मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

‘संसद्को एक मिनेट समय पनि जनताका मुद्दामा खर्चौँ, गुणस्तर र मर्यादामा आँच आउन नदिऔँ’

मङ्गलबार, १६ असार २०८३, ११ : २६
मङ्गलबार, १६ असार २०८३

सारांश

  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्न सांसदहरूलाई आग्रह गरेकी छन्।
  • उनले संसद्को गरिमा र औचित्य स्थापित गर्न जनसरोकारका विषयले प्राथमिकता पाउनुपर्ने र प्रक्रियागत अल्झनबाट जोगिनुपर्ने बताइन्।
  • मन्त्री गौतमले संसद्को गुणस्तर खस्कँदै गएकोमा चिन्ता व्यक्त गर्दै सांसदहरूको व्यवहारले संसद् मर्यादित बन्ने बताइन्।

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई नै केन्द्रमा राखेर बहस गर्न सांसदहरूलाई आग्रह गरेकी छन्। 

संसद्को ६८ औँ  दिवसका अवसरमा सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री गौतमले संसद्को गरिमा र औचित्य स्थापित गर्नका लागि प्रक्रियागत अल्झनभन्दा पनि जनसरोकारका विषयले प्राथमिकता पाउनुपर्ने बताइन् । 

मन्त्री गौतमले प्रक्रियाका विषयहरू कार्यव्यवस्था परामर्श समिति वा अनौपचारिक बैठकहरूबाट सुल्झाउन सकिने बताउँदै संसद्को बैठकमा बस्दा केवल जनताका समस्यामा मात्रै छलफल गर्नुपर्ने बताइन् । 

‘जनताले तिरेको करबाट राज्यकोष र हामी सञ्चालन भइरहेका छौँ। त्यसैले संसद्‍मा हामीले पाउने एक मिनेटको समय पनि शिक्षा, स्वास्थ्य र जनताका तमाम समस्या समाधानका उपायहरू खोज्नमै केन्द्रित हुनुपर्छ,’ मन्त्री गौतमले भनिन् । 

उनले सरकारलाई जबाफदेही बनाउन र जनहितका विषयमा व्यापक बहस गर्न सके मात्र संसद्‍प्रति जनताको दृष्टिकोण सकारात्मक हुने दाबी गरिन् । 

संसद्को गुणस्तर पहिलाको तुलनामा खस्कँदै गएको भन्ने जनगुनासोप्रति मन्त्री गौतमले गम्भीर चिन्ता व्यक्त गरिन् । ‘संसद्को गुणस्तर किन खस्किँदै छ भन्ने प्रश्नमा हामी आफैँले मनन गर्नुपर्ने बेला आएको छ,’ गौतमले भनिन् । 

संसद्लाई मर्यादित बनाउन सांसदहरूको आफ्नै व्यवहार मुख्य कडी हुने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप