग शुल्क लिने सोच इरानले त्यागिसकेको बताएका थिए ।
बुधबार ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानले अमेरिकालाई ‘कुनै टोल ट्याक्स, कुनै बिमा शुल्क र अन्य कुनै पनि प्रकारको शुल्क नलिइने’ जानकारी दिएको उल्लेख गरेका थिए । उनले थपेका थिए, ‘यदि यो गलत जानकारी हो भने, वार्ता तुरुन्तै समाप्त हुनेछ ।’ जलमार्ग पार गर्ने ट्यांकरहरूसँग इरानले शुल्क लिइरहेको भन्ने रिपोर्टको अमेरिकाले निन्दा गरेको छ र धेरैले कुनै पनि प्रकारको शुल्क प्रणालीलाई अन्तर्राष्ट्रिय समुद्री कानुनको उल्लंघनको रूपमा हेर्छन् ।
मंगलबार इरानी र ओमानी अधिकारीहरूबिच ओमानको राजधानी मस्कटमा जलयात्राको भविष्यको व्यवस्थापनबारे छलफल भएको थियो । ओमानी विदेशमन्त्री बद्र अल–बुसैदीले दुवै देश ‘शुल्कमुक्त सुरक्षित मार्ग’प्रति प्रतिबद्ध रहेको बताएका थिए । तर, इरानका प्रमुख वार्ताकार मोहम्मद बगेर गालिबाफले राज्यसम्बद्ध समाचार माध्यमहरूलाई भनेका थिए, ‘सबैले यो बुझ्नुपर्छ कि होर्मुज जलमार्गको प्रशासन अब कहिल्यै पनि युद्धअघिको जस्तो अवस्थामा फर्किने छैन ।’
बिहीबार आक्रमणमा परेको कार्गो पानीजहाज सिंगापुरको झण्डावाहक ‘एभर लभ्ली’ थियो । बेलायती समुद्री सुरक्षा एजेन्सी (यूकेएमटिओ) का अनुसार, ओमानको डाहिट बन्दरगाहबाट ७.५ नटिकल माइल दक्षिण–पूर्वमा उक्त पानीजहाजमाथि प्रहार भएको थियो ।
पानीजहाजको स्वामित्व रहेको कम्पनी एभरग्रिनले आक्रमण हुँदा ‘एभर लभ्ली’ले युकेएमटिओले सिफारिस गरेको मार्ग नै पछ्याइरहेको जनाएको छ । ‘सबै चालक दलका सदस्यहरू, पानीजहाज र सम्पूर्ण कार्गो सुरक्षित छन्,’ कम्पनीले भनेको छ । यसैबिच, संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आइएमओ) ले युद्ध सुरु भएदेखि नै प्रमुख जलमार्गमा फसेका ११ हजारभन्दा बढी नाविकहरूलाई उद्धार गर्ने आफ्नो योजना हाललाई स्थगित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण