सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

यो मेरो अन्तिम विश्वकप हो कि होइन भन्ने कुरा मै तय गर्छु : रोनाल्डो

सोमबार, २२ असार २०८३, ०९ : ५५
सोमबार, २२ असार २०८३

सारांश

  • पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यो विश्वकप आफ्नो खेल जीवनको अन्तिम हो वा होइन भन्ने कुरा आफूले नै तय गर्ने बताएका छन् ।
  • उनले आफूले फुटबलबाट कुनै पछुतो बिना बिदा लिने र आफूले चाहेको समयमा मात्र खेल जीवन टुङ्ग्याउने अडान लिएका छन् ।
  • रोनाल्डोले स्पेनविरुद्धको खेलअघि आफू १ हजार प्रतिशत सन्तुष्ट भएर मैदानबाट बाहिरिने र यो प्रतियोगितालाई बढी इन्जोय गरिरहेको बताए ।

एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हो वा होइन भन्ने कुरा स्वीकार गर्न पुनः अस्वीकार गरेका छन् । 

स्पेनविरुद्धको महत्त्वपूर्ण नकआउट खेलको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले फुटबलबाट कुनै पछुतो बिना बिदा लिने स्पष्ट पारेका हुन् ।

४१ वर्ष पुगिसकेका रोनाल्डो कीर्तिमानी रूपमा आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन् । आगामी विश्वकपसम्म उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसक्ने अनुमान गरिए पनि रोनाल्डोले भने आफूले आफ्नै सर्तमा खेल जीवनको अन्त्य गर्ने अडान लिएका छन् । 

सोमबार हुने खेलअघि पत्रकारहरूसँग कुरा गर्दै रोनाल्डोले भने, ‘मैले चाहेको समयमा मात्र खेल जीवन टुङ्ग्याउनेछु, तपाईँहरू सधैँ एउटै प्रश्न सोध्नुहुन्छ– के यो अन्तिम हो ? त्यो त समयले नै बताउनेछ, म यसतर्फ ध्यान मोड्न चाहन्न, अहिलेको सबैभन्दा महत्त्वपूर्ण कुरा भोलिको खेल राम्रो खेल्नु हो ।’

उनले अगाडि थपे, ‘म पूर्ण रूपमा इमानदार हुन चाहन्छु, भोलि जेसुकै परिणाम आए पनि क्रिस्टियानो रोनाल्डो १ हजार प्रतिशत सन्तुष्ट भएर मैदानबाट बाहिरिनेछ, मैले फुटबलका लागि आफ्नो सबैथोक सुम्पिएको छु, यतिका वर्षसम्म खेल्नु मेरो अभिलाषा हो, मैले कुनै बाध्यताले खेलेको होइन, मेरो जीवन राम्रो चलिरहेको छ र यो केवल खेलप्रतिको लगाव हो ।’ 

आफूले राष्ट्रिय टोलीका लागि खेल्न र फुटबललाई निकै माया गर्ने भन्दै उनले भोलिको खेल जित्नैपर्छ भनेर आफूलाई दबाबमा नराख्ने बताए । उनले विश्वकपकै ठुलो प्रतियोगितामा हरेक खेलको आनन्द लिनुपर्ने उल्लेख गर्दै अहिलेसम्म तीन गोल गरिसकेकाले आफ्नो प्रदर्शन त्यति नराम्रो पनि नरहेको जिकिर गरे ।

विगतका पाँचवटा विश्वकपको तुलनामा यस पटकको प्रतियोगितालाई बढी इन्जोय गरिरहेको रोनाल्डोले बताए । प्रशिक्षक रोबर्टो मार्टिनेजको टोलीले बलियो बन्दै गएको स्पेनलाई पराजित गर्नेमा उनी विश्वस्त देखिएका छन् ।

 स्पेनविरुद्ध मैदान उत्रिएमा रोनाल्डोको यो पोर्चुगलका लागि २३३औँ खेल हुनेछ । स्पेनमा नौ सिजन बिताएका कारण उनको यो देशसँग पुरानो सम्बन्ध छ, यद्यपि स्पेनविरुद्ध उनको गोलको रेकर्ड भने केही सीमित छ । उनले स्पेनविरुद्ध अहिलेसम्म चार गोल मात्र गरेका छन्, जसमा सन् २०१८ को विश्वकपमा ३–३ को बराबरी भएको खेलमा प्रहार गरेको ह्याट्रिक सामेल छ ।

स्पेनलाई बलियो प्रतिद्वन्द्वी मान्दै रोनाल्डोले भने, ‘स्पेन सधैँ युरो र नेसन्स लिग जित्ने दाबेदार टोली हो र उसले यो प्रतियोगिता पनि जितिसकेको छ, इतिहासका हिसाबले स्पेन बलियो होला तर यो फरक खेलाडीहरू र फरक परिस्थिति सहितको नयाँ प्रतियोगिता हो, मलाई स्पेनविरुद्ध खेल्न मनपर्छ र यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ, साना साना गल्तीले खेलको निर्णय गर्नेछ तर मलाई लाग्छ भोलि हामी नै जित्नेछौँ ।’ 

उनले अन्त्यमा यो आफ्नो अन्तिम विश्वकप नै भए पनि यसलाई भरपुर सदुपयोग गर्ने र यो नै आफ्नो अन्तिम खेल भने नहुने दाबी गरे किनभने उनी प्रतियोगितामा अझै अगाडि बढ्न चाहन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप