आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
अपुरो रंगशाला

खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम

आइतबार, २१ असार २०८३, २० : ४८
आइतबार, २१ असार २०८३

सुर्खेत । २०८१ जेठमा सम्पन्न हुनुपर्ने कर्णालीको प्रादेशिक रङ्गशाला अझै ९९ प्रतिशतमा ठप्प छ । 

पहिलो समयवधि सकिएको दुई वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीले बाँकी १ प्रतिशत नसक्दा सरकारलाई हस्तान्तरण हुन सकेको छैन । त्यसको प्रमुख कारण ९ करोड रुपैयाँ नपाएको गुनासो ठेकदार कम्पनीको छ । ‘यो वर्ष भुक्तानीको प्रक्रिया अघि बढाइदिए हामी यही वर्षभित्र काम सम्पन्न गरिदिन्छौँ,’ गत जेठमा ठेकदार कम्पनी एमएसी/जीएसएल जेभीले भनेको थियो । 

यद्यपि अहिलेसम्म काम सम्पन्न भने हुन सकेको छैन । प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दले अहिलेसम्म रकम भुक्तानी नभएको बताए । ‘भुक्तानीको प्रक्रिया अघि बढेको छ,’ उनले रातोपाटीसँग भने, ‘सबै रकम भुक्तानी नभए पनि केही रकम भुक्तानी हुन्छ, यही वर्षमा ।’ बाँकी रकम नयाँ आर्थिक वर्षमा गरिने चन्दले बताए ।

यद्यपि चालु आर्थिक वर्ष सकिन चार दिन मात्रै बाँकी छ । उनका अनुसार ठेकदार कम्पनीले ९ करोड भने पनि साढे ८ करोडको हाराहारीमा बाँकी छ । उनले थपे, ‘केही रकम यही आर्थिक वर्षभित्र दिन्छौँ, केही बाँकी रहला ।’ 

ठेकदार कम्पनीले सिसा भर्ने लगायत अन्तिम चरणका काम गरिरहेको छ ।

उनका अनुुसार, अबको २०–२२ दिनमा रङ्गशालाको सम्पूर्ण काम सकिने छ । यद्यपि ठेकदार कम्पनीको म्यादबारे भने उनले प्रस्ट भनेनन् । प्रक्रिया अघि बढेको मात्रै बताए । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार लागत रहेको रङ्गशाला निर्माणको जिम्मा उक्त कम्पनीले ०७८ मङ्सिरमा जिम्मा पाएको थियो । 

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–८, को मध्ये भागमा ९ बिघा क्षेत्रफलमा फैलिएको रङ्गशालाको शिलान्यास तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले ०७८ मङ्सिर २० गते गरेका थिए । चन्दले आधा रकम भुक्तानी हुने भने पनि त्यो सम्भव नहुने भएर होला प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि भनेर ९ करोड रुपैयाँ विनियोजन गरेको छ । 

सामाजिक विकास मन्त्रालयको बजेट पुस्तिकाअनुसार रङ्गशालाको स्क्वास र सुटिङ कोर्ट निर्माणका लागि ४ लाख रकम विनियोजन गरिएको छ । 

दुई वर्ष प्रदेश खेलुकद परिषद् रिक्त हुँदा रङ्गशाला अलपत्र परेको मात्र थिएन, चलायमान नुहँदा संरचना जीर्ण बन्न थालेका थिए । गत चैत्रमा परिषद्ले पूर्णता पाएसँगै अहिले रङ्गशालामा विभिन्न खेलकुद गतिविधि भइरहेका छन् । 

‘रङ्गशाला चलायमान छ अहिले हामी आएदेखि थुप्रै प्रतियोगिता पनि भए, 'सदस्यसचिव चन्दले भने, ‘अहिले पनि फुटबल लगायतका खेल भइरहेका छन् ।’ 

आगामी वर्ष झण्डै ३० करोड खर्च गर्दै छ खेल पूर्वाधारमा सरकार

प्रदेश रङ्गशाला मात्र होइन १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारदेखि अन्य खेल संरचनामा प्रदेश सरकारले आगामी वर्ष झण्डै ३० करोड बजेट खर्च गर्दै छ । प्रदेश खेलकुद परिषद्बाट कार्यान्वयन हुनेगरी साना–ठुला ११ वटा कार्यक्रम तथा योजनाहरूका अघि बढाइएको छ । १०औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार विकासमा थप ९ करोड रुपैयाँ खर्च गरिनेछ । यद्यपि यो कार्यक्रमबारे स्पष्ट खुलाइएको छैन । त्यसैमा १०औँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार तथा स्तरोन्नति शीर्षकमा थप ५ लाख बजेट विनियोजन गरिएको छ । 

त्यसैगरी सुर्खेतकै वीरेन्द्रनगर–५ चिसापानीमा फुटबल खेल मैदान निर्माणका लागि ५ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । यो खेल पूर्वाधारमा विगतदेखि नै बजेट विनियोजन हुँदै आएको छ । क्रिकेट खेलको विकासका लागि सुर्खेतको ठौरीमा १ करोड रुपैयाँ बजेट छुट्याइएको छ । 

पूर्वाधार विकासलाई विकेन्द्रित गर्दै विभिन्न जिल्लामा पनि बजेट पुर्‍याइएको छ । जाजरकोटको खलङ्गामा थपले कभर्डहल निर्माणका लागि १ करोड, दैलेखको दुल्लु चाखाबारी खेल मैदान निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ । 

यो सामाजिक विकासमन्त्री घनश्याम भण्डारीको गृहनगर हो । यस्तै रुकुम पश्चिमको सानीभेरी–३ मा बेलटापु खेल मैदानका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । भौगोलिक रूपमा विकट हुम्लामा पनि खेलकुद पूर्वाधार पुर्‍याउने लक्ष्यका साथ हुम्ला हक्की रङ्गशाला र अधुरो कभर्डहल निर्माण कार्यका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको विवरणमा देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप