बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास

बिहीबार, १८ असार २०८३, १० : ५१
बिहीबार, १८ असार २०८३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडा र जुत्ताको नाममा अवैध रूपमा सुन तथा चाँदीका गरगहना विदेश पठाउन खोजेको आरोपमा दुई जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा एपेक्स लजिस्टिक प्रा।लि।का सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापाका सञ्चालक ३४ वर्षीय राम प्रसाद दाहाल रहेका छन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार बुधबार दिउँसो करिब ५ : ३० बजे कार्गो कम्प्लेक्सको भवनमा जाँच गर्ने क्रममा उक्त अवैध धन्दाको खुलासा भएको हो ।

जुत्ता, पाइन्ट, सारी र अन्य कपडाहरू उल्लेख गरी संयुक्त राज्य अमेरिका पठाउन लागिएको कार्गो बाकसलाई एक्स-रे मेसिनमा चेकजाँच गर्दा शंकास्पद वस्तु देखिएको थियो ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राज कुमार सिलवालका अनुसार म्यानिफेस्टमा उल्लेख भएअनुसारका सामान नदेखिएपछि प्रहरीले उक्त बाकस खोलेर खानतलासी गरेको थियो । सो क्रममा ठुलो परिमाणमा सुन र चाँदी जस्तो देखिने पहेंलो र सेतो धातुका विभिन्न कलात्मक गरगहनाहरू फेला परेका हुन् ।

प्रहरीले बरामद गरेका गरगहनाहरूमा पहेंलो धातुका २२ थान ठुला र ४४ थान साना नौगेडी, १६ थान चन्द्रमा, २० थान जन्तर, ३६ थान ब्रोच (सिङ्गल र डबल), ५ थान ठुला र २ थान साना शिरफुल रहेका छन् । 

त्यसैगरी नेपालको झण्डा अंकित १६ थान ब्रोच, २३ थान खुकुरी आकारका ब्रोच, १८ थान मंगलसुत्र, ३९ थान मोतीमाला, १ थान रानीहार र १ थान त्रिशुल समेत बरामद गरिएको छ ।

त्यस्तै, सेतो धातु (चाँदी जस्तो देखिने) तर्फ ४ थान गोलो र ९ थान चारपाटे नेक्लेस, २६ थान काँडावाला चुरा, ३ सेट यार्लिङसहितको शिरबन्दी, ३ जोर झुम्का, ४ थान तिलहरी र १ थान सिक्री फेला परेको प्रहरीले जनाएको छ ।

युनिक कार्गोमार्फत एपेक्स लजिस्टिकले ती सामग्री अमेरिका पठाउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियन्त्रणमा लिइएका दुवै सञ्चालक र बरामद गरिएका धातुका गरगहनाहरूलाई थप कानुनी कारबाही र अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप