ठोस सहमति बिनै टुङ्गियो अमेरिका–इरान वार्ता
दोहा । अमेरिका र इरानबिच कतारको दोहामा दुई दिनसम्म चलेको अप्रत्यक्ष वार्ता बुधबार सम्पन्न भएको छ । वार्तामा दीर्घकालीन शान्ति वा इरानको आणविक कार्यक्रमबारे कुनै ठोस प्रगति नभए पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन पुनः सञ्चालन गर्ने तथा इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने विषयमा छलफल भएको बताइएको छ ।
वार्तासँग परिचित स्रोतहरूका अनुसार यी दुवै विषय दुई साताअघि भएको अन्तरिम सम्झौता अन्तर्गतका प्रमुख मुद्दा हुन् । वार्तामा युद्धविरामसम्बन्धी समझदारी कार्यान्वयनमा सकारात्मक प्रगति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अर्को चरणको वार्ता इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि पछि हुनेछ ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आणविक कार्यक्रम सीमित गर्ने विषयमा पनि प्रगति भइरहेको दाबी गरेका छन् । उनले पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक निःशस्त्रीकरणको प्रक्रिया राम्रोसँग अघि बढिरहेको बताए । तर वार्तामा सहभागी स्रोतहरूले यसपटकको छलफलमा आणविक कार्यक्रमको विषय उठान नै नभएको बताएका छन् । उनीहरूका अनुसार बैठक प्राविधिक प्रकृतिको थियो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आणविक कार्यक्रमबारे छलफल आगामी चरणमा हुने बताएका छन् । यस वार्तामा अमेरिकी र इरानी प्रतिनिधिमण्डलले कतार तथा पाकिस्तानका मध्यस्थकर्तामार्फत छुट्टाछुट्टै बैठक गरेका थिए । अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनर भने वार्तामा सहभागी नभएको बताइएको छ ।
स्ट्रेट अफ होर्मुजमा छलफल केन्द्रित
स्ट्रेट अफ होर्मुजबाट विश्वमा खपत हुने करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने गरेको छ । इरान युद्ध सुरु भएयता स्ट्रेट अफ होर्मुज संवेदनशील अवस्थामा छ ।
अन्तरिम सम्झौताले जहाज आवागमन पुनः सञ्चालन गर्ने व्यवस्था गरे पनि पछिल्लो समय भएको आक्रमण र तनावका कारण अवस्था अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन ।
इरानले आगामी अगस्टको मध्यदेखि आफ्नो नियन्त्रणमा रहेको मार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने योजना दोहोर्याएको छ । अन्तरिम सम्झौताअनुसार प्रारम्भिक केही समय शुल्क नलिने व्यवस्था गरिएको थियो ।
ट्रम्पले भने इरानसँग पुनः पूर्ण युद्ध हुने सम्भावना कम हुँदै गएको सङ्केत दिएका छन् । उनको भनाइपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार महिनायताकै न्यून स्तरमा झरेको छ । विश्लेषकहरूले पनि तेलको मूल्यसम्बन्धी आफ्नो पूर्वानुमान घटाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण