मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
भिडियो रिपोर्ट

सुस्तावासीको पीडा, ‘देशका लागि गोली खायौँ, नागरिकता पाएनौँ’

६ दशकदेखि अधिकारको खोजी, माइतीघरमा अब अनिश्चितकालीन आन्दोलन
मङ्गलबार, १६ असार २०८३, १९ : ००
मङ्गलबार, १६ असार २०८३

सारांश

  • नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाहरूले नागरिकता, लालपुर्जा र स्थायी सीमांकनको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्।
  • आन्दोलनकारीहरूले देशका लागि गोली खाएका र घाइते भएका नागरिकहरूले समेत नागरिकता र न्याय नपाएको गुनासो गरेका छन्।
  • सुस्तावासीहरूले विक्रम संवत् २०२० सालदेखि निरन्तर आन्दोलन गर्दै आए पनि राज्यबाट ठोस सुनुवाइ नभएको गुनासो गरेका छन्।

काठमाडौँ । नवलपरासीको सुस्ता क्षेत्रका स्थानीय बासिन्दाहरू आफ्नो राष्ट्रिय पहिचान र भूमिको रक्षाको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। 

सुस्ता बचाउ अभियानका अभियन्ताहरूले नागरिकता वितरण, जग्गाको लालपुर्जा र सुस्ता क्षेत्रको स्थायी सीमांकनको माग राख्दै धर्ना सुरु गरेका हुन्।

सुस्ता क्षेत्रको रक्षाका लागि ज्यान जोखिममा पार्ने स्थानीय बासिन्दा नै आज नागरिकता, लालपुर्जा लगायतका आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको भन्दै उनीहरूले आन्दोलन थालेका हुन्। माइतीघर मण्डलामा आयोजित धर्नाका क्रममा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले वर्षौँदेखि भोग्दै आएका पीडादायी अनुभव सार्वजनिक गरेका छन्। 

विगतका सीमा झडपमा गम्भीर घाइते भएका नागरिकहरूले आफ्ना दुःख सुनाएका छन्। आन्दोलनकारीहरूले ‘सुस्ताको माटोको रक्षा सँगै सुस्तावासीको रक्षा गर’ भन्ने सन्देश दिँदै सुस्ताको माटो समेत साथमा ल्याएका छन्।

go

आन्दोलनका क्रममा विगतमा भारतीय सुरक्षा बलको गोली प्रहारबाट घाइते भएकी एक महिलाले आफ्नो शरीरमा अझै पनि आठवटा गोलीका खत रहेको बताइन्। उनले सोही घटनामा आफ्ना श्रीमान् गुमाउनु परेको भन्दै न्यायको माग गरिरहेकी छन्। 

उनका अनुसार तत्कालीन राजा महेन्द्रको पहलमा उनलाई उपचारका लागि वीर अस्पताल ल्याइएको थियो। लामो समय बितिसक्दा पनि नागरिकता र उचित न्याय नपाएपछि आफू अहिले माइतीघरमा धर्ना बस्न बाध्य भएको उनले बताइन्।

सुस्तावासीहरूले विक्रम संवत् २०२० सालदेखि सीमा अतिक्रमण रोक्न, नागरिकता र जग्गाको लालपुर्जा उपलब्ध गराउन माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन्। उनीहरूका अनुसार छ दशकभन्दा लामो संघर्षका क्रममा सुस्ताका धेरै नागरिकले ज्यान गुमाइसकेका छन्। विभिन्न राजनीतिक कालखण्डमा बनेका सरकार र मन्त्रीहरूलाई पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि राज्यबाट ठोस सुनुवाइ नभएको र सरकार मौन बसेको आन्दोलनकारीहरूको गुनासो छ।

munna-khan

आन्दोलनमा सहभागी सुस्ताका मुन्ना खानले विक्रम संवत् २०४० सालमा सीमा रक्षाका क्रममा भारतीय प्रहरीले चलाएको गोलीबाट आफूलाई छवटा गोली लागेको बताए। तत्कालीन सरकारले पदक दिए पनि हालसम्म नेपाली नागरिकता नपाएको उनको गुनासो छ।

‘मैले देशका लागि छवटा गोली खाएँ, तर आज पनि नागरिकताविहीन छु। हामी बरु यहीँ मर्छौं, तर आफ्नो अधिकार लिएरै छाड्छौँ,’ सुस्ताको माटो हातमा लिएर उभिएका खानले भने।

धर्नामा सहभागी सुस्ता–५ की मीना देवीले वर्षौंदेखि नेपाली भूमिमा बसोबास गर्दै आए पनि नागरिकता नपाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सीमावर्ती नागरिकबाट निरन्तर मानसिक तथा भौतिक उत्पीडन सहनुपरेको दुखेसो पोखिन्।

min-devi

‘हामी नेपाली हौं, हामीलाई नागरिकता चाहियो। प्रमाण नहुँदा उताका मानिसहरू आएर हाम्रो जग्गा जोत्छन् र हामीलाई हेप्छन्,’ उनले भनिन्।

सुस्ता बचाउ अभियानकी महिला नेत्री तथा सहअध्यक्ष, ७० वर्षीया नुरजहान बेगमले माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारिन्। नागरिकता र लालपुर्जाबाट वञ्चित सुस्तावासीहरूले वर्तमान सरकार र स्थानीय नेतृत्वले आफ्ना पीडा बुझेर दीर्घकालीन समाधान गर्ने अपेक्षा व्यक्त गरेका छन्।

nurjahan

यस्तै समस्या सुस्ताको नयाँ पुस्ताले पनि भोगिरहेको उनीहरूको भनाइ छ। सुस्ताका युवाहरू राहुल चौधरी र परवेज खानका अनुसार सुस्तामा कक्षा ८ सम्म मात्र विद्यालय भएकाले उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता छ। दैनिक उपभोग्य सामान किन्न सीमावर्ती भारतीय राज्य बिहार जानुपर्दा भारतीय प्रहरी र एसएसबीबाट अमानवीय व्यवहार तथा गालीगलौज सहनुपर्ने अवस्था रहेको उनीहरूले बताए।

parvez

सुस्तावासीहरूले सीमा सुरक्षा, नागरिकता, लालपुर्जा तथा स्थायी सीमांकनको समस्या तत्काल समाधान गर्न सरकारसँग जोडदार माग गरेका छन्। नयाँ नेतृत्व र शिक्षित जनशक्ति सम्मिलित वर्तमान सरकारले आफ्ना माग सम्बोधन गरी सुस्ताको दशकौँ पुरानो समस्या समाधान गर्ने विश्वास आन्दोलनकारीहरूले व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उषा काफ्ले
उषा काफ्ले
लेखकबाट थप