मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

हलिउड निर्देशक कार्ल एरिकलाई साढे दुई वर्षकाे जेल सजाय

मङ्गलबार, १६ असार २०८३, १४ : ५३
मङ्गलबार, १६ असार २०८३

काठमाडौँ । हलिउड निर्देशक कार्ल एरिक रिन्शलाई नेटफ्लिक्सको करिब १ करोड १० लाख अमेरिकी डलर (झन्डै ८३ लाख पाउन्ड) ठगीमा साढे दुई वर्ष जेल सजाय सुनाइएको छ । 

सन् २०१३ मा प्रदर्शित चलचित्र ‘४७ रोनिन’ का निर्देशकका रूपमा परिचित ४८ वर्षीय रिन्शमाथि विज्ञान–कथामा आधारित टेलिभिजन शृङ्खला निर्माण पूरा गर्नका लागि दिइएको रकम व्यक्तिगत विलासितामा खर्च गरेको आरोप लागेको थियो ।

अमेरिकी अदालतले उनलाई सङ्घीय ठगी तथा अवैध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो । उनीमाथि अधिकतम ९० वर्षसम्मको जेल सजाय हुन सक्ने भए पनि अदालतले तुलनात्मक रूपमा कम सजाय सुनाएको हो।

न्यायाधीश जे राकोफले रिन्शलाई साढे दुई वर्षको जेल सजायसँगै तीन वर्ष निगरानीमा रहने, १ करोड १० लाख डलर बराबरको सम्पत्ति जफत गरिने तथा ७०० डलर जरिवाना तिर्न आदेश दिएका छन् ।

सजाय सुनाइनुअघि अदालतमा बोल्दै रिन्शले आफ्नो अपराधप्रति जिम्मेवारी स्वीकार गर्दै माफी मागेका थिए । अमेरिकी सरकारी वकिल जे क्लेटनले एक विज्ञप्ति जारी गर्दै भने, ‘आजको सजायले स्पष्ट सन्देश दिएको छ। ठगी सह्य हुने छैन,’।

अभियोजन पक्षका अनुसार नेटफ्लिक्सले सुरुआतमा ‘ह्वाइट हर्स’ नाम दिइएको विज्ञान–कथामा आधारित शृङ्खलाको निर्माणका लागि रिन्शलाई करिब ५ करोड ५० लाख डलर उपलब्ध गराएको थियो । त्यसमध्ये उत्पादन सम्पन्न गर्न थप आवश्यक रहेको भन्दै उनले १ करोड १० लाख डलर अतिरिक्त मागेका थिए।

तर उक्त रकम शृङ्खला निर्माणमा प्रयोग गर्नुको सट्टा उनले व्यक्तिगत खातामा राखी लगानी गरेका थिए, जसबाट केही महिनामै आधा रकम गुमाएका थिए। 

अभियोजन पक्षका अनुसार रिन्शले बाँकी रकम क्रिप्टोकरेन्सीमा लगानी गर्नुका साथै रोल्स–रोयस कार, लाखौँ डलर मूल्यका गद्दालगायतका विलासी सामग्री खरिदमा खर्च गरेका थिए। 

न्युयोर्कमा एक सातासम्म चलेको सुनुवाइका क्रममा नेटफ्लिक्सका विभिन्न अधिकारीहरूले साक्षी दिँदै कम्पनीले शृङ्खलाको केवल एक सिजनका लागि मात्र सम्झौता गरेको र रिन्शले त्यो पनि पूरा गर्न नसकेको बताएका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप