रोपाइँः हिलोबाट भातसम्म
‘भात खानु भयो ?’ तपाईं हामी सबैले भेटमा सोध्ने यो सामान्य प्रश्न हो । हामीमध्ये धेरैजसोको दिन भातबाट सुरु हुन्छ र भातमै टुंगिन्छ । तर के सबैलाई थाहा छ, यो भात कहाँबाट आउँछ ? कसरी तयार हुन्छ ? सहरमा बस्ने मेरा केही साथीहरूलाई सोध्दा उनीहरूले भने, ‘दोकानबाट किन्ने हो, बोराबाट आउँछ ।’
साना बालबालिका त चामल कारखानामै बन्छ भन्ने पनि सुन्न पाइन्छ । वास्तवमा, भातको कथा त्यति सरल छैन । यसको सुरुवात हुन्छ धान खेतबाट, किसानको मिहिनेतबाट, अनि असारको रोपाइँबाट । धान नै भातको पहिलो अन्न हो । धान नदेखेका पनि धेरै बालबालिका हुन सक्छन् । धान एउटा बाली हो, जुन पानी भरिएको खेतमा उब्जाइन्छ । सुरुमा किसानहरूले सानो ठाउँमा धानको बीउ छर्छन्, जसलार्ई ‘ब्याड’ भनिन्छ । केही हप्तापछि त्यहाँ ससाना हरिया बिरुवाहरू उम्रिन्छन्, जसलाई धानको बिउ अर्थात बेर्ना भनिन्छ । यी बेर्नाहरू नै पछि ठुलो खेतमा लगेर रोपिन्छन् यही प्रक्रिया नै ‘रोपाइँ’ हो ।
असार महिना सुरु भएलगत्तै किसानहरू खेतमा व्यस्त देखिन्छन् । खेत जोत्नुपर्छ, पानी हाल्नुपर्छ, अनि राम्रोसँग हिलो बनाउनुपर्छ । हिलो बिना रोपाइँ सम्भव हुँदैन । त्यसपछि बेर्ना उखेलेर लाइन लाइनमा रोपिन्छ । रोपाइँ गर्ने मानिसलाई ‘रोपाहार’ भनिन्छ । तर अहिले आधुनिक मेशिनले पनि रोप्ने गरिन्छ । खेतको छेउभित्ता कोदालीले खनेर मिलाउने, आली लगाउने व्यक्तिलाई ‘बाउसे’ भनिन्छ । यसरी एउटै काममा विभिन्न व्यक्तिहरूको भूमिका हुन्छ ।
विशेषगरी असार १५ लाई नेपालमा रोपाइ दिवस वा धान दिवसका रूपमा विशेष उत्साहका साथ मनाइन्छ । यस दिन देशभर किसानहरू बिहानैदेखि खेतमा जम्मा भएर रोपाइँ गर्छन् । खेतमा हिलो खल्ने, असारे गीत गाउने, एकअर्कामा पानी छ्यापाछ्याप गर्ने जस्ता रमाइला गतिविधिहरू गरिन्छ । कतिपय ठुला रोपाइँमा बाजागाजासहित भकारी हाल्ने प्रचलन पनि हुन्छ, जसले रोपाइँलाई अझै उत्सवमय बनाउँछ । सहरका मानिसहरू, विद्यार्थीहरू र विभिन्न संघ–संस्थाहरूका प्रतिनिधिहरू, नेताहरू पनि यस दिन खेतमा पुगेर रोपाइँ अनुभव गर्ने गर्छन् ।
आजभोलि प्रविधिको विकासले केही ठाउँमा मेसिनबाट पनि रोपाइँ हुन थालेको छ । यसले समय बचाउँछ, तर हाम्रो परम्परागत रोपाइँको रमाइलो भने कम हुँदै जान्छ नै । गाउँघरमा अझै पनि मानिसहरू मिलेर, हाँस्दै, गाउँदै रोपाइँ गर्छन् । यसले आपसी सहयोग र माया बढाउँछ ।
असार १५ मा दही–चिउरा खाने विशेष परम्परा पनि छ । खेतमा काम गरेपछि सबैजना मिलेर दही–चिउरा खाने चलन छ । यसले शरीरलाई चिसो बनाउँछ, तागत दिन्छ र थकाइ हटाउँछ भनिन्छ । यस दिनको रमाइलोले रोपाइँलाई काम मात्र नभई एउटा पर्वको रूपमा स्थापित गरेको छ ।
तपाईंले पनि सायद धान रोप्ने, खेत खन्ने अनुभव गर्नुभएको होला । तर सहरमा त्यो धेरैजसो औपचारिक र रमाइलोको लागि मात्रै हुन्छ । काठमाडौंलगायत सहरमा विद्यालयहरूले साना केटाकेटीहरूलाई हिलोमा टेकाएर धान, खेत र कृषिका बारेमा जानकारी दिने कार्यक्रम सञ्चालन गर्छन् । यसले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिन्छ, तर त्यो थोरै अनुभव र धेरै रमाइलो मात्रै हो । तराई तथा पहाडी क्षेत्रमा भने अवस्था फरक छ । त्यहाँका विद्यार्थीहरू कहिलेकाहीँ विद्यालय नै छुट्टी लिएर पनि रोपाइँमा सहभागी हुनुपर्ने हुन्छ । किनभने खेतीपाती त्यहाँको मुख्य आम्दानी र घर चलाउने स्रोत हो । सहर बाहिरका बालबालिकाले सानैदेखि खेत, धान र रोपाइँको महत्त्व राम्ररी बुझेका हुन्छन् । त्यसैले उनीहरूलाई भात कहाँबाट आउँछ भनेर सिकाउनु पर्दैन, उनीहरूले आफैँ काम गरेर थाहा पाएका हुन्छन् ।
रोपाइँपछि धान बिस्तारै बढ्दै जान्छ । हरियो खेत निकै सुन्दर देखिन्छ । केही महिनापछि धेरैजसो कार्तिक र मंसिर धान पाक्छ र सुनौलो बन्छ । त्यसपछि काटिन्छ, सुकाइन्छ, कुटिन्छ र चामल बनाइन्छ । अनि मात्र हाम्रो भान्सामा बोरामा प्याक भएर आइपुग्छ । त्यसैले भातको प्रत्येक गाँसमा तपाईँ हामीजस्तै साथिहरू, किसानको पसिना मिसिएको हुन्छ ।
सहरमा बस्ने बालबालिकाले पनि यो कुरा बुझ्न जरुरी छ कि खाना सजिलै बोराबाट आउँदैन । त्यसका पछाडि धेरै मेहनत हुन्छ । यदि हामीले अन्नको कदर गरेनौँ भने किसानहरूको मिहिनेतको अपमान हुन्छ । त्यसैले खाना खेर नफाल्ने बानी बसाल्नुपर्छ । भात केवल खाना होइन, यो परिश्रमको फल पनि हो । धान नदेखेका साथीहरूलाई म भन्न चाहन्छु एकपटक गाउँ वा सहर नजिकैको खेतिपाती हुने ठाउँमा गएर रोपाइँ हेर्नुहोस्, हिलोमा गएर धान रोप्नुहोस्, अनि बुझ्नुहोस् भातको असली महत्त्व ।
साथीहरू, रोपाइँ र पढाइबिच पनि गहिरो सम्बन्ध छ । जसरी किसानले असारमा मिहिनेत गरेर मङ्सिरमा राम्रो फल पाउँछन्, त्यसरी नै हामी विद्यार्थीहरू पनि समयमै पढाइमा मेहनत गरेमात्रै प्रत्येक वर्षको अन्तिमा नतिजामा राम्रो रिजल्ट पाउँछौँ । भविष्यमा राम्रो गर्न सक्छौँ । रोपाइँले सिकाउने धैर्य, नियमितता र लगनशीलता पढाइमा पनि उत्तिकै आवश्यक हुन्छ । त्यसैले हामीले किसानबाट सिकेर आफ्नो पढाइलाई पनि मेहनत र अनुशासनका साथ अगाडि बढाउनुपर्छ । यसपालीको रोपाइँमा धान रोप्न जानुस् है ।
शिवांशी खड्का कक्षाः ५, रिलायन्स इन्टरनेशनल एकेडेमी मिलनचोक, काठमाडौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
-
पटनाका दुग्ध उत्पादक किसान चितवनमा
-
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण