पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
विजेताले क्यानडाको सामना गर्ने
सारांश
- फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा नेदरल्यान्ड्स र मोरक्को भिड्दैछन् ।
- सन् २०२२ को विश्वकपमा पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोले अब नेदरल्यान्ड्सको सामना गर्नेछ ।
- समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टोली नकआउट चरणमा पुगेका छन् ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको ब्लकपस्टर भिडन्तमा आज दुई उत्कृष्ट लयमा रहेका शीर्ष १० भित्रका टोली नेदरल्यान्ड्स र मोरक्को भिड्दैछन् । मेक्सिकोको मोन्टेरेमा खेलिने यो खेल नेपाली समय अनुसार मंगलबार बिहान ६ः४५ बजे सुरु हुनेछ ।
सन् २०२२ को कतार विश्वकपको क्वाटरफाइनलमा क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई स्तब्ध पार्दै सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरक्कोको निसानामा अब बलियो डच टोली रहेको छ । फिफा वरीयताको छैटौँ स्थानमा रहेको मोरक्को र सातौँ स्थानमा रहेको नेदरल्यान्ड्स दुवै यस विश्वकपमा आक्रामक फुटबल खेल्दै अघिल्लो यात्रा तय गर्न केन्द्रित छन् ।

नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरणको पहिलो खेलमा जापानसँग २–२ को बराबरी खेलेको नेदरल्यान्ड्सले दोस्रो खेलमा स्विडेनलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको थियो भने अन्तिम खेलमा ट्युनिसियामाथि ३–१ को जित दर्ता गरेको थियो ।
डच टोलीले समूह चरणमा गरेका कुल १० गोलमध्ये ब्रायन ब्रोबेले सर्वाधिक तीन तथा क्रिसेंसियो समरभिल र कोडी गाक्पोले दोस्रो स्थानमा रहँदै दुई–दुई गोल गरेका छन् । यस्तै भर्जिल भान डाइक र जान पल भान हेकेले एक–एक गोल गरेका छन् । डच टोली अफ्रिकी टोलीहरू विरुद्ध विश्वकपका कुल ६ खेलमा अपराजित रहेको (५ जित, १ बराबरी) इतिहास छ, तर नकआउट चरणमा भने यो नेदरल्यान्ड्सको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।

अर्कोतर्फ, अफ्रिकी महारथी मोरक्को ‘समूह सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । मोरक्कोले पहिलो खेलमा बलियो ब्राजिललाई १–१ को बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई १–० र अन्तिम खेलमा हाइटीलाई ४–२ ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको थियो । मोरक्कोका लागि सर्वाधिक लयमा रहेका इस्माइल साइबारीले समूह चरणमा कुल ६ गोलमध्ये एक्लैले ३ गोल गरेका छन् । नेदरल्यान्ड्सको लिग खेल्ने साइबारीले यस खेलमा गोल गरेमा उनले क्यामरुनका रोजर मिलाको ४ गोलको कीर्तिमान बराबरी गर्दै विश्वकप इतिहासमै संयुक्त रूपमा सर्वाधिक गोल गर्ने अफ्रिकी खेलाडीको कीर्तिमान बनाउनेछन् । मोरक्कोको टोलीमा तीन डच मुलका खेलाडी रहेकाले पनि यो खेल थप चासोको विषय बनेको छ ।

लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पुग्ने तेस्रो अफ्रिकी टोली बनेको मोरक्कोका प्रशिक्षक नबिल ओआहबीले समूह चरणको नतिजा नकआउटमा काम नलाग्ने र यो खेल फरक मानसिकतातर्फ केन्द्रित हुने बताएका छन् । अर्कोतर्फ, नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले दुवै सशक्त टोलीहरू अघिल्लो चरणमा पुग्ने क्षमता राख्ने भएकाले यो खेल विश्वकपको निकै सुरुवाती चरणमा नै भएको र निकै चाँडो आमनेसामने हुनुपरेको धारणा व्यक्त गरेका छन्। यी दुई टोलीबीच फिफा विश्वकपको इतिहासमा यो दोस्रो भेट मात्र हो, यसअघि सन् १९९४ को विश्वकपमा यी दुई टोली भिड्दा नेदरल्यान्ड्स २–१ ले विजयी भएको थियो ।
यस खेलको विजेता टोलीले अन्तिम १६ मा घरेलु टोली क्यानडाको सामना गर्नेछ, जसले यसअघि नै दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल पेनाल्टी सुटआउटमा
-
वर्षाद् सुरु सुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी
-
सानेपाको हरियालीले बढायो सहरी सौन्दर्य (तस्बिरहरू)
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको अतिरिक्त समयको पहिलो हाफ पनि बराबरी
-
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण