चेतना पौडेल पक्राउ प्रकरण : विवादको कडी के हो ?
सारांश
- चेतना पौडेललाई प्रहरीले गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ गरेको छ ।
- पौडेलमाथि नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र नलिई बिरामीको उपचार गरेको र औषधी सिफारिस गरेको अभियोग छ ।
- नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पौडेल बीवाइएनएस र जनस्वास्थ्यमा स्नातकोत्तरमा दर्ता भएको जनाएपनि चिकित्सक उपाधिबारे स्वास्थ्य मन्त्रालयमा छलफल चलिरहेको छ ।
काठमाडौँ । गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न भएको भन्दै चेतना ए.एम (पौडेल) लाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गर्यो । पौडेल पक्राउको मुख्य कारण नपाएको चिकित्सकको उपाधिको प्रयोग गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
गत असार १० गते चन्द्रागिरि नगरपालिका–८ बाट पौडेललाई सीआइबीले पक्राउ गरेसँगै सरोकारवाला सङ्घ संस्थाले आपत्ति जनाए । पौडेलमाथि नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीहरूको आधुनिक चिकित्सा निदान उपचारमा संलग्न रहेको, बिरामीलाई औषधी सिफारिस गरिएको प्रेस्क्रिप्शन सहित फेला परेको अभियोग छ ।
नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट नियमित गरिने अनुगमनको स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा डा.पौडेलले बिरामीलाई औषधी सिफारिस गरिएको प्रेस्क्रिप्शन सहित फेला परेको हुँदा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरी पाउँ भन्ने ब्यहोराको नेपाल मेडिकल काउन्सिल बाँसबारीको छानबिन प्रतिवेदन सहितको उजुरी आएपछि प्रहरीले पक्राउ गरेको थियो ।
पौडेलको शैक्षिक योग्यता कति हो ?
पौडेल भारतको बेंगलुरुस्थित राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सेजसँग सम्बन्धन प्राप्त संस्था, एसडीएम कलेज अफ नेचुरोपेथी एन्ड योगिक साइन्सेजबाट ब्याचलर अफ नेचुरोपेथी एन्ड योगिक साइन्सेजको डिग्री उपाधि पूरा गरेकी हुन् ।
पौडेलको शैक्षिक योग्यता दर्ता छ ?
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अनुसार पौडेल बीवाइएनएस (व्यासलर अफ न्याचुरोप्याथी एन्ड योगिक साइन्स) र जनस्वास्थ्यमा स्नातकोत्तर (एमपीएच) मा दर्ता छिन् । परिषद्का सूचना अधिकारी शीतल बस्नेतले बीवाइएनएसलाई चिकित्सक उपाधि दिने विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा छलफल भए पनि निष्कर्ष ननिस्किएको बताए ।
बस्नेतले भने, ‘परिषद् ऐन २०५३ मा व्याचलर अफ न्याचुरोप्याथि एन्ड योगिक साइन्स पढेकोलाई चिकित्सक अर्थात् डाक्टरको उपाधि दिने स्पष्ट व्यवस्था छैन । तर, मन्त्रालयमा छलफल चलिरहेको छ ।’ हाल नेपाल मेडिकल काउन्सिल ऐन र आयुर्वेद चिकित्सा परिषद् ऐन अनुसार चिकित्सा उपाधि दिइँदै आएको छ । नेपाल मेडिकल काउन्सिलमा पौडेलको शैक्षिक योग्यता प्रमाणपत्र दर्ता छैन ।
सरोकारवाला के भन्छन् ?
इन्डियन नेचुरोपेथी एन्ड योगा ग्राजुएट्स मेडिकल एसोसिएसनले ‘नक्कली प्रमाणपत्र’ प्रयोग गरेको र व्यावसायिक उपाधि ‘डा.’ प्रयोग गरेको सम्बन्धी आरोपमा ब्याचलर अफ नेचुरोपेथी एन्ड योगिक साइन्सेजमा स्नातक डा.चेतना पौडेलको पक्राउको विषयमा ध्यानाकर्षण जनाएको छ ।
एसोसिएसनका कार्यकारी निर्देशक डा.राजेशकुमार सिंहले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा.चेतना पौडेल एक योग्य न्याचुरोप्याथी चिकित्सक हुन् । ब्याचलर अफ नेचुरोपेथी एन्ड योगिक साइन्सेज कार्यक्रम एक पूर्णकालीन व्यावसायिक डिग्री हो, जसमा विस्तृत शैक्षिक अध्ययन, क्लिनिकल प्रशिक्षण र अनिवार्य इन्टर्नसिप समावेश हुन्छ । उनको योग्यता नेपालमा मान्यता प्राप्त छ । उपलब्ध अभिलेखअनुसार, उनको डिग्रीले काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयबाट आवश्यक शैक्षिक समकक्षता प्राप्त गरिसकेको छ र उनी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा विधिवत् दर्ता छिन् । त्यसैले, उनले नेपालमा न्याचुरोप्याथी व्यवसायीहरूका लागि लागू विद्यमान नियामक ढाँचा भित्रै रहेर अभ्यास गरिरहेकी छिन् ।’
एसोसिएसनका अनुसार ‘डा’ उपाधि बीएन वाइएस योग्यतासँग जोडिएको एक शैक्षिक उपाधि हो । यो उपाधि तोकिएको व्यावसायिक पाठ्यक्रम सफलतापूर्वक पूरा गरेपछि डिग्री प्रदान गर्ने विश्वविद्यालयद्वारा उत्पत्ति हुन्छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा हाल प्राकृतिक चिकित्सासँग सम्बन्धित चिकित्सकहरूका लागि मात्रै छुट्टै वैधानिक परिषद् छैन । फलस्वरूप न्याचुरोप्याथी व्यवसायीहरूलाई हाल विद्यमान स्वास्थ्य व्यवसायी दर्ता संयन्त्रहरू मार्फत नियमन गरिन्छ । हाम्रो अनुरोध के छ भने शैक्षिक योग्यता वा व्यावसायिक प्रमाणपत्रहरूसँग सम्बन्धित कुनै पनि आरोपलाई प्रमाणित शैक्षिक अभिलेख, विश्वविद्यालयका कागजात, मान्यताको स्थिति र लागू कानुनी प्रावधानहरूको आधारमा मूल्याङ्कन गरिनुपर्छ। कुनै पनि प्रतिकूल निष्कर्षमा पुग्नु अघि योग्य स्वास्थ्य व्यवसायीहरूलाई उचित कानुनी प्रक्रिया र निष्पक्ष विचारको अवसर दिनुपर्छ ।’
यस्तै, नेपाल आयुर्वेद चिकित्सक सङ्घले न्याचुरोप्याथीहरुको पनि छुट्टै परिषद् बनाएर डा.उपाधि दिनुपर्ने बताएको छ । सङ्घका अध्यक्ष डा.शङ्कर गौतमले भने, ‘उहाँहरूले पञ्चतत्व सम्बन्धी उपचार गर्नुहुन्छ । आयुर्वेदको छुट्टै काउन्सिल भएजस्तै उहाँहरूको पनि काउन्सिल छुट्टै हुनुपर्छ । होमियोप्याथी, सोवारिग्पा, न्याचुरो प्याथीले चिकित्सा उपाधि लेख्न पाउनुपर्छ भन्ने सङ्घको मान्यता हो ।’
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अनुसार आधुनिक विकसित अवस्थामा विभिन्न विषय अन्तर्गत विभिन्न विश्वविद्यालयबाट प्रमाणपत्रमा डाक्टरको उपाधिसहितका स्वास्थ्यकर्मी परिषद्मा दर्ता भइरहेका छन् । डाक्टर अफ अप्टोमेट्री, डाक्टर अफ फिजियोथेराफी, डाक्टर अफ होमियोप्याथी, डाक्टर अफ न्याचुरोप्याथी एन्ड योगिक साइन्स लगायतका विधा दर्ता भइरहेको भन्दै परिषद्ले यसरी विश्वविद्यालयले प्रमाणपत्रमा उल्लेख गरेको डाक्टर उपाधि बाहेककाले आफैँ उपाधि प्रयोग गर्न परिषद्को नियमानुसार नमिल्ने स्पष्ट पारेको छ ।
अपराध संहितामा के छ ?
पौडेल माथि मुलुकी अपराध संहिता २०७४ को इलाज सम्बन्धी कसुरमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ मा इलाज सम्बन्धी कसुर उल्लेख छ ।
जसमा भनिएको छ, ‘चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानुन बमोजिम अधिकार प्राप्त अधिकारीबाट इलाज गर्नका लागि इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अङ्गको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारको इलाज गर्न हुँदैन ।’
यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
कसैले कसैको ज्यान मार्ने वा अङ्गभङ्ग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अङ्गभङ्ग हुनसक्छ भन्ने जानी जानी वा सो थाहा पाउनुपर्ने मनासिब कारण भई त्यस्तो औषधि खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न र मानव शरीरको कुनै एक अङ्गको चिरफार गर्नुपर्नेमा अर्को अङ्ग चिरफार गर्न वा त्यस्तो अङ्ग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्न वा गराउन नहुने व्यवस्था छ । यस्तो कसुर गरी कसैको ज्यान गएमा जन्मकैद सजाय हुने स्पष्ट कानुनी व्यवस्था छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
-
इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
-
पटनाका दुग्ध उत्पादक किसान चितवनमा
-
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण