सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

साउदी अरबमा अरामको कम्पनीको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

सोमबार, १५ असार २०८३, ०५ : ३५
सोमबार, १५ असार २०८३

सारांश

  • साउदी अरबमा सरकारी तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
  • पूर्वी तटीय सहर रास तानुरामा स्थानीय समय अनुसार बिहान ६ बजे दुर्घटनामा परेको उक्त हेलिकप्टरमा सवार सबै १४ जना साउदी नागरिकको मृत्यु भएको पुष्टि भएको छ।
  • मध्यपूर्व कै सबैभन्दा ठुला तेल प्रशोधन केन्द्र रहेको रास तानुरा क्षेत्रमा तेल ढुवानी सुचारु भएको दुई दिनमै यो दुर्घटना भएको हो।

रियाद । साउदी अरबमा एक हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले आइतबार जानकारी दिएका छन्। 

साउदी प्रेस एजेन्सीका अनुसार सरकारी तेल कम्पनी ‘अरामको’ को स्वामित्वमा रहेको उक्त हेलिकप्टर पूर्वी तटीय सहर रास तानुरामा स्थानीय समय अनुसार बिहानको छ बजे दुर्घटनामा परेको हो। 

दुर्घटनामा परेर हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भएको पुष्टि भएको छ। सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबै १४ जना नै साउदी नागरिक हुन्। हेलिकप्टर के कारणले दुर्घटनामा पर्‍यो भन्नेबारे यकिन गर्न अहिले अनुसन्धान भइरहेको छ। 

घटनालाई लिएर अरामको कम्पनीले तत्काल कुनै आधिकारिक टिप्पणी गरेको छैन। यसैबिच, साउदी ऊर्जा मन्त्रालयले एक वक्तव्य जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

हेलिकप्टर दुर्घटना भएको रास तानुरा क्षेत्रमा अरामको कम्पनीको ठुलो तेल प्रशोधन केन्द्र रहेको छ, जुन मध्यपूर्व कै सबैभन्दा ठुला प्रशोधन केन्द्रहरू मध्ये एक मानिन्छ। रोयटर्स समाचार एजेन्सीका अनुसार मध्यपूर्वमा चर्किएको युद्धका कारण उक्त स्थानबाट झन्डै चार महिनादेखि कच्चा तेलको ढुवानी रोकिएको थियो। 

लामो समयको अन्तरालपछि कम्पनीले भर्खरै मात्र गएको शुक्रबारदेखि सो स्थानबाट पुनः कच्चा तेल ओसार्ने कार्य सुरु गरेको थियो। तेल ढुवानी सुचारु भएको दुई दिनमै यो दुःखद दुर्घटना भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप