बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सेयर बजारमा एकैदिन ४४ अंकको सुधार

बुधबार, १७ असार २०८३, १६ : १३
बुधबार, १७ असार २०८३

सारांश

  • धितोपत्र बजार (नेप्से) मा बुधबार ४४.५९ अंकको सुधार देखिएको छ ।
  • आजको कारोबारपछि नेप्से परिसूचक १.७० प्रतिशतले बढेर २६५२.९३ को बिन्दुमा पुगेको छ ।
  • आज कूल ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड १८ लाख ३ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको छ ।

काठमाडौँ । विगत केही समयदेखि सुस्त रहेको धितोपत्र बजार (नेप्से) मा बुधबार उत्साहजनक सुधार देखिएको छ । 

झण्डै एक महिनादेखि डाउन ट्रेन्डमा रहेको बजारमा लगानीकर्तामा देखिएको सकारात्मक मनोबलका कारण नेप्से सूचकमा ४४.५९ अंकको वृद्धि भएको छ । यो वृद्धि गत अढाई महिनादेखिकै सबैभन्दा धेरै हो । 

आजको कारोबारपछि नेप्से परिसूचक १.७० प्रतिशतले बढेर २६५२.९३ को बिन्दुमा पुगेको छ । बजार खुल्नासाथ बढ्न थालेको सूचक दिनभरि नै सकारात्मक लयमा रहेर बन्द भएको हो ।

बजार परिसूचकसँगै कारोबार रकममा पनि सामान्य देखिएको छ । आज कूल ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड १८ लाख ३ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको छ, अघिल्लो दिन ३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आजको बजारमा हरियाली छाउँदा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । आज कारोबार भएका बुल शेयर स्क्रिपमध्ये २५२ कम्पनीको मूल्यमा सुधार हुँदा १७ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।  

बजारमा आज म्युचुअल फन्ड बाहेक सबै सूचकमा एक प्रतिशत भन्दा धेरैको वृद्धि देखिएको छ । सबैभन्दा धेरै वृद्धि ट्रेढिङ क्षेत्रको २.६० प्रतिशतले बढेको छ । हाइड्रो र उत्पादनमूलक क्षेत्रमा पनि २ प्रतिशत भन्दा धेरै वृद्धि देखिएको छ । 

शेयर बजारमा आएको यो सुधारसँगै कुल बजार पूँजीकरण ४५ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । पछिल्लो समय मौद्रिक नीतिको प्रतिक्षा र केही नीतिगत अन्यौलताका कारण ओरालो लागेको बजारले आजको वृद्धिबाट लगानीकर्तालाई राहत देखिन्छ । 

यसअघि २६ सयको नजिक आइपुगेको बजारले बुधबार २६५० को बिन्दुलाई पार गर्नुलाई प्राविधिक रुपमा समेत सकारात्मक संकेतका रुपमा हेरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप