सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
खेलाडी

चार स्वर्ण जितेकी दीपाको चिन्ता : अन्तर्राष्ट्रिय सपना आर्थिक अभावले त रोकिँदैन ?

सोमबार, २२ असार २०८३, ०९ : ००
सोमबार, २२ असार २०८३

धनगढी । राष्ट्रियस्तरका तेक्वान्दो प्रतियोगितामा अहिलेसम्म दीपा जैसीले आफ्नो तौल समूहमा हार बेहोरेकी छैनन् । लगातार चार पटक स्वर्ण पदक जितेकी उनी अहिले सुदूरपश्चिम प्रदेशकी सफल खेलाडीका रूपमा चिनिन्छिन् ।

मैदानमा सफलता हासिल गरे पनि अन्तर्राष्ट्रियस्तरमा पुग्ने सपना आर्थिक अभावका कारण अन्योलमा पर्छ कि भन्ने चिन्ता दीपालाई लागिरहन्छ । तेक्वान्दो उनका लागि भविष्य हो । अभावसँग लड्दै रातदिन तेक्वान्दोमा अभ्यास गरिरहेकी उनलाई आर्थिक अभावका कारण खेल यात्रा केही पो हुने हो कि भन्ने चिन्ता लागिरहन्छ । तर उनी आत्मविश्वास पनि राख्छिन्, ‘जे छ त्यसैमा ठिक पनि छु ।’

धनगढी उपमहानगरपालिका–१२ जुगेडा गाउँकी दीपाले आठ–नौ वर्षको उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी हुन् । साथीहरू खेलिरहेको देखेर रमाइलोका लागि सुरु गरेको खेल नै आज उनको पहिचान बनेको छ । उनको परिवारमा उनीजस्तै खेल क्षेत्रमा लाग्ने कोही पनि छैनन् ।

उनले परिवारबाट सुरुदेखि नै रोकटोक भोग्नु परेन, साथ र हौसला पाइरहिन् । ‘बुबा, आमा, दाइ–दिदी सबैले मलाई धेरै साथ दिनुभएको छ । कहिल्यै खेल्न रोक्नुभएन,’ उनले भन्छिन् ।

जुगेडा गाउँकै दोजाङमा प्रशिक्षक योगेन्द्र गुरुङको प्रशिक्षणमा उनले आफ्नो खेललाई निरन्तरता दिइन् ।

दीपाले लगातार चार वटा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिमका लागि चार पटक स्वर्ण पदक जितेकी छन् । उनले प्रदेशका लागि एउटा उल्लेखनीय कीर्तिमानसमेत कायम गरेकी छन् ।

लगातार सफलता हासिल गर्दा जिम्मेवारी पनि बढ्दै गएको उनी बताउँछिन् ।

‘सुरुमा प्रतियोगितामा धेरै डर लाग्थ्यो । पछि गुरुहरूको हौसलाले आत्मविश्वास बढ्यो । जित्दै जाँदा अझ राम्रो खेल्नुपर्छ भन्ने जिम्मेवारी पनि बढ्दो रहेछ । कहिलेकाहीँ हारिएला कि भन्ने चिन्ता पनि लाग्छ,’ उनी भन्छिन् ।

रिङभित्र आत्मविश्वासका साथ खेल्ने भएका कारण आफूले कीर्तिमान कायम गर्न सफल भएको दीपाको भनाइ छ । तेक्वान्दोमा सुदूरपश्चिमबाट उदीयमान सफल खेलाडीका रूपमा चिनिएकी उनलाई अब बढ्न भने चुनौती छ ।

आर्थिक अवस्था कमजोर भएकाले नियमित प्रशिक्षण, राम्रो खेल सामग्री र बाहिरका प्रतियोगितामा सहभागी हुन उनलाई कठिनाइ भइरहेको उनी बताउँछिन् ।

‘अन्तर्राष्ट्रिय स्तरमा पुग्न काठमाडौँमा विशेष प्रशिक्षण लिनुपर्छ भन्ने सुनेकी छु । तर त्यसबारे धेरै जानकारी पनि छैन, आर्थिक अवस्था पनि सहज छैन,’ उनी दुःख बिसाउँछिन् ।

उनका अनुसार सुदूरपश्चिममा खेलाडीका लागि अवसर पनि सीमित छन् । अन्य प्रदेशको तुलनामा प्रतियोगिता कम हुने भएकाले प्रतिभा देखाउने अवसर कम मिल्ने गरेको उनको अनुभव छ । ‘प्रतियोगिता धेरै भएको भए हामीले अझ धेरै अनुभव र अवसर पाउने थियौँ,’ उनले भनिन् ।

दीपाको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नु र देशका लागि स्वर्ण पदक जित्नु हो । त्यो सपना पूरा गर्न व्यक्तिगत मेहनत मात्र पर्याप्त नहुने उनको भनाइ छ ।

‘राम्रो प्रदर्शन गर्ने खेलाडीलाई सम्मान, प्रोत्साहन र नियमित प्रतियोगिताको व्यवस्था भए हाम्रो मनोबल अझ बढ्थ्यो,’ उनले भनिन्, ‘प्रदेश सरकार, स्थानीय तह र केन्द्र सरकारले आर्थिक रूपमा कमजोर खेलाडीलाई प्रशिक्षण, खेल सामग्री र प्रतियोगितामा सहभागी हुने खर्चको व्यवस्था गरिदिए हामीले अझ राम्रो नतिजा दिन सक्छौँ ।’

दीपाकी समर्थक धनगढीकी गीता साउँदका अनुसार दीपाले आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन् । अब उनको प्रतिभालाई अगाडि बढाउने जिम्मेवारी राज्यको हो ।

‘दीपाजस्ता खेलाडीलाई समयमै राम्रो प्रशिक्षण, डाइट र आर्थिक सहयोग उपलब्ध गराउन सकिए उनीहरूले अन्तर्राष्ट्रियस्तरमा पनि देशको नाम चिनाउन सक्छन्,’ उनले भनिन् ।

सुदूरपश्चिममा थुप्रै उदीयमान खेलाडी भए पनि आवश्यक पूर्वाधार, नियमित प्रतियोगिता र आर्थिक सहयोगको अभावले उनीहरू अगाडि बढ्न संघर्ष गरिरहेका छन् । सम्बन्धित खेलकुद निकाय र सरकारले यस्ता खेलाडीको पहिचान गरी आवश्यक सहयोग गर्न सके उनीहरूले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा पनि उत्कृष्ट नतिजा ल्याउन सक्ने सम्भावना रहेको साउँदको भनाइ छ ।

चार पटक स्वर्ण पदक जितिसकेकी दीपा अहिले पनि आफ्नो अभ्यासलाई निरन्तरता दिइरहेकी छन् ।  अभावबिच पनि उनले आफ्नो सपना छोडेकी छैनन् । ‘जति कठिनाइ आए पनि म खेल्न छोड्दिनँ,’ उनी भन्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप