उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
सारांश
- काठमाडौँका दर्जनौँ ठाउँमा बर्ड फ्लु देखिने क्रम जारी छ जसले किसानहरूलाई आर्थिक क्षति पुर्याएको छ र मानव स्वास्थ्यको चिन्ता बढाएको छ।
- पशु सेवा विभागका अनुसार हाल हजारौँ पन्छी सङ्क्रमित हुनुको प्रमुख कारण बर्ड फ्लु सङ्क्रमित काग हो, जसलाई 'काग फ्लु' भनिएको छ।
- विगतमा 'एच ५ एन १' बर्ड फ्लु भाइरसका कारणले मानवीय क्षति भएको थियो भने 'एच ९ एन २' का कारणले हाल नेपालमा पालिएका पन्छीहरूमा ठुलो सङ्ख्यामा मृत्यु गराइरहेको छ।
हाल काठमाडौँका दर्जनौँ ठाउँमा बर्ड फ्लु देखिने क्रम जारी छ। यसबाट किसानहरूले ठुलो आर्थिक क्षति व्यहोर्नु परेको छ भने मानव स्वास्थ्यलाई लिएर पनि चिन्ता र चासो व्यक्त गर्न थालिएको छ।
एक ठाउँबाट अर्को ठाउँमा बर्ड फ्लु भाइरस फैलाउनमा प्रवासी चराहरूको भूमिका हुने गरेको विभिन्न अध्ययन–अनुसन्धानहरूले देखाउँछन्। केही महिनाअघि मात्र काठमाडौँमा दर्जनौँ कागको मृत्यु बर्ड फ्लुका कारणले भएको पुष्टि भएको थियो।
हाल हजारौँ पन्छी सङ्क्रमित हुनुको प्रमुख कारण बर्ड फ्लु सङ्क्रमित काग भएको पशु सेवा विभागले जनाएको छ। बर्ड फ्लु सङ्क्रमित कागलाई यो लेखमा ‘काग फ्लु’ भनेर सम्बोधन गरिएको छ।
- बर्ड फ्लु के हो ?
फ्लु भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरेर चार प्रकारका हुन्छन्। यीमध्ये फ्लु ‘ए’ र ‘बी’ भाइरसले विशेष गरेर मानव स्वास्थ्यलाई प्रभाव पार्ने गर्दछन्। फ्लु ‘ए’ ले विगतमा विभिन्न समयमा प्यान्डेमिकको रूपसमेत लिएको इतिहास छ।
फ्लु ‘ए’ अन्तर्गत मौसमी फ्लु जस्तै ‘एच३एन२’ (बोलीचालीमा ‘हङकङ फ्लु’ पनि भनिन्छ), ‘एच१एन१ पीडीएम ०९’ (बोलीचालीमा स्वाइन फ्लु पनि भनिन्छ) र बर्ड फ्लुका विभिन्न प्रजातिहरू पर्दछन्। ‘एच३एन२’ र ‘एच१एन१ पीडीएम ०९’ हरेक वर्ष विशेषतः फेब्रुअरी–मार्च र जुलाई–अगस्ट महिनामा गरी दुई पटक बढी सक्रिय रहने गर्दछन्।
बर्ड फ्लुका विभिन्न प्रजातिमध्ये ‘एच ५ एन १’ (H5N1) र ‘एच ९ एन २’ (H9N2) भाइरसलाई हाल नेपालमा कुखुरा सङ्क्रमित गराउने मुख्य कारक भाइरस मानिएको छ। ‘एच ५ एन १’ बर्ड फ्लु भाइरसका कारणले मानवीय क्षति पहिलो पटक सन् १९९७ मा हङकङमा भएको थियो। त्यस्तै ‘एच ९ एन २’ बर्ड फ्लु भाइरस सन् १९९८ मा हङकङमै पहिलो पटक मानिसमा पुष्टि भएको थियो।
‘एच ५ एन १’ बर्ड फ्लु भाइरसलाई उच्च घातक एभियन इन्फ्लुएन्जामा वर्गीकृत गरिएको छ भने ‘एच ९ एन २’ बर्ड फ्लु भाइरस निम्न घातक एभियन इन्फ्लुएन्जामा वर्गीकृत गरिएको छ। ‘एच ५ एन १’ बर्ड फ्लु भाइरसको मृत्युदर ५० प्रतिशतभन्दा बढी देखिएको छ।
तर ‘एच ९ एन २’ का कारणले हालसम्म केही व्यक्तिको मात्र मृत्यु भएको तथ्याङ्क देखिन्छ। अर्थात् यसको लक्षण अधिकांश मानिसमा सामान्य नै देखिएको छ। यद्यपि हाल नेपालमा ‘एच ९ एन २’ बर्ड फ्लुका कारणले पालिएका पन्छीहरू (कुखुरा) मा ठुलो सङ्ख्यामा मृत्यु गराइरहेको छ।
बर्ड फ्लु सङ्क्रमित भए मानिसमा कस्ता लक्षणहरू देखिन्छन् ?
विशेषतः हाल नेपालमा ‘एच ५ एन १’ र ‘एच ९ एन २’ भाइरस पन्छीहरूमा पुष्टि भएको छ। ‘एच ५ एन १’ बर्ड फ्लु भाइरस सङ्क्रमित भए मानिसमा कडा लक्षणहरू देखिन सक्छन्। उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी वा सिँगान बग्ने, जीउ र टाउको दुख्ने, र कतिपयलाई पखाला पनि लाग्ने गर्दछ।
श्वासप्रश्वासमा समस्या आउने र कडा निमोनिया देखिने यसका मुख्य जटिलताहरू हुन्। पछिल्लो समय अमेरिकामा गाईवस्तु वा सङ्क्रमित गाईको दूधमार्फत पनि यो भाइरस मानिसमा सरेको पुष्टि भएको छ। यसरी सङ्क्रमित भएपछि मुख्य लक्षणका रूपमा आँखा रातो हुने समस्या देखिएको छ।
यद्यपि यसरी सरेको बर्ड फ्लुमा भने ज्वरो खासै नदेखिएको भनिएको छ। कुखुरा र गाईवस्तु वा दूधबाट यो भाइरस सर्दा लक्षणमा ठुलो अन्तर देखिन्छ। के ‘एच ५ एन १’ भाइरस सङ्क्रमित ‘काग फ्लु’ को लक्षण मानिसमा यी दुई स्रोतको भन्दा फरक होला ? यो हाल गर्भको विषय नै छ भन्दा फरक नपर्ला।
हाल फैलिएको अर्को ‘एच ९ एन २’ बर्ड फ्लु भाइरस भने विगतको अवलोकनलाई आधार मान्दा सामान्य लक्षणहरूमा नै सीमित रहेको देखिन्छ। यसका कारणले विश्वमा हालसम्म २–४ जना सङ्क्रमितको मात्र मृत्यु भएको पुष्टि भएको छ भने झन्डै २०० जनामा सङ्क्रमण पुष्टि भएको छ। खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, थकान महसुस हुने, मांसपेशी तथा जोर्नी दुख्ने र हल्का ज्वरो आउने जस्ता प्रमुख र प्रारम्भिक लक्षणहरू सङ्क्रमण भइसकेपछि देखिने गर्दछन्।
बर्ड फ्लु पुष्टि भएको अवस्थामा ‘ओसेलटेमिभिर’ नामक एन्टिभाइरल औषधिको प्रयोग गरी उपचार गर्न सकिन्छ। तर हाल बर्ड फ्लुविरुद्धको खोप मानिसका लागि भनेर विकसित र उपलब्ध भने भइसकेको छैन।
अन्तमा, हाल सङ्क्रमित कागमार्फत कुखुरा तथा हाँसमा बर्ड फ्लु भाइरस फैलिएको निष्कर्ष पशु सेवा विभागको छ। र, यो लेख लेख्दै गर्दा अझै पनि काठमाडौँमा बर्ड फ्लु भाइरस बिजुली गतिमा फैलिँदो देखिन्छ। दर्जनौँ पोल्ट्री फर्महरू बर्ड फ्लुका कारणले प्रभावित भइरहेका छन्।
बर्ड फ्लु सङ्क्रमित कुखुराहरूबाट बच्ने उपायहरूको बारेमा धेरथोर जनचेतनामूलक कुराहरू उपलब्ध भइरहेका पनि छन्। तर ‘काग फ्लु’ अर्थात् हाम्रो घरवरिपरि घुम्ने सङ्क्रमित कागबाट मानिसले कसरी सावधानी अपनाउनुपर्छ भन्ने बारेमा भने अझै कम चर्चा, न्यून जानकारी र कतिपयमा त अन्योल नै सिर्जना भएको पनि देखिन्छ।
काग खुला आकाशमा उड्ने पन्छी भएको हुनाले मानिसले यसलाई नियन्त्रणमा लिन सक्ने कुरा हाल लगभग कल्पनाभन्दा बाहिर जस्तै देखिन्छ। अर्थात् ‘काग फ्लु’ अझै निरन्तर फैलने सम्भावना बढी देखिन्छ। तापनि ‘काग फ्लु’ ले थप गति नलियोस् भन्नका लागि सम्बन्धित निकायले सरल र व्यावहारिक उपायहरू नागरिकका लागि निकाल्नुपर्ने वा विकास गर्नुपर्ने अपरिहार्यता देखिन्छ। किनभने बर्ड फ्लु विगतमा पनि देखिएको थियो र आगामी वर्षहरूमा नदेखिएला भनेर ढुक्क हुने अवस्था छैन।
डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
-
म्यानमार द्वन्द्वमा मृतकको संख्या एक लाख नाघ्यो
-
लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण