बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

कोल्हवी नगरपालिकाको अनुदान कटौती भएपछि कैयौँ योजना अलपत्र

बिहीबार, १८ असार २०८३, १३ : २६
बिहीबार, १८ असार २०८३

बारा । संघ र प्रदेश सरकारद्वारा आउने अनुदान कटौती भएपछि कोल्हवी नगरपालिकाका कैयौँ योजना अलपत्र भएका छन् ।

चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारले  वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान बापतको २ करोड बजेट कटौती गरेको छ भने संघीय सरकारले ३० प्रतिशत बजेट कटौती गरेको हो ।

चालु आर्थिक वर्षमा संघले कोल्हवी नगरपालिकाका लागि समपूरक, सशर्त, विशेष अनुदान बापत ४६ करोड २६ लाख बजेट विनियोजन गरेको थियो, जसमा १३ करोड ८७ लाख बजेट कटौती भएको हो ।

संघ र प्रदेशको बजेट कटौती भएपछि पालिकाका धेरै योजना अलपत्र अवस्थामा पुगेको वडाध्यक्ष (४) विष्णुप्रसाद मैनालीले जनाए ।

‘प्रदेशको बजेटबाट यस वर्ष कृषि सिँचाइका तार, पोल खरिद गर्ने योजना थियो, तर बजेट नआएपछि चर्को खडेरीमा महँगो डिजेल किनेर खेती गर्नुपर्ने स्थिति आयो,’ उनले भने, ‘जसले खेतीमा लागत पनि बढेको छ ।’

मधेस प्रदेश सरकारले बिगतमा खोलाको ठेक्का बापत राजस्व बाँडफाँटको ४० प्रतिशत प्रदेशलाई बुझाउनुपर्ने करिब ३ करोड राजस्व रकम समयमै नतिरेका कारण बजेट कटौती भएको जनाएको छ  ।

कार्यपालिका सदस्य मैनालीले निजगढ र जीतपुरसिमराको बजेट फुकुवा गर्ने तर कोल्हवीको मात्रै कटौती गर्नु गलत भएको टिप्पणी गरे ।

कोल्हवी नगरपालिकाले आगामी आर्थिक वर्ष (२०८३÷०८४) को नीति तथा कार्यक्रम र बजेट बुधबार (असार १७ गते) पारित गरेको छ ।

आगामी आर्थिक वर्षका लागि पालिकाले ७१ करोड ६६ लाख १९ हजार बजेट सिलिङ सार्वजनिक गरेको छ, जसमा राजस्व बाँडफाँटतर्फ १३ करोड १७ लाख ११ हजार, संघीय सरकारबाट समानीकरण अनुदान १३ करोड ८१ लाख, सशर्त अनुदान २७ करोड २३ लाख लगायत छ ।

आन्तरिक आयतर्फ भने पालिकाले अनपेक्षित रूपमा आकलन गरेको देखिन्छ । वार्षिक ३ करोड राजस्व उठाउने कोल्हवी नगरपालिकाले १५ करोड ७० लाख आन्तरिक आय अनुमान गरेको छ ।

अनुमानित व्ययतर्फ भने चालु खर्च ४० करोड २४ लाख ६० हजार र पुँजीगत खर्चतर्फ ३१ करोड ४१ लाख ५९ हजार विनियोजन गरिएको छ ।

संघ र प्रदेशको बजेट कटौती भएपछि कार्यान्वयन भइसकेका योजनाहरूको कागजमा घाटा बजेट मिलाउन तथा दायित्व भर्पाई गर्न आन्तरिक आय बढी देखाइएको अनुमान गरिएको छ ।

नगरप्रमुख रामप्रसाद चौधरीले श्रोतले भ्याएसम्म पालिकाले सक्दो काम गरिरहेको बताए । ‘सीमित श्रोत, साधन छ । संघले ३० प्रतिशत बजेट कटौती गरेर हामीलाई धेरै समस्या पारेको छ,’ उनले भने, ‘संघ र प्रदेशको बजेट कटौती हुँदा केही योजना अलपत्र भए भने केही योजनाको भुक्तानीमा हाम्रो दायित्व बढेको छ ।’

संघले बजेट कटौती गरेपछि त्यसको भार पालिकाले थेग्नुपरेको चौधरीको भनाइ छ ।  

नगरप्रमुख चौधरी पितृशोकमा परेका कारण १० गते उद्घाटन भएको नगरसभा १७ गते समापन गरिएको हो ।

संघ र प्रदेशको बजेट कटौती भएको विषयमा बुधबार नगरसभा सदस्यहरूलाई जानकारी गराइएको छ । नगरप्रमुख चौधरीले विगतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष खासै नयाँ कार्यक्रम नराखिएको जनाए ।

उपप्रमुख लक्ष्मी कुमारी चौधरीले प्रस्तुत गरेको आयव्ययमा अगामी आर्थिक वर्षमा करको दर तथा दायरा बढाउने, सम्पति कर लागु गर्ने उल्लेख छ ।

कोल्हवी नगरपालिकाको आन्तरिक आयको सबैभनदा ठुलो स्रोत खोलाजन्य पदार्थको ठेक्का हो । यस वर्ष प्रदेश वन तथा वातावरण मन्त्रालयबाट समयमै आइई प्रतिवेदन स्वीकृत नहुँदा नदीजन्य पदार्थको ठेक्का बापत आउने रास्जव गुमेको छ ।

नगरप्रमुख चौधरीले आगामी आर्थिक वर्षका लागि असोजमै खोला ठेक्काको प्रक्रियामा जाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप