मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?

मङ्गलबार, १६ असार २०८३, २१ : ०४
मङ्गलबार, १६ असार २०८३

विश्वकपमा अफ्रिकी फुटबलले हासिल गरेको रूपान्तरणलाई अद्भूत गतिभन्दा अनुपयुक्त हुँदैन । सन् २०१८ मा रुसमा भएको विश्वकपमा अफ्रिकाका पाँच टोलीमध्ये एउटाले पनि समूह चरण पार गर्न सकेका थिएनन्, उनीहरूले सम्भावित १५ खेलमध्ये जम्मा तीनमा मात्र जित निकालेका थिए । 

तर सन् २०२६ विश्वकपमा आइपुग्दा अफ्रिका फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विश्वकप विस्तार परियोजनाको सफलताको नसियतका रूपमा प्रस्तुत भएको छ । अर्थात् यस नयाँ डाँचाको औचित्यलाई अफ्रिकाले पुष्टि गरिदिएको छ । अफ्रिकाका कुल १० टोलीमध्ये एकबाहेक सबै समूह चरण पार गर्न सफल भए भने साविक सेमिफाइनलिस्ट मोरक्कोले युरोपियन पावर हाउस नेदरल्याण्डलाई पेनाल्टीमा स्तब्ध पार्दै प्रि–क्वाटरको यात्रा तय गरिसकेको छ । 

समूह चरणबाट ट्युनिसिया मात्र बाहिरिएको थियो । केप भर्डे, इजिप्ट, आइभरी कोस्ट, मोरक्को र दक्षिण अफ्रिका समूह उपविजेताका रूपमा अघि बढेका हुन् भने अल्जेरिया, डीआर कङ्गो, घाना र सेनेगल उत्कृष्ट तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेका हुन् । 

तर एसियाका लागि परिणाम विल्कुलै फरक रह्यो । उसका नौ टोलीमध्ये केवल दुई टोली मात्र समूह चरण पार गर्न सफल भए । त्यसमा पनि जापान ३२ को समूहभन्दा अघि बढ्न सकेन । बाँकी अष्ट्रेलियाले मात्र एसियाको प्रतिनिधित्व गरिरहेको छ । 

यस परिणामले अफ्रिकाका लागि यो उत्सव मनाउने विषय बनेको छ भने एसिया आफ्ना असफलतामाथि आत्मसमीक्षा गर्न बाध्य भएको छ । 

‘मोरक्कोले कसरी सफल हुने भन्ने स्पष्ट खाका तयार गर्‍यो’

इन्फान्टिनोले विश्वकपको नयाँ ढाँचा ल्याउने निर्णय सन् २०१८ को विश्वकपअघि नै अनुमोदन गराइसकेका थिए । त्यसैले रुसमा अफ्रिकाले अत्यन्त कमजोर प्रदर्शन गरेपछि महादेशलाई थप चार स्थान दिनुको औचित्यमाथि प्रश्न उठेको थियो । 

senegal

तर आठ वर्षपछि ती सबै चिन्ता पूर्ण रूपमा सकिएका छन् । यो सफलताको परिवर्तन अत्यन्त उल्लेखनीय छ, जसको एउटा प्रमुख कारण मोरक्को फुटबल महासंघको दीर्घकालीन प्रतिबद्धता हो । अफ्रिकी फुटबल महासंघ (सिएएफ)का अध्यक्ष पात्रिस मोत्सेपे यसलाई महादेशभरि युवा फुटबलको विकास, प्रशिक्षक उत्पादन र व्यावसायिक लिगमा गरिएको निरन्तर लगानी तथा कडा मेहनतको परिणाम मान्छन् । 

यसको पहिलो संकेत चार वर्षअघि कतार विश्वकपमा देखिएको थियो, जहाँ पहिलो पटक दुई अफ्रिकी टोली नकआउट चरणमा पुगेका थिए  । सन् २०२२ को विश्वकपअघि अफ्रिकाबाट केवल तीन टोली मात्र क्वार्टरफाइनल पुगेका थिए—१९९० मा क्यामरुन, २००२ मा सेनेगल र २०१० मा घाना । 

त्यसपछि मोरक्कोले अफ्रिकी फुटबल इतिहासमै पहिलो पटक सेमिफाइनलमा पुगेर नयाँ इतिहास रच्यो । उसले बेल्जियम, स्पेन र पोर्चुगललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । उसको यात्रा अन्ततः फ्रान्सले रोकेको थियो । 

यदि मोरक्कोले नकआउट चरणमा ठुला भनिएका राष्ट्रहरूलाई समेत हराउन सक्ने स्पष्ट दीर्घकालीन परिणाम दिने संरचना निर्माण गर्न सक्छ भने त्यही बाटो अन्य अफ्रिकी राष्ट्रहरूले पछ्याउन किन सक्दैनन् ? यसै महिनाको सुरुमा ‘स्पोर्ट अफ्रिका’सँग कुरा गर्दै नाइजेरियाका पूर्वकप्तान विलियम ट्रोस्ट–एकोङले भने, ‘मोरक्कोले कसरी सफल हुने भन्ने एउटा खाका तयार गर्‍यो, जसको आधार वर्षौंसम्म तल्लो तहको फुटबल र एकेडेमीमा गरिएको लगानी हो ।’

अर्थात्, मोरक्कोले पैसा मात्र होइन, समय र मेहनत पनि लगानी गरेको छ । उनीहरूसँग कसरी अघि बढ्ने भन्ने स्पष्ट योजना थियो । ‘उनीहरूसँग रहेका पूर्वाधार, उमेर समूहभर कायम रहेको प्रशिक्षण निरन्तरता नै मेरो विचारमा पछ्याउन मिल्ने खाका हो,’ ट्रोस्ट–एकोङ भन्छन् । 

विश्वकपको नयाँ ढाँचाले अफ्रिकालाई केही फाइदा अवश्य पुर्‍यायो । तर त्यसैले मात्र अफ्रिकाको उत्कृष्ट प्रदर्शन र एसियाको कमजोर प्रदर्शनलाई व्याख्या गर्न सकिँदैन । अघिल्ला अधिकांश विश्वकपमा प्रत्येक समूहमा उत्कृष्ट १६ मध्ये दुई टोली पर्ने गर्थे । तर अहिले ती १६ टोली १२ समूहमा विभाजित छन्, जसका कारण चार समूहमा मात्र परम्परागत रूपमा बलिया दुई टोली परेका छन् । यी तथ्याङ्कहरूले अधिकांश समूह तुलनात्मक रूपमा कमजोर भएको देखाउँछन् । 

तेस्रो स्थानका टोलीहरूलाई पनि नक आउटमा स्थान दिइएकाले पहिलो नकआउट चरणमा ३२ टोली पुगे, जुन कतार विश्वकपको समूह चरणमा सहभागी टोलीको सङ्ख्याबराबर हो । 

यसपटक अफ्रिकी टोली कति टाढासम्म पुग्लान् ?

दक्षिण अफ्रिका आइतबार अन्तिम क्षणमा क्यानडासँग गोल खाँदै अन्तिम ३२ बाट बाहिरियो । अब सह–आयोजक क्यानडाले मोरक्कोसँग खेल्नेछ । मोरक्को अफ्रिकी च्याम्पियनका रूपमा उक्त खेलमा प्रवेश गरिरहेको छ । यद्यपि अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगलले विवादास्पद रूपमा मैदान छाडेपछि सिएएफ (काफ)ले खेलको नतिजा उल्ट्याउँदै मोरक्कोलाई उपाधि दिएको थियो । 

एक दशकअघि मोरक्कोले नेदरल्यान्ड्सलाई हराउने सम्भावना निकै कम मानिन्थ्यो । तर आज यस्तो कसैले सोच्दैन । बरु उत्तर अफ्रिकी टोली नै त्यस खेलको दाबेदार हुनुपर्ने तर्क आउन सक्छ । आखिर फिफा विश्व वरीयतामा मोरक्को छैटौं स्थानमा छ, जुन नेदरल्यान्ड्सभन्दा एक स्थान माथि हो । 

विश्व वरीयताका शीर्ष चार राष्ट्र (अर्जेन्टिना, इंग्ल्यान्ड, फ्रान्स र स्पेन) ब्राकेटमा फरक–फरक भागमा परेकाले मोरक्कोले जस्तै फेरि अफ्रिकन मुलुकलाई सेमिफाइनल पुग्ने लक्ष्य पूरा गर्न थप कठिन बनेको छ । अफ्रिकी टोलीले फेरि अन्तिम चारमा पुग्न सम्भवतः ती चारमध्ये कम्तीमा एक टोलीलाई हराउनुपर्नेछ । 

उदाहरणका लागि, सम्भावित क्वार्टरफाइनलमा मोरक्कोको भेट फ्रान्ससँग हुन सक्छ ।

त्यस्तै शुक्रबार केप भर्डेसँग खेल्ने साविक विजेता अर्जेन्टिनाको ब्राकेटमा चार अफ्रिकी टोली रहेका छन् । अर्जेन्टिनाले सेमिफाइनल पुग्ने यात्रामा प्रत्येक चरणमा अफ्रिकी टोलीसँग खेल्नुपर्ने सम्भावना पनि छ । त्यही ब्राकेटमा अल्जेरियाले स्विट्जरल्यान्डसँग खेल्नेछ भने घानाले कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । यसले अन्तिम १६ मा पूर्ण अफ्रिकी भिडन्त हुने सबैभन्दा बलियो सम्भावना पनि प्रस्तुत गरेको छ । 

iran-players

‘संगठन र व्यक्तिगत प्रदर्शनको असफलता’

विस्तारित विश्वकप ढाँचा अफ्रिकाका लागि अवसर सावित भयो भने एसियाका लागि त्यसको ठीक उल्टो भयो । एसियाका नौ टोलीले खेलेका २७ खेलबाट केवल तीन जित निकाले । औसतमा प्रत्येक खेलमा उनीहरूले ०.६७ अंक मात्र जोडे । 

अफ्रिकी राष्ट्रहरूले भने ३० खेल खेल्दै १० मा जित निकाले र औसत १.३३ अंक प्रति खेल हासिल गरे । समूह चरणको अन्तिम चरणमा छनोटका लागि निर्णायक बनेका पाँच अफ्रिका–एसिया भिडन्तमध्ये एसियाले एउटामा पनि जित निकाल्न सकेन, चार खेलमा पराजित भयो । 

चार वर्षअघि अस्ट्रेलिया, जापान र दक्षिण कोरिया नकआउट चरणमा पुगेका थिए । यसपटक भने केवल अस्ट्रेलिया र जापान मात्र अघि बढ्न सफल भए । अफ्रिकी टोलीहरू निरन्तर विकसित हुँदै गएका छन् । नौ टोली पहिलो पटक नकआउट चरणमा पुगे । तर एसिया भने उल्टो दिशातर्फ गएको देखिएको छ । उज्बेकिस्तानका मुख्य प्रशिक्षक फाबियो कानाभारोले आफ्नो टोली तीनै खेल हारपछि भने, ‘जापान, अस्ट्रेलिया र सायद इरानबाहेक सबै टोलीले अझ धेरै सुधार गर्नुपर्छ ।’ 

दक्षिण अफ्रिकासँग अन्तिम खेलमा अप्रत्याशित हार बेहोरेपछि समूह चरणबाटै बाहिरिएको दक्षिण कोरियाको असफलताले ठुलो राजनीतिक र खेलकुदीय असर पारेको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले टोलीको कमजोर प्रदर्शनमाथि अनुसन्धान गर्न निर्देशन दिँदै यसलाई ‘संगठन र व्यक्तिगत प्रदर्शनको असफलता’ भनेका छन् । केही घण्टापछि नै दुई वर्षदेखि टोली सम्हालिरहेका मुख्य प्रशिक्षक होङ म्युङ–बोले पदबाट राजीनामा दिए । 

विश्वकपमा पहिलो पटक सहभागी भएको जोर्डनले तीनै खेल हार्‍यो । उसले तीन गोल गर्‍यो भने आठ गोल बेहोर्‍यो ।

जोर्डनका मुख्य प्रशिक्षक जमाल सेल्लामीले प्रदर्शनमा देखिएको ठुलो अन्तरको कारण यसरी बताए, ‘किनभने अफ्रिकी खेलाडीहरू युरोपका प्रमुख लिगहरूमा खेल्छन्, यदि जोर्डन फुटबलले भविष्यमा अझ राम्रो नतिजा निकाल्ने हो भने हाम्रा खेलाडीहरू अझ बलिया र प्रतिस्पर्धात्मक लिगहरूमा खेल्न आवश्यक छ ।’ 

तथ्याङ्कले पनि यही कुरा पुष्टि गर्छ ।

मोरक्कोको २६ सदस्यीय टोलीमध्ये २० खेलाडी युरोपमा खेल्छन्, जसमध्ये १५ जना युरोपका शीर्ष पाँच लिगमा आबद्ध छन् । अन्तरमहादेशीय प्लेअफमार्फत विश्वकपमा पुगेको अन्तिम अफ्रिकी टोली डीआर कङ्गोका २४ खेलाडी युरोपमा छन्, यद्यपि तीमध्ये ११ जना मात्र प्रमुख लिगमा खेल्छन् । इजिप्ट मात्रै अपवाद हो । उसका १७ खेलाडी घरेलु लिगका क्लबमा आबद्ध छन् भने छ जना मात्र युरोपेली क्लबमा खेल्छन् । 

जोर्डनका लागि भने फ्रान्सेली क्लब रेनेसबाट खेल्ने फरवार्ड मुसा अल–तामारी मात्र युरोपमा खेल्ने एक्ला खेलाडी हुन् ।

इराक र उज्बेकिस्तानका तीन–तीन खेलाडी युरोपमा छन् भने इरानका चार खेलाडी युरोपेली क्लबमा आबद्ध छन् । तर एसियाका उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रहरूसँग यसको तुलना गर्न सकिँदैन । जापानका २३, अस्ट्रेलियाका १६ र दक्षिण कोरियाका १५ खेलाडी युरोपेली क्लबमा खेलिरहेका छन् । 

यसले विकासको स्तरमा रहेको ठुलो खाडल स्पष्ट देखाउँछ, जुन पुर्न आवश्यक छ । 

अफ्रिकासँग प्रतिस्पर्धा गर्न र विस्तारित विश्वकप ढाँचामा आफ्ना टोलीहरूलाई प्रतिस्पर्धी बनाउन एसियाली फुटबल महासंघले अब धेरै नै काम गर्नुपर्ने देखिएको छ । 

बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप