आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी लायन्सको मुख्य कार्यकारी अधिकृतमा सन्देश कटवाल नियुक्त

आइतबार, २१ असार २०८३, १४ : ४६
आइतबार, २१ असार २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन टोली लुम्बिनी लायन्सले सन्देश कटवाललाई मुख्य कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आइतबार कटवाललाई च्याम्पियन टोलीमा स्वागत गर्दै नयाँ जिम्मेवारी सुम्पिएका हुन्।

यसअघि गत सिजनमा टोलीको सीईओको भूमिकामा भावना घिमिरे रहेकी थिइन्। क्लबले घिमिरेलाई यसपटक कार्यकारी निर्देशकको नयाँ जिम्मेवारीमा राखेको छ।

लुम्बिनी लायन्सले गत सिजनको एनपीएल फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको थियो।

आफ्नो नयाँ नियुक्तिपछि प्रतिक्रिया दिँदै कटवालले लुम्बिनी लायन्सलाई धन्यवाद व्यक्त गरे। उनले भने,'विगतमा पनि एनपीएलमा जोडिएको अनुभवका आधारमा आफ्नो भूमिका अझ सहज ढङ्गले निभाउन सक्ने आशा लिएको छु। बिजनेस म्यानेजमेन्ट र स्पोर्ट्स म्यानेजमेन्टलाई एउटै हिस्सा बनाउँदै कर्पोरेट हाउसमा उत्कृष्ट टिम कल्चर बनाउने मेरो मुख्य उद्देश्य रहनेछ।'

कटवालसँग खेलकुद र व्यावसायिक क्षेत्रको करिब २० वर्ष लामो अनुभव छ। उनी पूर्व खेलाडी समेत हुन्। यसअघि उनले एनपीएलको पहिलो सिजनमा काठमाडौँ गोर्खाजको सीईओको रूपमा काम गरिसकेका छन्।

यसका साथै उनले कान्तिपुर मिडिया ग्रुपमा बिजनेस हेड, यामाहामा सिनियर म्यानेजर र एपेक्स कलेजमा हेड अफ स्ट्राटेजीको रूपमा समेत आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन्।

व्यावसायिक क्षेत्रका अतिरिक्त खेलकुद पूर्वाधार विकासमा पनि कटवालको सक्रियता रहेको छ। उनले नेपाल स्पोर्ट्स म्यानेजमेन्टमार्फत इन्डोर क्रिकेट र फुटबलका लागि 'भेलोसिटी एरिना' स्थापना गर्न लगानीकर्ताको रूपमा भूमिका निर्वाह गरेका छन्। साथै, उनको नेतृत्वमा काठमाडौँ उपत्यका बाहिर पनि विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना भइसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप